सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेकपामा ओली ‘रणनीति’ : एक्लाएक्लै भेट, थामथुमको प्रयास !

मङ्गलबार, २८ माघ २०७६, १५ : ०८
मङ्गलबार, २८ माघ २०७६

काठमाडौँ । प्रतिकुल स्वास्थ्यका बाबजुद पनि केही दिनयता प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाएका छन् । सरकार सञ्चालनका कामबाहेक पार्टीभित्रै र सञ्चारमाध्यमले उठाएका जनसरोकारका प्रश्नका विषयमा जवाफ दिने प्रयासस्वरूप ओलीले भेटघाट र संवादलाई बाक्लो बनाएका हुन् ।

नेकपाको अध्यक्ष र प्रधानमन्त्रीका रूपमा ओलीका काम कारबाहीलाई लिएर पार्टीभित्रै र बाहिर पनि प्रशस्तै प्रश्न उठेका थिए । तिनै प्रश्नको जवाफ दिने कसरतस्वरूप उनले कहिले सञ्चारमाध्यमका सम्पादक त कहिले आफ्नै पार्टीका नेताहरुलाई प्रयोग गर्ने नीति अख्तियार गरेका छन् । त्यसक्रममा ओलीले विगतमा सम्बन्ध सुमधुर हुन नसकेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलाई चार पाँच घण्टासम्म भेटवार्ताका लागि समय खर्चेका छन् ।

भैँसेपाटी भेला : पुस २३ 

ओली–खनाल भेट : माघ ९

ओली–नेपाल भेट : माघ २०

ओली–सम्पादक भेट : माघ २१

ओली–गौतम भेट : माघ २६

विगतमा असहिष्णु बनेको आरोप खेपिरहेका ओलीमा पछिल्लो पटक आएको यो बदलावलाई कतिपयले भैँसेपाटी भेलाको प्रभावका रूपमा टिप्पणी गरेका छन् । यसरी टिप्पणी गर्नेहरुले उक्त भेलापछि पार्टीको आन्तरिक समीकरणमा ओली कमजोर भएकैले सुवास नेम्वाङलाई सभामुख बनाउने प्रस्तावबाट पछि हटेको र एमसीसीबारे पार्टीमा सुझाव दिन कार्यदल बनाउन उनी सहमत भएको अर्थमा बुझेका छन् ।


‘सरकार सञ्चालन प्रक्रिया, सभामुख चयन प्रकरण र एमसीसीका सवालमा पार्टीभित्र ओली रक्षात्मक बन्नुपर्‍यो । फलस्वरूप उहाँले केन्द्रीय कमिटी बैठकमा पहिल्यै जवाफ दिनुभयो’, नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘उहाँमा अझै पनि शक्ति केन्द्रीकृत गर्ने भोक भने हटेको छैन ।’


तर कतिपय नेताहरुले भने ओली केही विषयमा पछि हटेजस्तो देखिए पनि आफूमा शक्ति केन्द्रीकृत गर्ने रणनीतिबाट अलिकति पनि पछि नहटेको विश्लेषण गरेका छन् ।

‘सरकार सञ्चालन प्रक्रिया, सभामुख चयन प्रकरण र एमसीसीका सवालमा पार्टीभित्र ओली रक्षात्मक बन्नुपर्‍यो । फलस्वरूप उहाँले केन्द्रीय कमिटी बैठकमा पहिल्यै जवाफ दिनुभयो’, नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘उहाँमा अझै पनि शक्ति केन्द्रीकृत गर्ने भोक भने हटेको छैन ।’

ती स्थायी समिति सदस्यले उदाहरण दिँदै भने, ‘पार्टी सामूहिक निर्णय र नेतृत्वमा चल्ने भनिएको छ । तर नेताहरुलाई एक्लै भेट्दै र उनीहरुका स्वार्थ पूरा गर्दै हिँड्ने तथा चर्को स्वरमा विरोध गर्नेहरुलाई थामथुम पार्ने रणनीतिमा ओली लागेको प्रष्ट छ ।’

पूर्वएमाले समूहका ती नेताका अनुसार ओलीले घनश्याम भुसाल वा योगेश भट्टराईलाई मन्त्री बनाउनु पनि थामथुम पार्ने रणनीति हो भने पछिल्लो पटक नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल या वामदेव गौतमलाई एक्लै भेट्नु पनि आफूमाथिको बढ्दो आक्रोश कम गर्ने प्रयास हो ।

त्यसो त भैँसेपाटी भेलाबाट त्रसित बनेका ओलीले गत साता सम्पादकहरुलाई बालुवाटारमै बोलाएर उक्त भेटघाटलाई सामान्य रूपमा लिनुपर्ने बताएका थिए । स्पष्टीकरणको शैलीमा ओलीले भनेका थिए, ‘एउटा कुरा म तपाईंहरुलाई भन्न चाहन्छु, तपार्इंहरुलाई लागेको त्यस्तो हो कि ? तपाईंहरुले सुनेको त्यस्तो हो कि ? विश्लेषकहरु कसैले तपाईंलाई सुनाएका हुन् कि ? तपाईंहरुको कुरा कस्तो छ भन्दा यहाँ मेरो टेबल अगाडि रेकर्ड गर्न तपाईंहरुले १२ वटा टेलिफोन राख्नु भएको छ । १२ वटामा ७ वटा यता दायाँ राख्यो, ५ वटा उता बायाँ राख्यो भने ५ वटा अल्पमतमा पर्छ ।’

ओली त्यतिमा मात्रै रोकिएनन् । उनले अझ प्रस्ट पार्दै भनेका थिए, ‘हिसाब सजिलो छ । तपाईंहरु यसरी हिसाब निकाल्नुहुन्छ । तर यसरी राखेको हो कि होइन ? साथीहरु चार पाँच जना भैँसेपाटीमा एकफेर जम्मा हुनुभएछ, अनि नेपालको पोलिटिक्स नै त्यही हो जस्तो गरेर अब भैँसेपाटी बैठक, भैँसेपाटी बैठक भन्न थाल्ने ?’

भैँसेपाटी वा खुमलटारमा बैठक हुनु स्वाभाविक ठान्ने ओलीले त्यस्ता बैठकहरु भैरहने सङ्केत पनि गरे । ‘भैँसेपाटी बैठक हुन्छ, खुमलटार बैठक हुन्छ, कोटेश्वर बैठक हुन्छ, डल्लु बैठक हुन्छ, बालुवाटार बैठक हुन्छ, अन्त बैठक हुन्छ र सिंहदरबारमा पनि बैठक हुन्छ । यस्ता बैठकहरु त हुन्छन् नि ! यो एकता हामीले यताउति गोटी सारेर, त्यहाँ खेल खेलेर, स्टे«न्थ लुज गर्नका लागि गरेको होइन । र, त्यस्तो कमजोर छैन । तपार्इंहरुलाई भ्रम नरहोस् है ! त्यस्तो कुनै प्रकारको कन्फ्युजन नरहोस्, त्यस्तो केही पनि छैन,’ ओलीको जवाफ थियो ।


नेकपाको आन्तरिक समीकरणमा ओली अल्पमतमा परेको विश्लेषण भइरहेका बेला ओली आफैँले पनि उनी निकट गुटको भेला बोलाएर जवाफ दिने प्रयास गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षले काठमाडौँमै आफ्नो समूहको गुट भेला आयोजना गरेर शक्ति प्रदर्शन गरेका हुन् । भेलामा प्रधानमन्त्री ओली भने सहभागी भएनन् तर उनी  निकट मानिएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका मन्त्री पार्वत गुरुङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सङ्गठनका इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य राजेन्द्र गौतमलगायतका नेताहरु सहभागी थिए ।


किन बने ओली रक्षात्मक ?

भैँसेपाटी भेलामा अध्यक्ष प्रचण्डसहित नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए । उक्त बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली एकलौटी ढङ्गले चल्न थालेको भन्दै ओलीको उक्त प्रवृत्तिको प्रतिरोध गर्ने सहमति नै भएको थियो । लगत्तै सभामुख चयनका सवालमा पनि ओली नौ सदस्यीय सचिवालमा अल्पमतमा परे र अग्नि सापकोटालाई समर्थन गर्न पुगेका थिए । यसरी एकपछि अर्को गर्दै निर्णय प्रक्रियामा एक्लिएका ओलीले पार्टी एकता घोषणा भएको २१ महिनापछि एजेन्डासहित माघ १५ मा सुरु भएको नेकपाको केन्द्रीय समिति बैठकमा पहिल्यै नेताहरुले उठाउने सम्भावित प्रश्नको जवाफ दिन पुगे ।

यसअघि नेकपाको पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा पनि सरकार र पार्टी सञ्चालनबारे नेतृत्वको चर्को आलोचना भएको थियो । स्थायी कमिटी बैठकमा एमसीसीबारे नेताहरुको मत बुझेका ओलीले केन्द्रीय कमिटीमा पनि एमसीसी जस्ताको तस्तै पारित गर्दा नेपालको राष्ट्रियता नै खतरामा पर्ने मत बढेपछि त्यसबारे पार्टीभित्र कार्यदल गठन गर्न सहमत बनेका थिए ।

एक व्यक्ति एक मुख्य जिम्मेवारी

पार्टी एकता भएदेखि नै नेकपामा उठेको एउटा मुद्दा हो– एक व्यक्ति एक मुख्य जिम्मेवारी । नेकपाको सचिवालय बैठकमा नेता माधवकुमार नेपालले यो मुद्दा उठान गरेका हुन् । तर उनको यो मुद्दा सम्बोधन हुन सकेन । जसले गर्दा कोही नेता कार्यकर्ताले दोहोरो तेहेरो जिम्मेवारी पाएका छन् भने कोही दुई वर्षसम्म पनि जिम्मेवारीविहीन भएर बसेका छन् ।

आठ लाख पार्टी सदस्य रहेको नेकपामा जिम्मेवारी बाँडफाँट नभएपछि धेरैजसो नेता कार्यकर्ता दुई वर्षसम्म बेरोजागार जस्तै भएर बसेका छन् भने पार्टीभित्र विभिन्न प्रकारका गुट सक्रिय छन् । यो कुरा माघ १९ मा सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओली र प्रचण्डले पेस गरेर पारित भएको प्रतिवेदनमै स्वीकार गरिएको छ ।

‘पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाइ, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी सङ्गठन कमजोर अवस्थामा रहेका छन् । पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरू सक्रिय रहेका छन्’, अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्तिहरू कायम छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ती गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ ।’

पार्टी दस्तावेजमै यसरी कमजोरी स्वीकार गरिए पनि त्यसको कार्यान्वयन पक्षमा ध्यान दिएको जस्तो नलागेको नेकपाका स्थायी समिति सदस्य युवाराज ज्ञवालीको भनाइ छ । ‘निर्णयहरु कार्यान्वयनमा लैजाने भनिएको छ । त्यसक्रममा नेतृत्वले गरेको प्रतिबद्धता व्यवहारमा हेर्न बाँकी नै छ,’ ज्ञवालीले भने ।

ओलीको जवाफी फायर

नेकपाको आन्तरिक समीकरणमा ओली अल्पमतमा परेको विश्लेषण भइरहेका बेला ओली आफैँले पनि उनी निकट गुटको भेला बोलाएर जवाफ दिने प्रयास गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षले काठमाडौँमै आफ्नो समूहको गुट भेला आयोजना गरेर शक्ति प्रदर्शन गरेका हुन् । भेलामा प्रधानमन्त्री ओली भने सहभागी भएनन् तर उनी  निकट मानिएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका मन्त्री पार्वत गुरुङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सङ्गठनका इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य राजेन्द्र गौतमलगायतका नेताहरु सहभागी थिए ।

मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको गुटगत भेलामा ओली पक्षले आफ्नो गुट बलियो कसरी बनाउने भन्ने विषयमा छलफल भएको नेताहरुको भनाइ छ । यो फाउन्डेसनको अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण छिन् ।

तर फाउन्डेसनमा भएको उक्त भेला गुटको नभएको नेकपाका केन्द्रीय सदस्य तथा प्रेस सङ्गठनका इन्चार्जसमेत रहेका राजेन्द्र गौतमको दाबी छ । ‘त्यो गुटको भेला होइन, समाचार निराधार हो । हामीलाई त्यहाँ भात खान बोलाइएको थियो, भात खाएर फर्केका मात्रै हौँ’, गौतमले रातोपाटीको प्रश्नमा भने । 

नेकपामा मुख्य तीन गुट

नेकपाभित्र अध्यक्षद्वय ओली, प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका आआफ्ना देखिएकै गुट सक्रिय छन् । जसमध्ये प्रचण्ड र नेपाल पछिल्लो समय नजिक देखिएपछि ओली पक्षले आफूलाई केही कमजोर महसुस गर्दै थामथुमको प्रयास गरेको देखिन्छ । गत पुस २३ गते सचिवालयका बहुमत सदस्यले उपाध्यक्ष वामदेव गौतमको निवासमा भेला गरी आफूहरु अध्यक्ष प्रचण्ड नजिक रहेको प्रष्ट सङ्केत दिएपछि ओली पक्ष झस्किन पुगेको हो । ‘सचिवालय, स्थायी समितिदेखि केन्द्रीय समितिमा समेत ओली पक्ष कमजोर देखिएको छ’, नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘हालै भएका तीनवटा पार्टी बैठकमा पनि ओली समूह कमजोर बनेपछि रक्षात्मक बन्दै थप रणनीति बनाउने प्रयासमा लागेको देखिन्छ ।’

ती नेताकाअनुसार केही असन्तुष्ट नेताहरुका माग पूरा गर्दै फेरि पनि पार्टीमा आफैँ हाबी हुने रणनीतिमा ओली लागिपरेका छन् । ओलीले नेताहरुलाई छुट्टाछुट्टै भेट गरेको विषयमा ती नेता आक्रोश पोख्दै भन्छन्, ‘उहाँहरु चार घण्टा बसेर राष्ट्रले के पायो, पार्टीले के पायो ? त्यसरी व्यक्तिगत कुरामा समय बर्बाद पार्नु भनेको पार्टी र राष्ट्रलाई घाटा हो । सैद्धान्तिक, वैचारिक र देश पार्टी उँभो लगाउने कुराभन्दा पनि के कसरी हुन्छ आआफ्ना सुविधा बढाउने, फाइदा लिने र कसलाई के चाहिएको छ त्यो थामथुम पार्ने, मनोविज्ञान बुझ्ने काम मात्र भएको छ । पार्टी केन्द्रीय कमिटीले पास गरेका कुराहरु कार्यान्वयन गर्नेतर्फ ध्यान छैन अनि व्यक्ति व्यक्तिलाई खुसी पारेर उसका आकाङ्क्षा पूरा गर्दै सम्पूर्ण तागत शक्ति आफ्नो हातमा लिने प्रयास ओलीमा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप