आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले १० प्रतिशत बजेट आकार घटायो

बुधबार, २९ माघ २०७६, १६ : ५०
बुधबार, २९ माघ २०७६

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट आकार घटाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्व ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो । 

तर सरकारले घोषणा गरेको बजेटमा अर्धबार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएको हो । 

आर्थिक वर्ष २०७६/०७७ को बजेटको अर्धवार्षिक समीक्षा गर्न बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले बजेटको आकार घटाएर १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँमा झारेको बताए । आर्थिक वर्षको अन्त्य सम्ममा कुल बजेटको ९० दशमलव ४ प्रतिशत बजेट खर्च हुने अनुमान अनुसार बजेटको आकार घटाइएको उनले बताए । 

गत जेठमा संसदमा प्रस्तुत गरेको बजेटको कुल आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको रहेको थियो । त्यस्तै अर्धवार्षिक समिक्षामा चालु खर्चतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख रुपैयाँ अर्थात विनियोजित बजेटको ९४ दशमलव ५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ भने पूँजीगत तर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख रुपैयाँ अर्थात ८० दशमलव १ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थापत तर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख अर्थात ९२ दशमलव २ प्रतिशत खर्च हुने अनुमान गरिएको मन्त्री खतिवडाले बताए । 

सरकारको स्रोत व्यवस्थापत तर्फ राजश्व र आन्तरिक ऋणबाट कुल ११ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ, वैदेशिक अनुदान तर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋण तर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख रुपैयाँ परिचालित हुने संशोधित अनुमान रहेको समेत अर्थमन्त्री खतिवडाले बताए । जुन बजेटमा राखिएको लक्ष्यको साढे ९५ प्रतिशत मात्र हुने उनले बताए । 

अर्थमन्त्री खतिवडाले ६ महिनामा विनियोजित बजेटको २७ दशमलव ६ प्रतिशत अर्थात ४ खर्ब २२ खर्ब ५५ करोड ६ लाख रुपैयाँ बजेट खर्च भएको बताए । त्यस्तै यो अवधिमा चालु तर्फ ३२ दशमलव ४ प्रतिशत अर्थात ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख रुपैयाँ, पूँजीगत तर्फ १५ दशमलव ४ प्रतिशत अर्थात ६२ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ र वित्तीय व्यवस्था तर्फ २९ दशमलव ९ प्रतिशत अर्थात ५० अर्ब १७ करोड ७० लाख रुपैयाँ खर्च भएको बताए । उनले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६ प्रतिशतले खर्च बढेको र माघ २८ गते सम्ममा यस्तो बजेट खर्च ४ खर्ब ८२ अर्ब पुगेको उनले बताए । 

अर्थमन्त्री खतिवडाले ६ महिनामा कुल व्यापार घाटा ६ दशमलव १ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ कायम भएको बताए । यो अवधिमा कुल वस्तु निर्यात २६ दशमलव १ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै रेमिट्यान्स आप्रवाह शुन्य दशमलव ९ प्रतिशतले बढेर ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुगेको अर्थमन्त्री खतिवडाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप