सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारको २ वर्ष पूरा : जनताको निराशाजनक प्रतिक्रिया (भिडियो)

शनिबार, ०३ फागुन २०७६, १७ : ५५
शनिबार, ०३ फागुन २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २ वर्ष पूरा गरेको छ । शनिवार बिहान ११ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्वोधन गर्दै आफूले गरेका कामका फेहरिस्त प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्रीले संसदमा बताएका प्रगतिका कुराबारे सर्वसाधारणलाई भने विश्वास छैन, जनताका लागि सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको उनीहरुको गुनासो छ । 

हामीले तपाईलाई सरकारको २ वर्षको काम कस्तो लाग्यो भनेर गरेको प्रश्नमा अधिकांश सर्वसाधारणले निराशाजनक उत्तर दिए । सरकारले महंगी नियन्त्रण गर्न नसकेको, शान्ति सुव्यवस्था कायम नभएको, विकास निर्माणको कामले गति नलिएको बताए । 

तरकारी व्यापारी पम्पादेवी भट्टराईले सरकारले जनताका लागि केही पनि नगरेको भनेर गुनासो गरिन् । उनले भनिन्, ‘जति चुनाव हुन्छ, जति सरकार आउँछ महंगी बढ्दै जान्छ, उनीहरुले चुनाव खर्च लिएको भएको हो कि ! निर्वाचनपछि हरेक सामानमा किलोको १० रुपैयाका दरले बढेको हुन्छ ।’

उनले सरकारलाई अमेरिकी सहयोग परियोजना एमसीसी अघि नबढाउन आग्रह समेत गरिन् । उनले जनताको हितमा काम नगरे सबै पार्टी चुनावमा हार्ने दावी समेत गरिन् । 

काठमाडौं पेप्सीकोलामा स्थानीय माधव प्रसाद पाठकले पनि सरकारको कार्यशैली आफूलाई मन नपरेको बताए । उनले सरकारले सर्वसाधारण जनतालाई कर धेरै लगाएर लुटतन्त्र मच्चाइरहको दावी गरे । अन्याय र अत्याचारमाथि सर्वसाधारणलाई न्याय नभएको बताउँदै २ सय रुपैयाँ खानेलाई जेल हाल्ने र अर्बौ रुपैयाँ भ्रष्टाचार गर्नेलाई भने सरकारले छाडेको भन्दै उनले गुनासो गरे ।

जर्नादन प्रसाद उपाध्यायले सरकारको उद्देश्य आशालाग्दो भएपनि ढिलो काम गर्ने शैलीका कारण विकाश अघि बढ्न नसकेको बताए । सरकार बलियो भएपनि प्रतिबद्धता अनुसार काम नभएको, विकास खर्च १९ प्रतिशत मात्र हुनु दुःखद कुरा भएको उनले बताए । 

विद्यार्थी विवेक ठकुरी सरकारले जनाएको प्रतिवद्धता अनुसार काम हुनुपर्नेमा गफ धेरै भएको बताउँछन् । 

अर्का सर्वसाधारण लक्ष्मण पन्त भने सरकारको कार्यकालमा धेरै आशालाग्दो काम भएको र धेरै काम गर्न बाँकी रहेको बताउँछन् । राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको काम अन्तिम चरणमा पुगेको, भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नु सरकारको प्रगति भएपनि जनताका समस्या समाधान गर्न भने सरकारको कमजोरी रहेको उनले बताए । सरकारका धेरै चुनौति र समस्या रहेको बताउँदै सरकारको २ वर्षे कार्यकाल घामछायाँको रुपमा रहेको बताए । 

सर्वसाधारण सन्तबहादुर भुजेल सरकारले जति गर्न सक्यो त्यति काम नगरेको बताउँछन् । अघिल्लो पटक प्रधानमन्त्री भएका बेला उनले केही राम्रो काम गरेपनि दोश्रो कार्यकालमा भने उल्लेख्य प्रगति गर्न नसकेको बताए । दैनिक उपभोग्य सामग्रीको भाउ बढिरहेको भन्दै उनले महंगी नियन्त्रण गर्नका लागि सरकारलाई सुझाव दिए । 

बाँकेका पूर्व शिक्षक एनपी पहाडीले सरकारले नीतिगत रुपमा सरकार सफल भएपनि जनतालाई सन्तुष्ट पार्न भने नसकेको बताए ।  खुला बजार अर्थतन्त्रका कारण काम गर्न सजिलो भएपनि संविधानले निर्दिष्ट गरेका अधिकार दिन सरकारले पर्यात कानून बनाउन नसकेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप