भ्रष्टाचार विरोधी अभियान कुनै हालतमा रोकिँदैनः प्रभु साह
रौतहट । संघीय सांसद तथा नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले भ्रष्टाचार विरोधी अभियान कुनै हालतमा नरोकिने बताएका छन् । मंगलबार रौतहटको मौलापुरको लक्ष्मीनिया माविमा आयोजित साक्षरताको लागि साँस्कृतिक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले कुनै परिस्थिति तथा दबाबमा भ्रष्टाचार विरोधी अभियान नरोकिने दावी गरेका हुन् ।
कुनै पक्षबाट भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयासलाई विफल पार्दै भ्रष्टाचारमुक्त समाज निर्माण गरेरै छोडने उनले प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा राजनीतिक परिवर्तनसँगै विकासले गति लिने जनताको चाहना पुरा नभएको भन्दै दुःख व्यक्त गरेका थिए ।
सांसद साहले भ्रष्टाचार अन्त्य गर्न सबै देशबासी एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै कुनैपनि हालतमा भ्रष्टाचार हटाएरै छाड्ने बताए । सोही अवसरमा नेता साहले विद्यालयको प्रशासनिक भवन र आठ कोठे शैक्षिक भवनको शिलान्यास समेत गरेका थिए ।