कविता : मेरा सपनाहरू
शनिबार, १७ फागुन २०७६, ११ : ५४
-मनोज लम्साल
म प्रत्येक रात मेरा
महान सपनाहरूलाई
भोलिबाट ब्युँझाउने
सङ्कल्प गर्दै निदाउँछु
हिजो राति पनि र अस्ति
पनि यहीँ सङ्कल्प
गर्दै निदाएको थिए
तर किन व्युँझिन मान्दैनन्
मेरा सपनाहरु
कि मेरो पर्खाइको त्यो भोलि
प्रत्येक पटक आज बनेर
मलाई झुक्याइरहेछ ?
म भोलिको पर्खाइमा छु
भोलि आज बन्ने हतारोमा छ
समय बित्दै छ
सपनाहरु टाढा भाग्दैछन् ।