सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्ततः गौतमलाई राष्ट्रिय सभामा पठाउन ओली तयार

आइतबार, १८ फागुन २०७६, १६ : ५१
आइतबार, १८ फागुन २०७६

काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सहमत भएका छन् । 

गत बुधबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम नै प्रधानमन्त्री ओली फागुन २० पछि रिक्त हुने एक राष्ट्रिय सभा सदस्यमा गौतमलाई सरकारका तर्फबाट सिफारिस गर्न तयार भएका हुन् । 

आइतबार बस्नै मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गर्ने वालुवाटार स्रोतले जनाएको  छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सो पदमा हाल अर्थमन्त्री समेत रहेका युवराज खतिवडा छन् । खतिवडाको २ बर्षे कार्यकाल फागुन २० गते सकिँदैछ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएपछि खतिवडा हाल सूचना तथा सञ्चार प्रविधि मन्त्री र सरकारको प्रवक्ताको समेत जिम्मेवारीमा छन् । 

यसअघि ओली गौतमलाई खतिवडाको स्थानमा राष्ट्रिय सभामा पठाउने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्ट रहँदै आएका थिए । तर, आइतबारको सचिवालय बैठकमा भने ओली गौतमप्रति नरम भएका हुन् ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आइतबारको सचिवालय बैठकमा गौतमको नाममा कुनै असहमति नजनाएको स्थायी समिति सदस्य तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । 

‘आइतबारको सचिवालय बैठकमा गौतमबारे कुनै छलफल नै भएन । किनभने यसअघि नै निर्णय भैसकेको थियो । त्यो निर्णयबाट कोही पनि यताउता गर्ने अवस्था नै छैन’, खनालले रातोपाटीसँग भने, ‘सर्वसम्मत निर्णय भएको विषयमा छलफल गर्न जरुरी नै थिएन ।’ 

५ दिन पनि टिकेन ओलीको अडान
बुधबारको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउन पार्टीका तर्फबाट सरकारलाई सिफारिस गर्न अग्रह गर्ने निर्णय गरेको थियो ।

 तर, सचिवालयले गरेको उक्त निर्णयप्रति २ घण्टा नवित्दै ओलीले गौतमको नाम सिफारिस नगर्ने भन्दै युवराज खतिवडालाई नै निरन्तरता दिने मनसाय व्यक्त गरेका थिए ।

 ओलीको उक्त आशयपछि नेकपामा पक्ष र विपक्षमा विभिन्न आरोप प्रत्यारोप नै चल्न सुरु भएको थियो । त्यसक्रममा गौतमको पक्षमा सचिवालयका ७ सदस्य एकातिर र ओलीसहित ईश्वर पोखरेल अर्कातिर अर्थात युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्नेमा विभाजित बनेका थिए । तर सचिवालयको सर्वसम्मत निर्णय नमाने ओलीविरुद्ध पार्टीले कडा कदमसमेत चाल्न सक्ने निष्कर्षमा ओलीइतरका नेताहरु पुगेपछि ओली अन्ततः गौतमलाई स्विकार्ने पक्षमा पुगेका हुन् ।

 ‘पार्टी नै दुर्घटनामा पर्न सक्ने अवस्था पनि आउन सक्थ्यो । यो अवस्था आउन दिनुहुँदैन भनेर नै प्रधानमन्त्रीले पार्टीको निर्णय स्वीकार गर्नुभएको हो अडानबाट पछि हटेको भनेर बुझ्नुनै गलत छ’, ओली निकटका एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीले सवै कुरा बिर्सेर राष्ट्रको हितमात्रै सोच्नुभएको छ ।’

यतिसम्मकी नेता खनालले त ओलीले पार्टीको निर्णय नमाने बालुवाटार छोड्नुपर्ने चेतावनी नै दिएका थिए । 

माधवको दौडधुपले निस्कियो निकास 
गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णयप्रति ओलीले आपत्ति जनाएपछि पार्टी नै विघटन हुने हो कि भन्ने आशंका नेकपा वृत्तमै उठ्न पुगेका थिए । यहीँ बीचमा ओली इतरपक्षका नेताहरु पटक पटक छलफलमा जुटे । 
यस्ता छलफलमा सचिवालयको निर्णय जसरी पनि कार्यन्वयन गर्नुपर्ने उनीहरुको निष्कर्ष थियो । बरु गौतमलाई राष्ट्रिय सभामा पठाउने र खतिवडालाई पनि आगामी ६ महिनासम्म अर्थमन्त्रीमा निरन्तरता दिन सकिने मध्यमार्गी बाटोबाट जान सकिने सुझाव दिएका थिए ।

 शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेका नेताहरुबीच भएको यो छलफलको निष्कर्ष वरिष्ठ नेता माधव कुमार नेपालले शुक्रबारै बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई सुनाएका थिए । जसमा ओली लचक बनेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप