मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सीमा नाकामा नाम मात्रैको हेल्थ डेस्क : भारततिर कडाइ, नेपालतिर लापरवाही

सोमबार, १९ फागुन २०७६, १६ : ४२
सोमबार, १९ फागुन २०७६
  • टंक कुँवर/तेजेन्द्र केसी/किरण कर्ण

 

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वव्यापी भइसकेको अवस्थामा खुला सीमा भएको नेपालले आवश्यक सतर्कतामा अझै ध्यान दिन सकेको देखिएको छैन ।

तीनतिर भारत र एकतिर चीनबाट घेरिएको नेपालले स्थलमार्ग हुँदै भित्रिने मानिसहरुमार्फत कोरोना संक्रमण आउन सक्नेतर्फ ध्यान दिन सकेको छैन । भारतसँग जोडिएका केही सीमा नाकामा हेल्थ डेस्क स्थापना भए पनि ती सबै औपचारिकतामा सीमित देखिएका छन् ।

भारतले आफ्नो क्षेत्रमा स्थापना गरेका हेल्थ डेस्कको तुलनामा नेपालले आफ्नो देशमा भित्रिने नागरिकहरुको स्वास्थ्य परीक्षणमा न प्रविधिलाई महत्व दिएको छ, नत चेकजाँच तथा सोधपुछमा नै कडाइ गर्न सकेको छ ।

प्रदेश नम्बर २ मा फितलो व्यवस्थापन
भारतको बिहार राज्यको सितामढी जिल्ला, चरौत निवासी एक युवकमा कोरोनाभारइसको लक्षण देखिएपछि सीमा जोडिएको प्रदेश नम्बर २ का अधिकांश मुख्य नाकामा कोरोनाभाइरस हेल्थ डेस्क स्थापना गरिएको छ ।


कोरोनाभाइरस रोकथाम गर्ने उद्देश्यले प्रदेश नम्बर २ को धनुषा, महोत्तरी, सर्लाही, पर्सा र सिरहा लगायतका सिमावर्ती क्षेत्रमा कोरोना भाइरसको निगरानी एवम् चेकजाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको हो । यद्यपि यसको व्यवस्थापन भने फितलो देखिएको छ । बारा र रौतहटको सीमा क्षेत्रमा भने हेल्थ डेस्कको समेत व्यवस्था छैन । 

प्रदेश नम्बर २ का सबै जिल्ला भारतसँग जोडिएका छन् । खुला सीमाका कारण सीमा नाकाबाट सहज आवागमन भइरहेको छ । प्रदेश सरकारले अधिकांश मुख्य नाकामा हेल्थ डेस्क स्थापना गरे पनि दक्ष जनशक्ति परिचालन हुन सकेको छैन । आवतजावत गर्ने साना नाकामा भने हेल्थ डेस्कको व्यवस्थासमेत छैन । ती क्षेत्रमा थर्मल स्क्यानर र ईन्फ्रा रे थर्मामिटर आवश्यक रहे पनि यसतर्फ सम्बन्धित निकायले चासो देखाएको छैन ।

स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ का सूचना अधिकारी विजय झाले कारोनाभाईरसको रोकथामका लागि हरेक जिल्लामा रहेका स्वास्थ्य चौकी र ११ वटा अस्पतालमा चेकजाँचको व्यवस्था गरिएको जानकारी दिए । उनले विदेशबाट आउने मानिसहरुको चेकजाँच हुने गरेको र शंकास्पद देखिए क्वारेन्टाईनमा दुई सातासम्म राखेर उपचार गर्ने व्यवस्था मिलाएको दावीसमेत गरे ।

प्रदेश ५ मा हेल्थ डेस्क औपचारिकतामा सीमित

प्रदेश ५ का विभिन्न नाकामा हेल्थ डेस्क स्थापना गरिएका छन् । तर ती हेल्थ डेस्कको प्रभावकारितामा प्रश्न उठिरहेको छ । सचेतनाका लागि भन्दै प्रदेशका विभिन्न मूख्य नाकामा हेल्थ डेस्क राखिएको छ ।

रुपन्देहीको सुनौली, बाँकेको जमुनिया नाका, नवलपरासीको महेशपुर नाका, कपिलवस्तुको कृष्णनगर नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । माघ महिनाको तेस्रो हप्तातिर यी नाकामा नेपाली पक्षले हेल्थ डेस्क स्थापना गरेको हो ।

भारतले पनि सोही समयको हाराहारीमा आफ्नो क्षेत्रमा हेल्थ डेस्क सञ्चालन गरेको छ । नेपाल र भारततर्फको हेल्थ डेस्क आ–आफ्नै ढङ्गले सञ्चालन हुँदै आएका छन् ।

स्थानीय तहले सञ्चालन गरेका नेपालतर्फका हेल्थ डेस्कमा भारत तथा अन्य मुलकबाट आउने नागरिकहरुको सामान्य चेकजाँच गरिन्छ । नेपालबाट भारतर्फ जानेहरुको भने भारतीय पक्षले आफ्नो हेल्थ डेस्कमा सामान्य चेकजाँच गर्ने गरेको छ ।

अध्यागमन कार्यालयका कर्मचारीले शंका लागेका देशबाट आएका व्यक्तिलाई हेल्थ डेस्कतिर पठाउने गरेका छन् । यद्यपि हेल्थ डेस्कमा आधुनिक उपकरण र स्वास्थ्य परीक्षणको व्यवस्था छैन । न त दक्ष कर्मचारी नै छन् । सामान्य सचेतनाका लागि कर्मचारीको उपस्थिति देखाउने कामबाहेक कोरोनाभाइरस संक्रमितको पहिचानका लागि हेल्थ डेस्क प्रभावकारी नभएको स्थानीयको भनाइ छ ।

जिल्ला स्वास्थ्य रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले कोरोनाभाइरसको ठूलो जोखिम अहिले नआएकाले सचेतना र सामान्य चेकजाँचमात्र गरिएको रातोपाटीलाई बताए । दैनिक सयौँको संख्यामा नागरिकहरु आवतजावत गर्ने सीमा नाकामा अध्यागमन कार्यालयका कर्मचारीले आफ्नो विवेकले शंकास्पद मानिएका व्यक्तिलाई हेल्थ डेस्कतिर पठाउने गरेका छन्, जहाँ एक÷दुईजना कर्मचारी सामान्य प्रचार साम्रागी लिएर बसेका हुन्छन् ।

हेल्थ डेस्क प्रभावकारी हुन नसकेकै कारण भारत र अन्य तेस्रो मुलकबाट आउने मानिसहरुसँगै भाईरसको संक्रमण सहजै भित्रिन सक्ने स्थानीयबासीको भनाइ छ । स्थलमार्ग हुँदै नेपाल भित्रिने मानिसको स्वास्थ्य परीक्षण अनिवार्य नगरिएकाले पनि त्यस्ता मानिसमार्फत प्रकोप भित्रिने सम्भावना रहेको उनीहरु बताउँछन् ।

खुला सीमा नाकामा दैनिक सयौँ मानिसको ओहोरदोहोर हुने भएकाले प्रत्येकको स्वास्थ्य परीक्षण गर्न ठूलै व्यवस्थापन खाँचो पर्ने स्थानीय प्रशासनको भनाइ छ । हेल्थ डेक्समा खटिएका कर्मचारीहरु स्थानीय तहबाट परिचालन भएका हुन् । नेपालगञ्जको एउटा सटरमा रहेको हेल्थ डेस्कका कर्मचारीहरु आफैँ धुँवा र धुलोका कारण बिरामी अवस्थामा छन् । अन्य नाकाको पनि अवस्था उस्तै देखिन्छ ।

प्रदेश मन्त्री भन्छन् : संक्रमित फेला परेको छैन
पाँच नम्बर प्रदेशमा स्वास्थ्य क्षेत्रको जिम्मेवारी सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्दछ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित फेला नपरेको बताए । उनले  प्रदेशका २ प्रादेशिक अस्पताल र ४ वटा मेडिकलमा आईसोलेसन वार्ड  बनाउन भनिएको रातोपाटीलाई बताए ।

सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिए पनि कोरोना संक्रमण पहिल्याउने उपकरण र दक्ष जनशक्ति भने नभएको स्वीकार गरे । ‘उपकरण खरिद प्रकृयामा छौँ,’ उनले भने, ‘कहीँ केही नहोस् भनेर सतर्क भएर मन्त्रालयले काम गरिरहेको छ ।’

अहिले सवैको ध्यान चीनतिरमात्र केन्द्रित रहेको तर भारतबाट आउने मानिसका विषयमा त्यति चासो नभएको उनको भनाइ छ ।

पाँच नम्बर प्रदेशसभामा कोरानाभाईरसको विषयमा ध्यान दिन प्रदेश सदस्यले माग गरेका छन् । प्रदेशसभा सदस्य फकुरिद्द खाँनले आईतबार प्रदेशका सुनौली नाकासहित मुख्य नाकामा हेल्थ डेस्कसहित आधुनिक उपकरण राख्न आग्रह गरे । बेलैमा उचित ध्यान नदिए ठुलो समस्या निम्तिन सक्नेतर्फ पनि उनले सचेत गराए ।

सुदूरपश्चिम प्रदेश : भारततिर कडाइ, नेपालतिर लापरवाही
सुदूरपश्चिम प्रदेशसँग जोडिएका भारतीय क्षेत्रमा कोरोनाभाइरसबारे कडा चेकजाँच हुन थालेको छ । नेपालबाट भारततर्फ प्रवेश गर्नेहरुलाई चिकित्सकसहितका भारतीय टोलीले सघन सोधपुछ गर्नुका साथै प्राथमिक स्वास्थ्य परीक्षण गरेरमात्र छाड्ने गरेका छन् ।

कोराना भाइरस नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कैलालीको त्रिनगर भन्सार कार्यालय र डोकेबजार, कञ्चनपुरको गड्डाचौकी, बैतडी र दार्चुलामा हेल्थ डेस्क निर्माण गरेको छ ।

सीमा नाका वारपार गर्ने नेपाली नागरिकलाई सचेतना गराउन पर्चा, पम्प्लेट वितरण पनि गरिएको छ । प्रत्येक हेल्थ डेस्कमा अहेवस्तरीय स्वास्थ्यकर्मीलाई परिचालन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरस भित्रिन नदिन पर्चा पम्प्लेटले मात्र नहुने त्रिनगर भन्सारस्थित हेल्थ डेस्कमा खटिएका अहेव दिनेश ठकुल्लाले बताए । चेकजाँचका लागि आधुनिक प्रविधिसहितको व्यवस्था आवश्यक भएको उनको भनाइ छ ।

त्रिनगर प्रहरी चौकी इन्चार्ज महादेव भट्टले कोरोनाभाइरस सम्बन्धी सतर्कता अपनाउन मौखिक रुपमा नागरिकलाई भन्ने गरेको बताए ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कोरोनाभाइरस भित्रिन नदिन मन्त्रालयले गर्नुपर्ने कामहरु गरिरहेको दावी गरे । ‘नेपालमा मास्कको उत्पादन नभएकाले अन्य देशबाट मगाएका छौं,’ उनले भने, ‘आज–भोलिसम्ममा आईपुग्छ ।’

उनले अहिलेसम्म कोरोनाभाइरस भित्रिन नदिने हिसाबले काम गरे पनि अबका दिनमा कोरोना भित्रिहालेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे मन्त्रीस्तरीय बैठक बसेर नीतिगत निर्णय गर्न लागिएको बताए ।

उता, भारतीय सीमा नाकामा भने कोरोनाभाइरस नियन्त्रणका लागि कडाइ गरिएको छ । भारतीय पक्षले नाका नजिकै हेल्थ डेस्क निर्माण गरेको छ । भारतीय हेल्थ डेस्कमा कार्यरत स्वयंसेविका बसन्ती राजले लखिमपुर खीरीबाट डक्टरको टोली आएर स्वास्थ्य चेकजाँच गर्ने गरेको बताइन् ।

नाकाबाट आवत जावत गर्ने नागरिकलाई मास्क वितरण गरिनुका साथै शंकास्पद ब्यक्तिलाई स्वास्थ्य जाँच गरेर पठाउने गरिएको उनले बताइन् ।

भारतीय सुरक्षा बलकी सवइन्सपेक्टर मनिषाले भारतीय नाकाबाट आवत जावत गर्ने नागरिकलाई चेकजाँच गर्ने क्रममा कोरोना भाइरस सम्बन्धी जानकारी गराएर पठाउने गरिएको बताईन् । उनले चेक जाँच क्रममा मास्क र हातमा ग्लोव लगाउने गरेको बताइन् ।

जापान, चीन, अस्ट्रेलिया लगायतका देशहरुबाट आएका नागरिकलाई बढी निगरानी गरिन्छ र उनीहरुको स्वास्थ्य परीक्षणका लागि हेल्प डेस्कमा कार्यरत डाक्टरले स्वास्थ्य परीक्षण गर्ने गरिएको उनले बताइन् । नेपाल भन्दा पनि भारतीय पक्षले आफ्ना नाकाहरुमा कोरोना भाइरस सम्बन्धी नियन्त्रणमा कडाइका साथ जुटेका छन् । अन्य प्रदेशका सीमा नाकामा पनि नेपालको तुलनामा भारततर्फ कडाइ छ ।

 यस्तै प्रदेश नम्बर १ का भारतसँग सीमा जोडिएका स्थानको अवस्था पनि अन्य प्रदेशको भन्दा फरक नभएको पाइएको छ । हेल्थ डेस्क प्रभावकारी हुन नसक्दा रोग भित्रने खतरा धेरै छ ।  

विमानस्थलमा अनिवार्य जाँच
आइतबारदेखि संक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको छ । विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो मुलुक जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँचको डेस्क अनिवार्य पार गर्नुपर्ने व्यवस्था गरिएको छ । 

सरकारले कोरोना भाइरसकै कारण घोषित भिजिट नेपाल २०२० को कार्यक्रम समेत हाललाई स्थगित गरिसकेको अवस्थामा एयरपोर्ट र नाका ‘लक डाउन’ गर्न समेत माग उठेको छ ।

 कोरोनाको प्रकोेप विश्वका ५० भन्दा बढी देशमा फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै दुई महिना त्रिभुवन विमानस्थल लकडाउन गर्न माग गरिसकेको छ । नेपालमा स्वास्थ्य उपचारको पाटो कमजोर रहेको भन्दै विमानस्थल लकडाउन गरेर सहयोग गर्न स्वास्थ्य अधिकारीहरूले प्रधानमन्त्रीसँग प्रस्ताव गरेका हुन् । 

विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराएको अवस्थामा केही महिना नाका र एयरपोर्ट लकडाउन गर्नुपर्ने आवाज उठेको हो । 

अहिले पर्यटक ल्याउनेभन्दा पनि कोरोना भित्रिन नदिन सबै जुट्नुपर्ने वेला आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप