मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस फ्लूभन्दा घातक तर नियन्त्रण गर्न सकिन्छ : विश्व स्वास्थ्य संगठन

बिहीबार, २२ फागुन २०७६, ११ : ०९
बिहीबार, २२ फागुन २०७६

एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार नयाँ प्रजातिको कोरोनाभाइरसले लगाउने कोभिड–१९ बाट संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ । यो दर संक्रमितमध्ये एक प्रतिशतको मृत्यु हुने सिजनल फ्लूकोभन्दा बढी हो ।

तथापि नयाँ कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एधानोम घेब्रयससले मङ्गलबार बताए । टेड्रोसले विश्वभरका देशलाई रोग नियन्त्रण प्रयासलाई बढाउन र उपचारमा संलग्न डक्टर र नर्सको सुरक्षामा सतर्कता बढाउन आग्रह गरे ।

‘विश्वभर कोभिड–१९ संक्रमितमध्ये ३.४ प्रतिशत मरेका छन् । सिजनल फ्लूसँग तुलना गर्दा त्यसमा संक्रमितमध्ये एक प्रतिशतको ज्यान गएको छ,’ टेड्रोसले जेनेभामा पत्रकारलाई जानकारी गराए ।


‘एकातर्फ कोभिड–१९ फ्लुभन्दा कम फैलिरहेको छ तर कोरोनाभाइरस लागिसकेपछि भने यसले फ्लूले भन्दा बढी जटिलता निम्त्याइरहेको छ । यसको अझै कुनै खोप भेटिएको छैन, यद्यपि यसलाई नियन्त्रण भने गर्न सकिन्छ ।’

तथापि प्रतिरोधात्मक उपकरणको विश्वव्यापी अभाव र मुल्यवृद्धिबाट महामारीविरुद्ध देशको क्षमता कमजोर हुने टेड्रोसले चेतावनी दिए । ती सामाग्रीको अभाव हुन नदिन सरकार र उद्योगले तिनको उत्पादन ४० प्रतिशतसम्मले बढाउनुपर्ने टेड्रोसले सुझाव दिए ।

कोभिड–१९ हुदाँ ज्वरो आउने, रुघा–खोकी लाग्ने र सास फेर्न समस्या हुनेजस्ता लक्षण देखिन्छन् । भाइरसबाट संक्रमित हुने अधिकांश व्यक्ति हल्का विरामी भएर सञ्चो भएको देखिएको छ ।

तर अन्य चिकित्सकीय जटिलता भएका व्यक्तिको हकमा भने कोभिड–१९का कारण निमोनिया लगायत अन्य जटिलता देखिने र त्यसको कारण ज्यान जाने हुन्छ ।

कोभिड–१९बाट संक्रमित धेरैको पहिचाननै भएको छैन भन्ने मान्ने हो भने मर्ने दर कम हुनेछ । तथापि त्यस्तो अवस्थामा संक्रमितले थाहै नपाइ धेरैलाई रोग सार्ने खतरा पनि रहन्छ ।

कोरोनाभाइरसबाट हालसम्म विश्वभर ९३ हजार व्यक्ति संक्रमित भइसकेका छन् भने झण्डै ३१ सय व्यक्तिको मृत्यु भइसकेको छ । मर्नेमध्ये अधिकाशं चीनका छन् । तर पछिल्लो समय भाइरस अन्य देशमा फैलिन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप