मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाइ, संक्रमितलाई भित्रिन नदिन उच्च सतर्कता

बिहीबार, २२ फागुन २०७६, १५ : ४५
बिहीबार, २२ फागुन २०७६

काठमाडौँ । सरकारले ‘कोविड–१९’ अर्थात् कोरोनाभाइरसको संक्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सतर्कता अपनाएको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना संक्रमण रोकथामका लागि सरकारीस्तरबाट भइरहेका काम कारवाहीबारे संक्षिप्त जानकारी दिएका हुन् ।

उनले मन्त्रालयले विभिन्न तीन वटा समिति निर्माण गरी संक्रमण भित्रिन नदिन आवश्यक तयारी भइरहेको जनाए । नेपालमा अहिलेसम्म कोरोना संक्रमित नरहेका कारण विदेशबाट आउनेहरुमार्फत संक्रमण नभित्रियोस् भनेर चनाखो रहनुपर्ने आवश्यकता रहेको उनले बताए ।

यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोको समयमा चिकित्सकसहित ६÷७ जनाको टोलीले विदेशबाट आउने यात्रुहरुको स्वास्थ्य अवस्था चेकजाँच गर्ने र शंकास्पदलाई स्वास्थ्योपचारका लागि पठाउनेसहितको व्यवस्था गरिएको उनको भनाइ छ । यस्तै रातिको समयमा पनि विमानस्थलमा कम्तीमा ४ जनाको टोली रहने उनले बताए ।

उनले छिमेकी मुलुक भारतबाट विभिन्न १३ वटा औषधी नेपाल पठाउन रोक लगाइएको बारे सरकारको ध्यानाकर्षण भएको जानकारी दिँदै ती औषधीको पर्याप्त ‘स्टक’ रहेकाले तत्काल कुनै प्रकारको फरक नपर्ने बताए ।
दीर्घकालिन रुपमा सरकारले उक्त समस्या समाधानका लागि भारत सरकारलाई आग्रह गर्ने र औषधी आयातको अवस्थालाई सामान्य तुल्याइने उनको भनाइ छ ।

यसअघि सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पनि नेपालमा कोरोना संक्रमित नपाइएका कारण आत्तिनु पर्ने अवस्था नरहेको बताए । यद्यपि सरकारले संक्रमण भित्रिन नदिन प्रभावकारी ढङ्गले काम गरिरहेको जानकारी दिँदै उनले स्थलमार्गबाट आउने यात्रुमार्फत पनि संक्रमण फैलन सक्ने भएकाले विभिन्न ३७ वटा नाकामा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप