मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अपडेट : टेकुबाट भागेका कोरोना आशंका गरिएका बिरामी फेला, आइसोलेसन वार्डमा पठाइयो

शुक्रबार, २३ फागुन २०७६, ०७ : ५८
शुक्रबार, २३ फागुन २०७६

काठमाडौं– कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि भागेका एक बिरामी फेला परेका छन् । 

सुनसरीको इटहरी घर भएका उनलाई विराटनगरबाट फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । उनी भागेको भन्दै अस्पताले काठमाडौं प्रहरीलाई जानकारी गराएपछि उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको थियो ।

त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो । उनी बुधबार राति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट भागेको पाइएको प्रहरीले जनाएको छ । 

ती बिरामीलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा पठाइएको छ । उनलाई कोरोना भाइरस भए–नभएको पुष्टि भने भइसकेको छैन । मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पताल लगेका थिए । 

यसैबीच टेकुको आइसोलेसन वार्डबाट बिरामी भाग्ने घटना हुन थालेपछि  प्रहरी र मनोसामाजिक परामर्शदाता राखिने भएको छ । 

अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बिरामी, स्वास्थ्यकर्मी, परामर्शदाता र आफन्तहरूबीच सहज संवादका लागि प्रहरी र मनोसामाजिक परामर्शदाता राख्न लागिएको जानकारी दिए । 

आइसोलेसन वार्डमा रहेका बिरामी भाग्न नदिन अस्पतालमा सीसीटीभीसमेत जडान गर्न थालिएको बताइएको छ । 

केही पहिले सोही अस्पतालबाट एक साउदी अरबका नागरिक पनि फरार भएका थिए । 

पछिल्लो समय नेपालमा कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरको त्रासका कारण औपचारिक कार्यक्रम समेत धमाधम स्थगित गर्न थालिएको छ । 

यो भाइरस नेपालमा एक जनामा भएको पुष्टि भएपछि हालसम्म नयाँ संक्रमित भने फेला पर्न सकेका छैनन् । संक्रमित पनि पूर्ण रुपमा निको भइरहेको अस्पतालले स्पष्ट पारेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप