मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना आशंकामा हालसम्म ४३२ वटा नमूना परीक्षण, कसैमा पनि पुष्टि भएन

शुक्रबार, २३ फागुन २०७६, १० : ०८
शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । गत माघ ९ गते चीनबाट फर्किएका एक नेपाली नागरिकमा कोरोना भाइरस पुष्टि भएपछि हालसम्म थप ४३२ वटा नमुना परीक्षण गरिएकोमा कसैमा पनि कोरोना भाइरस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुरुमा कोरोनाको संक्रमण देखिएका उनी पनि पूर्णरुपमा निको भइसकेको मन्त्रालयले प्रष्ट पारेको छ । 

मन्त्रालयले विश्वभर यो भाइरस फैलिरहेपनि नेपालमा कसैमा पनि नदेखिएकाले त्रसित हुनुपर्ने कारण नरहेको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसको संक्रमण नेपालमा पनि देखिन सक्ने सम्भावित जोखिमलाई भने मध्यनगर गरी यसको समयमै पहिचान गर्ने, उपचार गर्ने, सम्भावित संक्रमितको खोजी गर्ने लगायतका अत्यावश्यक कार्यहरुलाई मन्त्रालयले प्राथमिकताका साथ गरिरहेको स्पष्ट पारे । 

उनले यस परिस्थितिमा संयमित भइ रोगबाट बच्न पनि अनुरोध गरेका छन् । मन्त्रालयले सबै नागरिकलाई नियमित रुपमा साबुन पानीले मिचिमिची २० सेकेण्डसम्म हात धुन अनुरोध गरेको छ । 

यस्तै बिरामी व्यक्तिहरु आफूबाट अरुमा संक्रमित हुनु नपरोस् भन्नका लागि र बिरामीको स्वाहारमा संलग्न हुँदा मास्को प्रयोग गर्न, खोक्दा वा हाछ्यूँ गर्दा नाकमुख ढाक्न पनि मन्त्रालयले सुझाएको छ । 

ज्वरो आउने, घाँटी दुख्ने तथा स्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।  

 


विश्वभर यसरोगबाट ९५ हजारभन्दा बढी संक्रमित बनेका छन् । यसमध्ये धेरै चीनका रहेका छन् । चीनमा हालसम्म ३ हजार १५ जनाले ज्यान गुमाएका छन् भने चीनबाहेक अरु देशमा २६७ जनाको मृत्यु भइसकेको छ । जसमा धेरै इरान र इटालीका रहेका छन् । चीनमा बिहीबार कोरोनाभाइरसबाट १४३ जना नयाँ संक्रमित भेटिएका छन् भने थप ३० जनाले ज्यान गुमाएका छन् । तीमध्ये २९ जना हुबेई प्रान्तका रहेका छन् र फेला परेका नयाँ मध्ये १२६ जना पनि त्यही प्रान्तका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप