सिरहामा एसईईमा दश हजार विद्यार्थी सहभागी हुँदै
सिरहा : विद्यालय शिक्षाको फलामे ढोकाको रुपमा लिइने एसईई परीक्षा २०७६ मा सिरहाबाट करिब दस हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
आगामी चैत ६ गतेदेखि शुरु हुने परीक्षामा जिल्लाका ७६ सामुदायिक र ६५ संस्थागत विद्यालय गरी एक सय ४१ विद्यालयबाट ९ हजार ८ सय २१ जना सहभागी हुने शिक्षा विकास समन्वय इकाई सिरहाले जनाएको छ ।
परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचको लागि यो वर्ष ३९ वटा परीक्षा केन्द्रहरु तय गरेको इकाईले जनाएको छ । पछिल्लो वर्ष जिल्लामा ३८ वटा परीक्षा केन्द्र थिए ।
यो वर्षको परीक्षा अन्तर्गत बाल मन्दिर परीक्षा केन्द्रमा प्राविधिक धारतर्फ दुई सय ७८ जना र चन्द्र माध्यमिक विद्यालय केन्द्रमा चार सय ८६ जना विदार्थीले एक्जामटेड परीक्षा दिने इकाई प्रमुख विजयकुमार मण्डलले बताए ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समितिमार्फत् सबै तयारीहरु आवश्यकता अनुसार भईरहेको प्रमुख मण्डलले जानकारी दिए ।
तोकिएका परीक्षा केन्द्रहरुमा उत्रर पुस्तिकाको संख्या छुट्याएर पोका बनाएर यो हप्ताको चैतको अन्तिम सातासम्म सम्बन्धित केन्द्रमा पुर्याइने उनले बताए ।