मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

के पुरुषको तुलनामा महिला र बालबालिकालाई कोरोनाभाइरसको खतरा कम छ ?

सोमबार, २६ फागुन २०७६, ११ : २८
सोमबार, २६ फागुन २०७६

काठमाडौँ । पुरुषको तुलनामा महिला र बालबालिकामा कोरोनाभाइरसको खतरा कम देखिएको छ । कोरोनाभाइरस संक्रमितको मृत्युसम्बन्धी तथ्याङ्कमा महिला र बालबालिकाको संख्या पुरुषको तुलनामा निकै कम पाइएको हो ।

‘चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोल’ले गरेको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो । अध्ययनको दायरामा कोरोनाभाइरस संक्रमित ४४ हजारलाई राखिएको थियो जसमा २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको थियो ।

उमेरको आधारमा विश्लेषण गर्ने हो भने ०.२ प्रतिशत बालबालिका तथा किशोरको कोरोना संक्रमणका कारण मृत्यु भएको पाइन्छ । ८० वर्षभन्दा बढी उमेर समूहका १५ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

संक्रमणसँग लड्ने शक्ति

विश्लेषकहरुका अनुसार महिला र बालबालिकामा कोरोनाको संक्रमण नै कम हुने या उनीहरुको शरीरले यस भाइरससँग राम्ररी लड्नसक्छ ।

युनिभर्सिटी अफ एक्सटरका डाक्टर भरत पनखनिया भन्छन्, ‘साधारणतया कुनै नयाँ भाइरस देखिन्छ भने त्यसबाट जोकोही पनि संक्रमित हुन सक्छन् । यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।’ किनकि नयाँ भाइरससँग लड्नका लागि प्रतिरोधक क्षमता कसैसँग नहुने उनको भनाइ छ ।

कुनै भाइरस फैलिन थाल्छ भने बालबालिका त्यसबाट कम संक्रमित हुन्छ । यसको कारण खुलाउँदै ‘किङ्ग्स कलेज, लन्डन’का डाक्टर नथालिए मेकडरमेट भन्छन्, ‘बालबालिकामा संक्रमण कम हुनुको एउटा कारण यो पनि हुन सक्छ कि आमाबुवाले उनीहरुलाई बढी सुरक्षित राख्छन् ।’

महिलामा संक्रमण कम हुनुको रहस्य

कोरोनाभाइरसबाट भएको मृत्युको तथ्याङ्क विश्लेषण गर्दा पुरुषको तुलनामा महिलाको मृत्यु निकै कम भएको पाइन्छ । तर वैज्ञानिकहरुले यसलाई आश्चर्य मानेका छैनन् ।

उनीहरुका अनुसार फ्लुसहित अन्य संक्रमणमा पनि यस्तै परिणाम देखिन्छ । महिलामा यस प्रकारका संक्रमणको असर कम देखिनुको मुख्य कारण ‘लाइफस्टाइल’ नै रहेको वैज्ञानिकहरु बताउँछन् । पुरुषको तुलनामा महिलाको ‘लाइफस्टाइल’ भिन्न हुन्छ । आफ्नो ‘लाइफस्टाइल’का कारण पुरुषको स्वास्थ्य महिलाको तुलनामा खराब हुने गर्दछ ।

महिलाको तुलनामा पुरुषले धुम्रपान तथा मदिरापान बढी गर्दछन् । डाक्टर मेकडरमेट भन्छन्, ‘धुम्रपानले मानिसको फोक्सोलाई नोक्सान गर्दछ, यो पक्कै पनि राम्रो कुरा होइन ।’

चीनकै नागरिकको लाइफस्टाइललाई विश्लेषण गर्ने हो भने ५२ प्रतिशत पुरुष र तीन प्रतिशत महिलाले धुम्रपान गर्दछन् ।

पुरुष र महिलाको प्रतिरक्षा प्रणालीले संक्रमणलाई लिएर कसरी प्रतिक्रिया जनाउँछ भन्ने कुराले पनि संक्रमणबाट हुने मृत्युदर निर्धारण गर्दछ । ‘युनिभर्सिटी अफ इस्ट एङ्गलिया’का प्रोफेसर पल हन्टर भन्छन्, ‘महिलाहरुमा आन्तरिक रुपमा पुरुषको भन्दा भिन्न प्रतिरक्षा प्रतिक्रिया हुन्छ ।’ उनका अनुसार फ्लुका सम्बन्धमा पनि महिलाले प्रभावकारी ‘एन्टिबडी’ उत्पादन गर्दछन् ।

गर्भावस्थामा कति खतरा ?

आधिकारिक रुपमा यसको जवाफ नआए पनि गर्भावस्थामा संक्रमणको खतराबारे सन्देह नै छ । गर्भावस्थामा शरीरमा धेरै परिवर्तन हुन्छ । यस क्रममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, जसका कारण शरीरले गर्भाशयमा भ्रुणलाई स्वीकार गर्दछ । परिणामस्वरुप गर्भवती महिलामा संक्रमणको खतरा बढी हुन्छ । समान उमेरका अन्य महिलाको तुलनामा गर्भवती महिलामा फ्लु लगायतका संक्रमणका कारण मृत्यु हुने खतरा बढी रहने वैज्ञानिकहरुको भनाइ छ ।

तर बेलायत सरकारले भने गर्भवती महिलालाई कोरोनाभाइरसले गम्भीर रुपमा प्रभावित गरेको कुनै प्रष्ट संकेत नभेटिएको दावी गरेको छ । प्रोफेसर हन्टर भन्छन्, ‘मलाई भने यसमा पूर्ण विश्वास छैन, केवल नौ गर्भवती महिलामा गरिएको परीक्षणबाट निकालिएको तथ्यांकलाई आधार मानेर निष्कर्ष निकाल्नु राम्रो होइन ।’

बालबालिकामा कोरोनाको प्रभाव

बालबालिकामा पनि कोरोना संक्रमण हुन सक्छ । हालसम्मको अवस्थालाई हेर्ने हो भने कोरोनाभाइरसबाट एक दिन उमेरको बच्चा पनि संक्रमित भएको पाइएको छ । सानो उमेरका बालबालिकामा पनि यसको खतरा देखिएको छ । खासगरी दुई वर्षभन्दा कम उमेरका बालबालिकामा संक्रमणको खतरा देखिएको विश्लेषकहरु बताउँछन् ।

डाक्टर पनखनिया भन्छन्, ‘मानिस उमेर बढेसँगै बढी बिरामी हुँदै जान्छन् किनकि उनीहरुको प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।’ बालबालिकामा भने यो भाइरसको असर हलुका नै पाइएको उनको भनाइ छ ।

एउटा बच्चा र वयस्कको प्रतिरक्षा प्रणालीमा निकै अन्तर हुने वैज्ञानिकहरुको भनाइ छ । बाल्यकालमा शरीरको प्रतिरक्षा प्रणाली अपरिपक्व हुने भएकाले त्यसले अति प्रतिक्रिया जनाउन सक्छ । जसले गर्दा बालबालिकामा ज्वरो, रुघा–खोकी जस्ता समस्या सामान्य मानिन्छ ।

प्रतिरक्षा प्रणाली अति सक्रिय हुनु पनि राम्रो होइन । किनकि यसले शरीरको बाँकी हिस्सालाई नोक्सान गर्न सक्छ ।

यद्यपि बालबालिकामा कोरोनाको असर किन कम भयो त ? डाक्टर मेकडरमेट भन्छन्, ‘यो भाइरसले बालबालिकाको प्रतिरक्षा प्रणाली उत्तेजित नगर्ने गरी पक्कै पनि केही काम गरेको हुनुपर्छ तर त्यो के हो र कसरी भयो भन्ने प्रष्ट भइसकेको छैन ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप