सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शुक्रबारभित्र प्रधानमन्त्री ओलीको डिस्चार्ज गर्ने तयारी

सोमबार, २६ फागुन २०७६, १३ : १८
सोमबार, २६ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार हुदै गएकाले केही दिनभित्र डिस्चार्ज गर्न सकिने चिकित्सकहरुले बताएका छन् । 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्यमा सकारात्मक सुधार आइरहेकाले आउँदो बिहीबार वा शुक्रबारसम्म डिस्चार्ज गर्न सकिने बताए । 

‘प्रधानमन्त्रीज्यूको यही क्रममा स्वास्थ्यमा सुधार आए केही दिनपछि डिस्चार्ज गर्न सकिन्छ । अहिले नै यही दिन त नभनौं तर बिहीबार वा शुक्रबारसम्ममा उहाँ बालुवाटार फर्कन सक्नुहुन्छ कि भन्ने लागेको छ’, निर्देशक खड्गाले भने, ‘मिर्गौला प्रत्यारोपणमा संलग्न डाक्टरहरुको सुझावका आधारमा यसबारेमा हामी छलफल गरेर निर्णयमा पुग्छौं । अप्रेशन भएको बढीमा १० दिनभित्र उहाँलाई बालुवाटार फर्काउन सकिन्छ कि जस्तो लागेको छ ।’ 

प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका हुन् भने त्यसको दुई दिनपछि अर्थात फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन् । ‘उहाँको रगत, रक्तचाप, पिसाबलगायत सबै सूचकाङ्क राम्रो स्थितिमा छन्’, डा. ज्ञवालीले भनेका छन् । 

प्रधानमन्त्री ओलीको यो प्रत्यारोपण दोस्रो हो । यससँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन् । 

चिकित्सकहरूका अनुसार प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गरेपछि उनलाई सन्तुलित आहार दिन थालिएको र नियमित हिँडडुल गराउन थालिएको छ । 

‘अस्पतालको कोठाभित्रै हिँडडुल गर्न थाल्नुभएको छ, त्यो क्रम विस्तारै बढ्दैछ’कार्यकारी निर्देशक खड्गाले रातोपाटीसँग भने, ‘संक्रमणको जोखिम घटाउन प्रधानमन्त्रीलाई धेरै भेटघाट नगर्न सुझाव दिइएको छ ।’

प्रधानमन्त्री ओली सामान्य हिँडडुल र ठोस पदार्थ खान थालेपछि आफुलाई डिस्चार्ज गर्न चिकित्सकहरुसँग आग्रह गर्दै आएका छन् । तर चिकित्सकहरुका अनुसार प्रधानमन्त्री डिस्चार्ज भएर बालुवाटार फर्केपछि पनि उनलाई केही महिना आरामको जरुरत पर्छ । 

‘सामान्यतया दुई तीन महिना आराम जरुरी हुन्छ । पहिलो पटक प्रत्यारोपण गर्दाको अवस्था जस्तै दोस्रो पटक पनि त्यति नै समय आराम गर्न जरुरी छ’, प्रत्यारोपणमा संलग्न अर्का एक चिकित्सकको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप