पार्टी एकता घोषणाअघि दुबै राप्रपाको बैठक : अब पार्टी फुट्न नहुनेमा जोड
पार्टी एकता घोषणाको अघिल्लो दिन राप्रपा र राप्रपा संयुक्तको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेको छ । राप्रपाको धुम्बाराही र संयुक्तको चाबहिलस्थित कार्यालयमा बैठक बसेको हो । दुई राप्रपाबीच बुधबार एकता घोषणा हुँदैछ ।
यसअघि शनिबार दुई राप्रपाबीच पार्टी एकता गर्नेसम्बन्धी १० बुँदे आधारपत्रमा हस्ताक्षर भएको थियो ।
राप्रपा संयुक्तको केन्द्रीय समिति बैठकमा सहभागीहरुले पार्टी एकताको स्वागत गर्दै दुई पार्टी अब फुट्न नहुनेमा जोड दिए ।
यस्तै एकीकृत पार्टीको केन्द्रीय समितिमा महिलाको उचित प्रतिनिधित्व हुनुपर्ने, चुनाव चिन्ह हलो हुनुपर्ने, भ्रष्टाचारविरुद्ध एकताबद्ध भएर लाग्नुपर्नेलगायतमा पनि जोड दिइएको थियो ।
उनीहरुले राष्ट्रियता र सीमानाका विषयमा पार्टी गम्भीर हुनुपर्नेमा जोड दिँदै नेकपा र नेपाली काँग्रेसले जनभावना अनुसार काम गर्न नसकेको अवस्थामा राप्रपाको लागि अवसर बन्नसक्ने धारणा राखेका थिए ।
सो अवसरमा बोल्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले अब एकीकृत पार्टीले वडावडासम्म संगठन बनाएर राष्ट्रवादी आन्दोलनलाई उचाइ दिने बताए । उनले अब पार्टी नफुट्ने उद्घोष समेत गरे ।
यस्तै अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टी प्रजातान्त्रिक मूल्य मान्यताको आधारमा अघि बढ्ने स्पष्ट पारे । उनले पार्टी भ्रष्टाचारविरुद्ध उभिने स्पष्ट पार्दै लामो इतिहास बोकेको पार्टीमा दोस्रो पुस्ताको आकर्षण बढाउन कार्यक्रमहरु सञ्चालन गरिने पनि बताए ।
यसैगरी राप्रपाको अन्तिम बैठकमा अध्यक्ष कमल थापाले एकताको महत्व र आवश्यकताबारे चर्चा गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाइने बताए ।
उनले एकता पछि राप्रपालाई देशको अग्रणीशक्ति बनाउने अभियानमा सक्रिय रहन पनि नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।