मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : कोरोना भाइरसबाट विश्वभर ४ हजारबढीको मृत्यु

मङ्गलबार, २७ फागुन २०७६, २० : ३७
मङ्गलबार, २७ फागुन २०७६

प्रधानमन्त्रीको डिस्चार्ज केहीदिनमा

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउन भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। साथै मिर्गौला प्रत्यरोपणमा संलग्न चिकित्सकहरुले अव प्रधानमन्त्रीको डिस्चार्ज गर्दा पनि हुने जनाएका छन् । 

मंगलबार त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका निजी चिकित्सक समेत रहेकी डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएकाले अबको केही दिनमा अस्पतालले डिस्चार्ज गर्न सकिने बताइन् । 

 डिस्चार्ज गर्न मिल्ने भएपनि  घरमा केही तयारी गर्नुपर्ने भएकाले हतारमा डिस्चार्ज नगरिने डाक्टर शाहको भनाइ छ । यो अवस्थामा जोखिमको खतरा पनि धेरै हुने र केयर गर्न जरुरी भएकाले डिस्चार्जलाई हतार नगरिएको उनले बताइन् । 

पहिलो पटक १२ बर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।  

उच्चस्तरीय समिति बैठक

भारतले प्रतिवन्ध लगाएका औषधि बाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारले बताएको छ । 

मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्च स्तरीय समितिले सरोकारवालासँग गरेको छलफलपछि सरकारले भारतबाट आयात बन्द नभएको बताएको हो । 

औषधिजन्य वस्तुबाहेक अन्य वस्तुहरु आयातमा कुनै समस्या नरहेको अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । 

 कोरोना भाइरस संक्रमणको सन्त्रास फैलिएको सन्भर्दमा अत्यवश्यक वस्तुको सहज उपलब्धताका लागि नीजि क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको छ । 

मन्त्री खतिवडाले आवश्यकता भन्दा बढी मात्रामा औषधि र ग्यास भण्डारण नगर्न पनि आग्रह गर्नुभएको छ । रसुवागढी र तातोपानी नाकामा रोकिएका सामानहरु सुरक्षित रुपमा नेपाल ल्याउन व्यवसायीहरुले सुझाव दिएको उल्लेख गर्दै मन्त्री खतिवडाले अनावश्यक रुपमा सामान किनेर भण्डारण नगर्न उपभोक्तालाई सचेत गराउने विषयमा पनि बैठकमा छलफल भएको बताए । 

औषधि व्यवसायीहरुले ५, ६ महिनाका लागि औषधि स्टक रहेको जानकारी दिएको पनि बताए । ६ महिनासम्मका लागि खाद्यान्न र ३ महिना पुग्ने पेट्रोलियम पदार्थ स्टक रहेको उनले बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मास्कको अभावलाई परिपूर्ति गर्न नीजि क्षेत्रले प्रतिदिन १५ हजारका दरले मास्क उत्पादन गर्ने बताए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा अर्थ, स्वास्थ्य, उद्योग वणिज्य तथा आपूर्ति र संस्कृति पर्यटन तथा नागरिय उड्डयनमन्त्रका मन्त्रीहरु लगायत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल परिसंघका पदाधिकारी तथा औषधि उत्पादक संघका पदाधिकारी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

राष्ट्रिय युवा संघ 

कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ । 

 मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने बताएका हुन् । 
 विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । 

 ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उनले बताए । कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने मन्त्री ढकालले बताए ।  ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइन्मा राख्ने व्यवस्था गर्ने उनको भनाई छ । 

युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विमानस्थल, भारतीय सीमा नाकाहरुमा स्वास्थ्य चेकजाँचको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस संक्रमित देशबाट नेपाल आउने जो कोहीलाई क्वारेन्टाइन्मा राख्ने व्यवस्थाले मात्रै संक्रमण नफैलने सुनिश्चिता गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले बताए । 

सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स जर्मन इटाली र इरान लगायतका मुलुकबाट आउने यात्रुहरुलाई कडाई गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि अस्पतालमा चेकजाँच गर्न जानेहरुको संख्या भने बढिरहेको छ । 

कोरोना अपडेट

कोभिड–१९ सङ्क्रमणको कारण मंगलबारसाँझसम्म ४ हजार ९१ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।  यस भाइरसबाट एक लाख १६ हजार ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ६४ हजार ७५० जना निको भएर घर फर्किएका छन् । 

बङ्गलादेश, अल्बानिया र पाराग्वे तीन ओटा नयाँ देशमा कोभिड–१९ का संक्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । गत वर्षको अन्त्यबाट यस भाइरसको सङ्क्रमण शुरु भएको चीनको हुबेई प्रान्त वुहानमा एकै दिनमा १७ व्यक्तिको मृत्यु भएपछि चीनभरी यस रोगबाट मृत्यु भएपछि तीन हजार १३६ पुगेको जनाइएको छ । 

गत २४ घण्टा यी तीन देशमा कोरोना भाइरस संक्र्रमण फैलिएको डब्लुएचओले सोमबार प्रकाशित एक विज्ञप्तिमा जनाएको छ । गत २४ घण्टामा विश्वभरी तीन हजार ९ सय ९३ मा भाइरसको थप संक्रमण देखिएको डब्लुएचओले जानकारी दिएको छ । इटालीमा यस भाइरसको सङ्क्रमणपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या ४ सय ६३ पुगेको जनाइएको छ । त्यसैगरी दक्षिण कोरियामा सात हजार ५ सय १३ जना संक्र्रमित रहेका र ५४ जनाको मृत्यु भएको जनाइएको छ । 

यसैबीच इरानमा ७ हजार १ सय ६१ जना संक्र्रमित रहेका र २ सय ३७ व्यक्तिको मृत्यु भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ । विश्वका विभिन्न तथ्यांङ्कबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको सङ्क्रमणपछि उपचार गराएर घर फर्किनेको सङ्ख्या ९४ प्रतिशत रहेको छ ।

घातक कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या भारतमा ४७ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।मङ्गलबारसम्म ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको एएनआईले जनाएको छ । उनीहरुमध्ये केरलाका तीन जनालाई पूर्ण उपचारपछि अस्पतालबाट फिर्ता गरिएको पनि सरकारी अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा भाइरस संक्रमणका कारण हालसम्म २७ जनाको मृत्यु भयसकेको छ । सात सय २९ जना संक्रमित छन् ।

उता जर्मनीमा भने संक्र्रमितको संख्या एक हजार नाघेको छ । रोबर्ट कोच इन्स्टिच्यूटले सोमबारसम्ममा एक हजार एक सय १२ जना संक्रमित भएको जनाएको छ । यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन् । बेलायतमा कोरोना भाइरस संक्र्रमितको संख्या तीन सय १९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

जापानमा भने मृत्यु हुनेहरूको संख्या सोमबारसम्म १६ पुगेको छ । संक्र्रमितको संख्या पाँच सय पाँच पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले टोकियोमा ७६ र ओशाकामा ५५ जना बिरामी रहेको जनाएका छन् । 

त्यसैगरी बेल्जियममा संक्र्रमितको संख्या दुई सय ३९ पुगेको छ भने हङ्कङमा एक सय १५ प्यालेस्टाइनमा २५, मलेसियामा एक सय १७, कुवेतमा ६५ र इन्डोनेसियामा १९ जनामा कोरोना भाइरसको संक्र्रमितभएको पुष्टि भएको छ । कोरियामा रहेका आठ जना अमेरिकी सैनिकलाई पनि कोरोनाको सङ्क्रमण भएको छ । त्यसैगरी, दुवईमा दुईजना नेपाली र अष्ट्रेलियमा एकजना नेपालीमा पनि संक्रमण देखिएको छ ।


सभामुख  र भारतीय राजदूत 

भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । 

नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।  भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले सरकार—सरकार, संसद—संसद र जनता—जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । 

कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् । 

पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

 बुधबार राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता घोषणा हुँदैछन् । पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे । यसैबीच राप्रपा

संयुक्तको पनि मंगलबार एकता घोषणाअघि अन्तिम बैठक बसेको छ । बैठकमा पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा छलफल भएको बताइएको छ । 

शेयर बजार

शेयर बजारमा फेरि अर्को नकारात्मक सर्किट लागेको छ । ५ दिनपछि मंगलबार खुलेको शेयर बजारमा दुई घण्टामै ८६.३९ अंकले घटेपछि आजको लागि कारोबार नै बन्द गरिएको हो । बजार खुलेदेखि नै निरन्तर रुपमा घट्दै गएको बजार दुई घण्टा १३ मिनेट जाँदा ६ प्रतिशत भन्दा बढीले घटेको थियो ।

नियमानुसार एकैदिन ६ प्रतिशत भन्दा बढीको घटबढ देखिएमा सो दिनको लागि सम्पूर्ण कारोबार बन्द गर्नुपर्छ । सोही कारण आजको लागि सबै कारोबार बन्द गरिएको हो । उक्त अवधिमा १ अर्ब ७ करोड रुपैंया बराबरका २७ लाख ३५ हजार कित्ता शेयर कारोबार भएका थिए । मंगलबार१२ वटै समूहका उपसूचकहरु घटेका छन् । २ घण्टाको कारोबार अवधिमा १६१ ओटा स्क्रिपको कारोबार भएकोमा १४६ ओटाको मूल्य घटेको छ । ७ ओटाको बजारमूल्य स्थिर हुँदा बाँकी ९ ओटा कम्पनीको शेयरमूल्य आज बढेको छ । 

१२ वटा उपसूचकमध्ये सबैभन्दा बढी गिरावट जीवनबीमा समूहमा आएको छ । उक्त समूहको सूचक ९.१ प्रतिशतले घट्दा व्यापारमूलक, होटेल र बैंकिङ समूहको सूचकमा पनि ६ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । निर्जीवन बीमा समूह ५ प्रतिशतको हाराहारीमा घट्दा अन्य सूचक भने त्योभन्दा कमले मात्रै घटेको छ । 
गत मार्च २ मा पनि नेप्से परिसूचक एकैदिन करिब ९६ अंक घटेर नकारात्मक सर्किट ब्रेक लागेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप