मनमोहक वसन्त ऋतु, कंक्रिटको सहरमा रंगीचंगी फूल (फोटोफिचर)
बुधबार, २८ फागुन २०७६, १२ : १३
काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै काठमाडौँका सडक आसपासमा रहेका बोटबिरुवामा पालुवा फिरेका छन् । पछिल्लो समय कंक्रिटको शहर भनेर चिनिएको काठमाडौँमा हरियालीको महत्त्व पनि बढ्न थालेको छ ।
सडक आसपास रहेका केही बोटबिरुवाले पालुवा फिरेसँगै राजधानीको सौन्दर्यसमेत बढाएका छन् । कोलाहल, भीडभाड तथा धुँवाधुलोबाट वाक्क भएका राजधानीबासीका लागि वसन्तको हरियालीसँगै फुलेका रङ्गीचङ्गी फूलले पैदलयात्री तथा स्थानीयबासीलाई थोरै भए पनि राहत र आनन्दको अनुभूति गराएको छ ।
धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ । घरैघर, बंगलैबंगलाका बीचमा थोरै संख्यामा भए पनि मनै लोभ्याउने गरी फूलेका यी फूल आफैँ वसन्त ऋतुका ज्वलन्त उदाहरण हुन् ।