मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस नियन्त्रणमा चीनको पाठ : सङ्क्रमितलाई परीक्षण र उपचार खर्चको भार नपार

बिहीबार, २९ फागुन २०७६, १६ : ५९
बिहीबार, २९ फागुन २०७६

एजेन्सी । चीनबाट सुरु भएको कोरोनाभाइरस प्रकोपले अहिले महामारीको रूप लिएको छ । विश्व स्वास्थ्य सङ्गठनले यसको प्रकोपलाई गत बुधबार विश्वव्यापी महामारी नै घोषणा गरिसकेको छ । 

विश्वका अन्य भागहरुमा शिखर छुने गरी भाइरसको सङ्क्रमण फैलिइरहँदा चीनमा भने यस भाइरसको सङ्क्रमण हुनेहरुको सङ्ख्यामा उल्लेख्य ढङ्गले कमी आइरहेको छ । त्यसैले विश्वका अन्य देशका सरकारले महामारी नियन्त्रणका लागि चीन सरकारले अपनाएका तरिका र विधिहरुका बारेमा ध्यान दिन थालेका छन् । 

यस महामारीलाई नियन्त्रण गर्नका लागि चीनले चालेको कठोर कदमको प्रतिफल स्वरूप महामारीको विस्तारमा निक्कै कमी आएको छ । बुधबार दिनभर त्यहाँ १८ जना मात्रै नयाँ सङ्क्रमित भेटिए । 

यसरी कोभिड–१९ को सङ्क्रमितको सङ्ख्यामा त्यसको उद्गम थलो भनिएको चीनमा आश्चर्यजनक गतिमा कमी आइरहँदा इटाली, इरान, दक्षिण कोरिया, अमेरिका लगायत विश्वका विभिन्न मुलुकमा भने यो तीव्र गतिमा बढेको छ । 

चीनले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणमा गरेको कुन कदम बढी प्रभावकारी रह्यो त ? 

कोरानाभाइरसको विश्वव्यापी विस्तार हुँदै ‘विश्व महामारी’कै रूप लिएको वर्तमान अवस्थामा यसमाथि नियन्त्रण पाउनका लागि विश्वले चीनबाट सिक्न सक्ने सबैभन्दा महत्त्वपूर्ण पाठ भनेको रोगविरुद्धको लडाइँमा परीक्षण र उपचारको खर्चको भार बिरामीमाथि नपार्ने भन्ने हो ।  

चाइनिज हस्पिटल म्यानेजमेन्ट जर्नलले फेब्रुअरी २८ मा जनाएअनुसार चीनमा कोरोनाभाइरसको परीक्षणमा लगभग ३७० युआन (५३ अमेरिकी डलर) खर्च हुन्छ । 

भाइरस सङ्क्रमितको उपचार झनै महँगो छ । देशको दक्षिणी सहर सेन्झेनमा रोग उपचारका लागि औसत मूल्य वयस्कका लागि २३ सय युआन पर्छ र बालबालिकामा भने ५६ सय युआन जति खर्च पर्छ । 

कोरोनाभाइरसको उपचार गर्दा बिरामीको रगतमा सीमित समयको लागि कृत्रिम अक्सिजन दिनुपर्छ । 

चीनमा यो निक्कै खर्चिलो उपचार विधि हो तथापि कोरोनाभाइरसको सङ्क्रमणको समयमा त्यहाँको सरकारले सबै शुल्क तिरिदिएको छ । चीन सरकारले यसमा १ खर्ब १० अर्ब युआन खर्च भयो । 

अन्य देशले कोरोनाभाइरस सम्बन्धमा कस्तो व्यवहार उतारिरहेका छन् त ?
उता अमेरिकाले कोरोनाभाइरस प्रमाणीकरण परीक्षणमा कुनै शुल्क लिएको छैन तर अमेरिकामा चिकित्सकीय खर्च निक्कै महँगो छ । 

त्यहाँ अस्पतालमा जाँचका लागि झण्डै ३२ सय खर्च हुन्छ । त्यहाँको बिमा संस्थाहरुको समूहले कोरोनाभाइरसको उपचारका लागि आफ्ना बिमा प्रदायकसँग सम्पर्क गर्न भनेका छन् । 
बुधबारसम्म अमेरिकामा १३२९ मा सङ्क्रमण पुष्टि भएको छ भने २८ को मृत्यु भइसकेको छ । 

दक्षिण कोरियामा बुधबारसम्म ७,८६९ सङ्क्रमित भेटिएको छ । त्यहाँको सरकारले जनवरीमै सङ्क्रमितको परीक्षण, बिरामीलाई एक्ल्याउने र उपचारको सबै शुल्क सरकार र बिमा कम्पनीले तिर्ने बताएको थियो ।
दक्षिण कोरियामा पछिल्लो दिन कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गर्ने केन्द्रलाई व्यापक विस्तार गरेर दैनिक १५ हजारसम्म जाँचिरहेको छ । 

जापानले फ्रेबुअरीमै कोभिड–१९ लाई साङ्क्रामक रोग घोषणा ग¥यो । उसले कोरोनाभाइरस सङ्क्रमितको सम्पूर्ण खर्च सरकारले तिर्ने व्यवस्था गरेको छ । 

ब्रिटेनमा अघिल्लो महिनादेखि १८ हजार व्यक्तिको निःशुल्क परीक्षण भइसकेको छ । त्यहाँ हालसम्म ४५६ मानिसमा सङ्क्रमण प्रमाणित भएको छ । 

प्राध्यापक डर्क फेइफरले पनि बिरामीमा आर्थिक भार पर्दा महामारी नियन्त्रण प्रयास कमजोर हुने बताउँछन् । 

‘यदि सम्पूर्ण खर्चको भार बिरामीमाथि पारिने हो भने न्यून–आय समूहका मानिसले सामान्य लक्षण हुँदा परीक्षणमा अनाकानी गर्ने गर्छन् । पछि त्यही लक्षण गम्भीर भइदिन्छ । यसले महमारीलाई फैलाउन सहयोग गर्छ,’ प्राध्यापक डर्कले भने ।

डर्कले परीक्षणमा कडाइ गरे पनि पश्चिमी मुलुकमा कोरोनाभाइरसको प्रकोप लामो समय रहने बताए । 

चीनले सहरलाई जसरी लकडाउन (घरबाट निक्लन नपाउने) सबैका लागि अनिवार्य गरायो, पश्चिमा राष्ट्रले तिनलाई स्वेच्छिक भनेका छन् । यसले महमारी लामो समय रहने डर्कको तर्क छ । 

चाइनिज एकेडेमी अफ सोसल साइन्सअन्तर्गतको इन्स्टिच्युट अफ अमेरिकन स्टडिजका निर्देशक नी फेङ वर्तमान माहामारीलाई अमेरिका र चीनका लागि सहकार्यको अवसर भएको तर्क गर्छन् । 
चीन र अमेरिकाबीच धेरै क्षेत्रमा विवाद भइरहेको समयमा महामारी सहकार्य क्षेत्र भएको बताए । 

‘अमेरिका र चीनबीच विगतमा सार्स, एच५एन१ र एच७एन९ को समयमा पनि दुई देशबीच ठोस सहकार्य देखेका थियौँ । यस्तै दुई देशबीच सहकार्यका अन्य पनि धेरै क्षेत्र छन् । महामारी त्यस्तै कम संवेदनशील क्षेत्र हो,’ नीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप