आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घरेलु नेपाली कामदारको अवस्था बुझ्न युएई गएको संसदीय टोलीसमक्ष दूतावासकै कर्मचारीको गुहार

शुक्रबार, ३० फागुन २०७६, १३ : ११
शुक्रबार, ३० फागुन २०७६

युएई । युएईस्थित नेपाली दूतावासमा कार्यरत स्थानीय कर्मचारीले आफू अन्यायमा परेको भन्दै न्यायको माग गरेका छन् ।

आबुधावीस्थित नेपाली दूतावासमा करारमा कार्यरत कार्यालय सहयोगी पुस्कल लामाले आफूलाई दूतावास प्रशासनले जबरजस्ती कामबाट निकालेर अन्याय गरेको भन्दै संसदीय समितिमा उजुरी दिएका हुन् ।

लामाले गत साता युएई पुगेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसमक्ष आफू अन्यायमा परेको भन्दै लिखित उजुरी पढेर सुनाएका थिए ।

खाडीमा कार्यरत घरेलु नेपाली कामदारको अवस्थाबारे अध्ययन गर्न भन्दै आएको संसदीय टोलीसँग संघ–संस्थाका प्रतिनिधिहरुले कामदारका समस्या र गुनासोबारे जानकारी गराएका थिए । सोही क्रममा लामाले पूर्वसूचना बिना नैै आफूलाई कामबाट निकालेको गुनासो गरेका थिए ।

परराष्ट्र सेवा अन्तर्गत दूतावासमा कार्यरत तृतीय सचिव रामविनय रायको सहयोगीको रुपमा रहेका लामा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै दुबईबाट निरञ्जन पराजुलीको नामबाट गत माघ ६ गते राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार, प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालय र परराष्ट्र सचिवसमक्ष ईमेलमार्फत उजुरी गएको थियो ।

सोही उजुरीको आधारमा सतर्कता केन्द्रले परराष्ट्र मन्त्रालय र परराष्ट्रले नेपाली दूतावास आबुधावीलाई छानबिन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउन भन्दै फागुन १ गते निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार दूतावासले उप नियोग प्रमुख रिता धितालको संयोजकत्वमा श्रम काउन्सिलर निर्मला थापा, प्रथम सचिव शिवानी बस्नेत र श्रम सहचारी मोतिराम भुसाल सम्मिलित छानविन समिति बनाएर प्रतिवेदन तयार गरेको थियो । समितिले उजुरी कर्तालाई विद्युतीय पत्राचार गरेर प्रमाण सहित दूतावासमा उपस्थित भई दोषीलाई कारबाही प्रकृयामा ल्याउन सहयोग गर्न अनुरोध गरेको थियो ।

लगत्तै आरोपित कर्मचारी राय र लामासँग स्पष्टीकरण समेत लिइएको थियो । छानबिन समितिले उजुरीकर्तालाई प्रमाण सहित दूतावासमा उपस्थित हुन भने पनि उजुरीकर्ताले हालसम्म कुनै जवाफ नदिएको र सम्पर्कमा समेत नआएकोले आरोप पुष्टि गर्न नसकिने ठहर छानविन समितिले गरेको थियो ।

राजदूत कृष्णप्रसाद ढकालले आफूलाई करार अवधि नविकरण नहुने भन्दै अर्को दिनबाट काममा नआउन भनेको लामाले रातोपाटीलाई बताए ।

आफूले गल्ती गरेको भए प्रमाणसहित सार्वजनिक गर्न र गल्ती ठहर भएमा जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको लामाको भनाइ छ ।

के छ उजुरीमा ?

दूतावासका तृतीय सचिव रामविनय राय र कार्यालय सहयोगी पुस्कल लामाविरुद्ध उजुरी दिने व्यक्ति को थिए भन्ने अहिलेसम्म खुलेको छैन । यी दुई जना मिलेर भ्रष्टाचार गरिरहेको भन्दै निरन्जन पराजुलीको नामबाट माघ ६ गते राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार, प्रधानमन्त्रीको कार्यालय, पररास्ट्र मन्त्रालय तथा परराष्ट्र सचिवसमक्ष ईमेल मार्फत उजुरी गएको थियो ।

दूतावासको आन्तरिक कार्यविभाजन अन्तर्गत व्यक्तिगत मागपत्र हेर्ने जिम्मेवारी पाएका यादवले दूतावासमा प्रमाणीकरणका लागि आउने व्यक्तिहरुसँग डिमाण्डमा आवश्यक कागजात नमिलेको तथा नपुगेको भन्दै लामामार्फत १० देखि १० हजार दिरामसम्म लिएर प्रमाणित गर्ने गरेको आरोप उजुरीकर्ताको छ ।

उजुरीमा दूतावासमा हुने अनियमितताबारे जानकारी हुँदासमेत दूतावासले बेवास्ता गरेको आरोप थियो । उजुरीमा भनिएको छ, ‘दूतावासमा भइरहेको भ्रष्टाचारबारे दूतावास किन मौन छ ? उजुरी उपर सुनुवाई किन भएन ?’

दूतावासमै कार्यालय सहयोगीमार्फत् तृतीय सचिव रायले भ्रष्टाचार गरेको भन्दै उजुरी आएपछि थालिएको छानबिनमा उजुरीकर्तालाई प्रमाणसहित दूतावासमा ३ दिनभित्र उपस्थित हुन भनिएको थियो । छानबिन समितिले उजुरीकर्तालाई ईमेल गरी ३ दिनभित्र आउन भने पनि उनी दूतावासमा उपस्थित भएनन् । उजुरीकर्ता नै सम्पर्कमा नआएपछि यो विषयमा थप छानबिन गर्न र प्रमाण जुटाउन समस्या देखिएको छ ।

उजुरीकर्ताको पहिचान खुल्न नसक्नुमा दूतावासकै उच्च अधिकारीले छद्म नाममा उजुरी गरेको लामाको आरोप छ । विदेशस्थित नेपाली नियोगमा कामगर्ने स्थानीय कर्मचारी व्यवस्थापन सम्बन्धी निर्देशिका २०७२ मा स्थानीय कर्मचारीसँगको सम्झौता अवधिमा कार्य सम्पादनको स्तर सन्तोषजनक नदेखिएमा जुनसुकै बेला हटाउन सक्ने उल्लेख छ । तर यसरी हटाउँदा सामान्यत ः एक महिनाको अग्रिम सूचना दिएर करार रद्द गर्नुपर्ने हुन्छ । त्यस्तै स्थानीय कर्मचारी उपर कुनै उजुरी वा मुद्दा परेमा सम्बन्धितसँग स्पष्टीकरण लिने वा चेतावनी दिइने तथा विभागीय कारवाही गर्न सकिने व्यवस्था छ ।

स्पष्टीकरणमा चित्त नबुझेमा नियोग प्रमुखले २ जना अन्य कुटनीतिक कर्मचारीको समेत सहमतिमा निर्णय गरेर कर्मचारीलाई हटाउन सक्ने व्यवस्था छ । लामाले यी प्रक्रियाबेगर नै आफूलाई हटाइएको गुनासो गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप