मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमण नहोस् भन्ने कामना गर्दै ट्हो त्हेँ पूजा

शनिबार, ०१ चैत २०७६, ११ : ४९
शनिबार, ०१ चैत २०७६

पोखरा : झण्डै एक हजार वर्ष अघि तमुको ऐतिहासिक राज्य क्होलासोंथरमा  महामारी हुँदा जनधनको क्षति भएछ । राज्यमा सन्त्रास बढेछ ।  तमु धर्मगुरुको सामूहिक प्रयासमा  ‘ट्हो त्हें पूजा’ को धार्मिक अनुष्ठान गरिएछ ।  महामारी अन्त्य भए छ ।  यी ऐतिहासिक कुरा तमु समुदायका  बूढापाका बताउँदछन् ।  उक्त अनुष्ठान सो समूदायमा  अहिले पनि प्रचलनमा छ ।

तमु सम्बद्ध सङ्घ संस्थाले अहिले पनि समाजमा सुख, शान्ति र समृद्धिको कामनासहित सामूहिकरुपमा सो पूजा गर्दै आएका छन् । तमु प्ये ल्हु सङ्घका केन्द्रीय महसचिव हर्क गुरुङका अनुसार ट्हो त्हें पूजा भन्नाले गाउँले पूजा भन्ने बुझाउँछ । 

गाउँघरमा अहिले  यो पूजाआजा गरेपछि रोगव्याधिबाट मुक्त हुने, लगाएको अन्नबाली जोगाउने एवं सम्पूर्ण प्राणीजगत रक्षा हुने विश्वास कायमै रहेको उनले बताए ।

ट्हो त्हेँ गुरुङ समुदायको मौलिक संस्कृति भएको बताउँदै उहाँले समग्र प्राणि जगत्को हितका लागि गरिने यो संस्कृतिको ठूलो महत्व रहेको उल्लेख गरे । “हजार वर्षभन्दा अघि तमुको राज्य क्होलासोथरमा भएको महामारी रोक्नका लागि ट्हो त्हेँ गरिएका कारण पनि तमुले यो पूजा अत्यन्त श्रद्धापूर्वक गर्ने गर्दछन्”, उनले भने, “कोरोना भाइरसको सङ्क्रमणसँगै विश्वव्यापी त्रास बढिरहेको वर्तमान अवस्थामा यस प्रतिको विश्वास र आस्था झनझन बढिरहेको छ ।”

कोरोना महामारीले विश्व नै त्रसित बनेको अवस्थामा यसबाट मुक्ति मिलोस् भन्ने उद्देश्यका साथ तमु प्ये ल्हु सङ्घ केन्द्रीय समितिले पोखरामा यही चैत ४ गते ट्हो त्हेँ पूजा गर्ने भएको तमु प्ये ल्हु सङ्घ कास्कीका प्रथम उपाध्यक्ष निम गुरुङले जानकारी दिए ।

तमु समूदायमा पच्यु, क्ल्हेप्री र बोन्पो लम गरी तीन किसिमका खेगी९धर्म गुरु० रहन्छन् । जन्मदेखि मृत्यु संस्कारका साथै विभिन्न चाडपर्व तथा संस्कृतिमा तीनै प्रकारका धर्मगुरुको आआफ्नै महत्व रहने तमु संस्कृतिका जानकार बताउँछन् ।

उपाध्यक्ष गुरुङका अनुसार सङ्घले प्रत्येक वर्ष चैतको पहिलो मङ्गलबार तीनवटै खेगी राखेर पोखरामा ट्हो त्हें पूजा गरिँदै आइएको छ । यस वर्षको ट्हो त्हें पूजामा करिब ५० तमु धर्म गुरुले विधिवत पूजाआजा गर्ने उहाँले जानकारी दिए । 

यस वर्ष ट्हो त्हेँ शुरु गर्न गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट अक्षता तथा पानी ल्याई यज्ञमा राखिने आयोजकले जनाएको छ । ट्हो त्हेँमा प्रत्येक घरबाट सत्बीज ल्याई पूजा गरिने चलन रहेकाले सद्बीज ल्याई विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणको रोकथामसहित आफन्तजनको जीउ, धन रक्षाको लागि पूजामा सहभागी हुन सङ्घले आग्रह गरेको छ ।

क्होलासोंथरबाट हजारौ वर्ष अघि शुरु भएका संस्कार तथा संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि पनि यस किसिमका कार्यक्रमलाई सङ्घले प्राथमिकतामा राखेको महासचिव गुरुङ बताउँछन् ।

तमु समुदायका प्राचीन इतिहास एवं संस्कृतिलाई जगेर्ना गर्ने लक्ष्यका साथ क्होलासोंथरमा विभिन्न अध्ययन अनुसन्धान बढाइएको छ । २०५८ सालमा क्याम्ब्रिज युनिभर्सिटी, प्ये ल्हु संघ र पुरातत्व विभागको संयुक्त प्रयासमा गरिएको उत्खननबाट त्यहाँ एक हजार २०० वर्षभन्दा अघिदेखि बस्ती विकास भएको पाइएको थियो ।

अध्ययन अनुसन्धानको क्रम जारी रहेको बताउँदै महसचिव गुरुङले गण्डकी प्रदेश सरकार, क्याम्ब्रिज युनिभर्सिटी र प्ये ल्हु सङ्घले त्यसको थप अध्ययन गर्ने तयारी गरेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप