मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एकजुट भएर कोरोनाभाइरसको महामारीविरुद्ध सफलता हासिल गरौँ : भारतीय प्रधानमन्त्री मोदी

आइतबार, ०२ चैत २०७६, १८ : ०७
आइतबार, ०२ चैत २०७६

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रहरु सबै एक जुट भएर कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँग लड्नुपर्नेमा जोड दिएका छन् ।

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि सबैले आ–आफ्नो तर्फबाट प्रयास गरे पनि भविष्यमा के हुने भन्ने यकिन नभएको कारण सार्क राष्ट्रहरुबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।

सार्क राष्ट्रका नेताहरुबीच भएको भिडियो कन्फरेन्समा मोदीले सार्क राष्ट्रहरुले एकजुट भएर तयारी गर्न, काम गर्न र सफलता हासिल गर्नुपर्ने बताए ।

भिडियो कन्फरेन्सका दौरान मोदीले भारतले गरिरहेको तयारी र कार्यको बारेमा जानकारी दिएका थिए । मोदीले भने, ‘हाम्रो मन्त्र भनेको तयारी गरौँ तर नआत्तिऔँ भन्ने हो ।’ आफूहरुले समस्यालाई कम आँकलन नगरे पनि अत्तालिएर कुनै निर्णय नलिएको पनि स्पष्ट पारे ।

यसका लागि सक्रिय कदम र तहगत प्रतिक्रियाको संयन्त्र तयार गरिएको मोदीको जिकिर थियो । ‘हामीले मध्य जनवरीदेखि नै भारत प्रवेश गर्नेहरुको स्क्रीनिङ सुरु गरिसकेका थियौँ । हामीले मानिसहरु नआत्तिलिउन् भनेर तहगत कदम चालेका थियौँ,’ उनले भने, ‘हामीले सँगसँगै प्रिन्ट र सोसल मिडियाबाट जनजागरणको अभियान पनि चलाऔँ ।’ महामारीको हरेक चरणका लागि प्रोटोकल तयार गरिएको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री मोदीले देशका स्वास्थ्यकर्मीहरुको क्षमता विकासको साथसाथै रोग पहिचान गर्ने क्षमता पनि वृद्धि गरेको बताए । ‘दुई महिनामा ६६ वटा नयाँ ल्याब तयार गरिएको छ,’ उनले भने ।

यसबीचमा १४०० भन्दा बढी भारतीयको साथ साथै छिमेकी राष्ट्रका नागरिकहरुको विदेशबाट उद्धार गरिएको र अहिले उद्धारको लागि पनि प्रोटोकल नै तयार गरिएको उनको भनाइ थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको यो भिडियो कन्फरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, अफगानिस्तानका राष्ट्रपति अशर्फ घानी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोनी, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्ष, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री डा. जफर मिर्जा र दक्षिण एसियाली सहयोग संगठन (सार्क) का महासचिव एसाला रुवान विराकुन रहेका छन् ।

भिडियो कन्फरेन्सको सुरुवातमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका थिए ।

‘सर्जरी लगत्तै यहाँ हामीसँग जोडिनु भएका हाम्रा मित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिन चाहन्छु,’ मोदीले भने, ‘वहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप