मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रासः कालोबजारी बढ्दो

सोमबार, ०३ चैत २०७६, १२ : ५२
सोमबार, ०३ चैत २०७६

बुटवल । चीनबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिरहेको समयमा नेपालमा संक्रमित फेला नपरे पनि समाजमा प्रभावहरु देखिन थालेको छ ।

कोरोना संक्रमण फैलिएको अवस्थामा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै सर्वसाधारणले बजारबाट अनावश्यक खाद्यान्न तथा आवश्यकीय वस्तु भण्डार गर्न थालेपछि कृत्रिम अभाव सिर्जना भएको छ । परिणामस्वरुप कालोवजारी बढेको गुनासो बढ्दै गएको छ ।

बुटवल तथा आसपासमा कोरोनाको वहानामा कालोवजारी बढेको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका संघ संस्थाहरुले सघाउने प्रतिवद्धता समेत जनाएका छन् ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा प्रदेश ५ स्वास्थ निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ अधिकृत रोशनलाल चौधरीले प्रदेशमा १ सय १९ वटा आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतंकित हुने अवस्था नरहेको बताए । 

‘सचेत बनौँ । प्रदेश सरकार क्वारेन्टाइनको खोजीमा छ । जनता सचेत हुनुपर्ने छ । तर आतंकित हुने अवस्था छैन,’ उनले भने ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रणका लागि सरकारले उचित तयारी गर्न नसकेको बताए । कोरोनाका बारेमा बास्तविक सूचना दिन सरकार चुकेको भन्दै सरकारले वास्तविक सूचना दिनुपर्ने बताए ।

बजारमा कोरोनाको वहानामा उपभोग्य सामाग्रीको कृत्रिम अभाव देखिएको भन्दै उनले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे । 

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले दक्षिणी सीमा खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । अनावश्यक स्टक राखेर बजारमा अभाव देखाउन नहुने भन्दै उनले कृषिजन्य वस्तुमा समस्या नरहेको बताए । 

साक्षात्कारमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि संघले सरकारलाई सघाउन तयार रहेको  बताए । ‘सरकारले प्रभावकारी रुपमा बजार अनुगमन गर्नु पर्छ, हामी सहयोग गर्न तयार छौँ,’ उनले भने, ‘सरकारले उपभोग्य वस्तु कति चाहिन्छ, अवस्था कस्तो छ, सरकाले बास्तविक अवस्थाको चित्रण गर्नु पर्छ ।’

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चा पदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था आएको बताए । स्वदेशी उत्पानतर्फ अग्रसर हुनुपर्ने भन्दै उनले सरकारले उत्पादनका लागि उत्पे्ररण दिनु पर्ने बताए ।

एक्कासी माग बृद्धि हुँदा बजारमा मास्क अभाव देखिएको भन्दै उनले यस्तो अवस्थामा कालोबजारी नगर्न व्यवसायीलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप