मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सरकारले तत्काल शैक्षिक संस्था बन्द नगरे भयावय स्थिति आउँछ : सिम्खडा

बुधबार, ०५ चैत २०७६, १७ : २८
बुधबार, ०५ चैत २०७६

काठमाडौं । सामाजिक अभियन्ता तथा चर्चित कलाकार श्रीकृष्ण सिम्खडाले तत्काल देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने माग गरेका छन् । आफूले यसअघिपनि कोरोनाबाट बच्नको लागि नेपाल सरकारले पूर्वतयारीस्वरुप देशभरिका विद्यालय बन्द गर्नुपर्छ भनेर आग्रह गरेको स्मरण गराउँदै आफ्नो मागप्रति वर्तमान सरकार गम्भिर नभएको समेत सिम्खडाको गुनासो छ । 

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै कलाकार सिम्खडाले कोरोनाको प्रभाबाट जोगिनको लागि सबैभन्दा पहिले सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बेलामा सरकारी अधिकारीहरुबाटै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आईरहेकोमा समेत आक्रोश पोखे । उनले नेपालमा कोरोनाको संक्रमण देखिएको छैन भनेर सरकार कानमा तेल हालेर बस्ने बेला नभएको उल्लेख गर्दै दायाँबायाँ नसोची तत्काल विद्यालय बन्द गराउनतर्फ सरकारले कदम चाल्नुपर्ने पनि सुझाव दिए । 

सिम्खडाले प्रश्न गरे,‘के सरकारले सिंग, पखेटा र पुच्छर भएको भाइरस हेर्न खोजेको हो ? भाइरसको त्यस्तो केही हुँदैन् । सरकारले पुच्छर र पखेंटा भएको भाइरस हेर्न खोजेको हो भने सरकार भ्रममा छ । सरकार चाँडोभन्दा चाँडो यो भ्रमबाट मुक्त हुनुपर्छ । र, उसले जिम्मेवारपूर्वक कदम चाल्नुपर्छ ।’ अहिलेको समय घर्किए भोलि यही समय र अवसर आफूहरुले गुमाउन सक्नेतर्फ पनि उनले सरकारको ध्यानाकार्षण गराए ।  

उनले सरकारले आकस्मिक निर्णय गरेर देशभरिका सुरु भएका र अब सुरु हुने सबै परीक्षाहरु स्थगित् गर्नुपर्ने पनि तर्क गरे । उनले भने,‘सरकारले सबै परीक्षाहरु स्थगित् नगरे देशमा भयावय स्थिति समेत सिर्जना गर्छ भन्नेपनि म यही मञ्चबाट भन्न चाहन्छु ।’ स्थानीय निकायले आफ्नो क्षमता र गच्छेअनुसार भोलि हुनसक्ने संक्रमणलाई ध्यानमा राखेर ‘क्वारेन्टाईन’ को व्यवस्था गर्नुपर्ने पनि उनले सुझाव दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप