कोरोनाको सन्त्रासमै नापोलीलाई प्रशिक्षणको चटारो
एजेन्सी । विश्वभर कोरोना भाइरसको सन्त्रासले खेलकुद गतिविधि ठप्प भएपनि इटालियन सिरि ‘ए’ क्लब नापोलीले भने खेलाडीको प्रशिक्षण र तयारी सुचारु गर्न लागेको छ ।
नापोलीले लिगलाई लक्षित गरी बुधबारबाट तयारी सुरु गर्न लागेको हो । नापोलीले कोरोनाबाट जोगिएर आफ्नै फुटबल टेक्निकल सेन्टरमा तयारी गर्ने पनि जनाएको छ । नापोलीसँगै अर्को सिरि ‘ए’ क्लब काग्लियरीले सोमबार र लाजियोले एक सातापछि तयारी सुरु गर्न लागेको बताईएको छ ।
इटालीलाई कोरोना भाइरसले अहिले सबैभन्दा बढी पिरोलेको छ । नापोली अहिले लिगका छटौं स्थानमा छ । नापोलीले लिगका ३९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लाजियोको ६२ अंक छ । काग्लियरी ३२ अंक सहित १२औं स्थानमा छ ।
सिरि ‘ए’ मा २६औं चरणको खेल चल्दै गर्दा कोरोनाका कारण खेल स्थगित गरिएको थियो । लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सको ६३ अंक छ ।
इटालीमा अहिले कोरोनाको संक्रमण सबैभन्दा बढी छ । युभेन्ट्सका रक्षक ड्यानियल रुगानी र मिडफिल्डर ब्लेस माटुडीलाई यसअघिनै कोरोनाको संक्रमण भइसकेको छ ।
दुवै खेलाडी अहिले उपचारमा तल्लीन छन् । कोरोनाको महामारीले इटालीमा संकटकालनै घोषणा भएको छ ।