मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको शंकास्पद विरामीलाई उद्धार गरी अस्पताल पु-याउन ‘प्यासेन्ट रिसिभिङ टिम’

सोमबार, १० चैत २०७६, ०९ : १६
सोमबार, १० चैत २०७६

गृहमन्त्रालयले प्रभावित वा शङ्कास्पद व्यक्ति देखिए वा बिरामी भएको खबर प्राप्त हुनासाथ तत्काल उद्धार गरी अस्पताल पु-याउन गृहमन्त्री थापाको संयोजकत्वमा ‘प्यासेन्ट रिसिभिङ टिम’ गठन गरी कामको शुरुआत गरेको छ।

कोरोना भाइरस रोकथामको प्रभावकारी उपाय अपनाउन र तत्कालै समस्या सम्बोधन गर्न मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सबै सुरक्षा निकाय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि रहेको ‘ज्वाइन्ट अपरेशन सेन्टर’ समेत स्थापना गरिएको मन्त्रालयलेजनाइएको छ ।

उक्त कार्यमा सहयोग गर्न र शङ्कास्पद बिरामी देखिएमा तुरुन्त खबर गर्न तथा कालोबजारीको सूचनाबारे तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराउनसमेत सरकारले सबैमा आग्रह गरेको छ ।

मन्त्रालयले सिट क्षमताभन्दा बढी यात्रु नचढाउन र भीडभाड नगरी यात्रा गर्न पनि सरकारले यातायात व्यवसायी र यात्रुलाई अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा यात्रुबाहक सार्वजनिक सवारीधनीले सवारीलाई ‘डिस इन्फेक्सन’ गराउन अनुरोध गरेको छ । उपभोग्य सामग्रीको कृतिम अभाव सिर्जना गर्ने, जम्माखोजी, कालोबजारी गर्ने एवं मिसावट गर्ने गराउनेलाई कानूनअनुसार कारवाही गरिने चेतावनी दिइएको छ । दैनिक उपभोग्य वस्तु पर्याप्त मात्रामा रहेकाले आफूलाई आवश्यक पर्ने परिमाण मात्रै खरिद गर्न भनिएको छ । जारी विज्ञप्तिमा तालीम, सेमिनार, गोष्ठी, सभा, सम्मेलन चैत मसान्तसम्म बन्द गर्न पनि भनिएको छ ।

मन्त्रालयले आइतबार साँझ एक विज्ञप्तिमार्फत १९ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारले कोरोना भाइरसको संभावित जोखिमबाट बच्ने कार्यमा हातेमालो गर्न अनुरोधसमेत गरेको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमण हुन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलमैदान, जिम, हेल्थ क्लब, म्युजियम,  स्वीमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई चैत मसान्तसम्म बन्द गर्न भनिएको छ । अत्यावश्यकबाहेकका आवतजावत एवं हिँडडुल नगर्न अनुरोध गर्दै सरकारले सामाजिक, सांस्कृतिक र त्यस्तै कार्य मठमन्दिर, गुम्बा, मस्जिद, चर्च र पार्टी  प्यालेसजस्ता सार्वजनिकस्थलमा २५ भन्दा बढी मानिस भेला नहुन पनि दोहो-याएको छ ।

ज्वरो मापन गर्ने उपकरणको व्यवस्था गरी व्यक्तिको स्वास्थ्य जाँच गरेर मात्र प्रवेश गराउने व्यवस्था मिलाउन सरकारले होटल, मोटेल, रिसोर्ट, लज, रेष्टुराँ, बार, सपिङमलका सञ्चालकलाई आग्रह गरेको छ । सरकारले सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी सङ्क्रमणबाट जोगाउन अनिवार्यरुपमा स्वास्थ्य जाँचको व्यवस्था र सुरक्षामा कडाइ गरेको छ । नाकामा अत्यावश्यक काम बाहेक नजानसमेत भनेको छ ।

सरकारले देशैभरिका अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरिए पनि संस्था खुला रहेकाले कर्मचारीलाई बिदा नबस्न आग्रह गरेको गृहमन्त्रालयले जनाएको छ । उक्त सरकारको निर्णय कार्यान्वयन भए नभएको बारेमा अनुगमन गरी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप