आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘लकडाउनमा देश’ : विदेशीका अनुभवबाट हामीले के सिक्ने ?

मङ्गलबार, ११ चैत २०७६, १६ : १४
मङ्गलबार, ११ चैत २०७६

अहिले सामाजिक सञ्जालमा धेरैले लकडाउनको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । 

केही स्थानमा लकडाउनका बाबजुद मानिसहरु घरबाहिर निस्कने क्रम पनि देखिएको छ । प्रहरीले त्यस्ता केही व्यक्तिलाई पक्राउ पनि गरेको छ । 

सरकारले कोरोनाविरुद्ध बनाएको उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउन अवज्ञालाई बहादूरीका रुपमा नलिन र सरकारले जारी गरेका नियम पालना गर्न अनुरोध गरेका छन् । 

तर, यसका बाबजुद कतिपय स्थानमा मानिसले लकडाउनको अवज्ञा गरिरहेकै छन् । यसअघि युरोप र अमेरिकामा पनि यस्तै देखिएको थियो । त्यहाँ, सुरुवातमा केही व्यक्तिले लकडाउनलाई मजाकका रुपमा लिदाँको सजाय अहिले पुरै देशले भोगिरेहको छ ।  

यदी, हामी पनि सतर्कताका साथ घरमा बसेनौं र हाम्रो लापरवाहीले देशमा महामारी फैलियो भने भविष्यमा थप विकराल अवस्था निम्तनसक्छ । त्यसैले हामीले जर्मनी, इटली, स्पेन, फ्रान्स अमेरिकालगायत देशमा निम्तिएको भयावह अवस्थाबाट पाठ सिक्नुपर्छ । 
कहाँ के भएको थियो ?
जर्मनीमा जब कोरोनाभाइरसको महामारी सुरु भयो तब धेरै स्थानमा युवाहरु कोरोना पार्टी गर्दै थिए । कोरोनाबारे सामाजिक सञ्जालमा मजाक गरिरहेका थिए । जर्मनीको दक्षिणी प्रान्त बाबेरियाका अध्यक्ष मार्कस जोएडरका अनुसार यहाँ अहिले पनि  कोरोना पार्टी हुनेगर्छ ।

कति युवाहरुले बुढाहरुलाई मजाक बनाइरहेका छन्  । उनीहरु ‘कोरोना. कोरोना..’ भन्दै चिच्याउने समेत गर्छन् । यस्ता  धेरै  समूहहरु  छन् । यस्ता गतिविधि बढेपछि जर्मन चान्सलर एन्जेला मर्केलले दुईभन्दा धेरै मानिस एकसाथ उभिन नपाउनेगरी प्रतिबन्ध लगाइदिइन्, चाहे ती एकै परिवारका व्यक्ति किन नहुन् । मर्केल आफैं आइशोलेसनमा छिन् । 

फ्रान्समा लकडाउन छ । यसका बाबजुद केही छात्रछात्रा तथा युवा मस्तीका लागि समुन्द्री किनारमा निस्किरहेका थिए । उनीहरुले न लकडाउनलाई माने, न त डाक्टरकै सल्लाहलाई । जसकारण सरकारी अधिकारीहरुले उनीहरुलाई कारबाही नै गर्नप¥यो । फ्रान्सका गृहमन्त्री क्रिस्टोफ क्यास्टानेरले यी व्यक्तिहरुलाई मुर्खको संज्ञा दिइरहेका थिए । ‘उनीहरु नियम तोडेर आफूलाई हिरो संझन्छन् । खासमा मुर्ख हुन्,’ उनले भनेका थिए,‘आफैं रोगी हुने र रोग फैलाउने जोखिम बढाइरहेका छन् ।’

फ्रान्स सरकारले समून्द्री किनारमा पार्टी मनाउने यी युवाहरुको हर्कतका कारण ग्रामिण इलाकासम्म कोरोना फैलने खतरा जनाएको थियो, अब त फ्रान्समा कोरोनाले महामारीकै रुप लिइसक्यो । 
त्यसैले पेरिसमा सीन नदीको किनारमा घुम्न रोक लगाइएको छ । त्यस्तै, समुन्द्री किनारको शहर नीसमा रातको समयमा समेत कफ्र्यु छ ।

फ्रान्समा सडकमा तैनाथ प्रहरीले मानिसलाई घरबाट निस्कन रोक लगाउँछन् । लकडाउन तोड्नेमाथि जरिवाना भइरहेको छ । यसका लागि १७ हजार प्रहरी परिचालन गरिएको छ ।  राष्ट्रपति इम्मानुयल म्याक्रोले लकडाउन १५ दिनसम्म बढाउने घोषणा गरेका छन् ।  

इटलीमा लकडाउनका बाबजुद युवाहरुले सपिङ मलमा किनमेल गर्न, रेस्टुरेन्टमा खान र रातीको समयमा पार्टी गर्न छाडेका थिएनन् । यसकारण सरकारले बाध्य भएर सेना परिचालन नै गर्नुप¥यो । यसका बाबजुद पनि कोरोनालाई अहिले नियन्त्रणमा लिनु विकराल चुनौती बनेको छ । स्पेनमा पनि सुरुमा कसैले लकडाउनलाई मानेनन् । जसकारण कोरोना जर्बजस्त फैलियो । अहिले सरकारले हेलिकप्टरमार्फत बाटामा हिडिंरहेका मानिसको निगरानी गर्दैछ, कोही भेटिएमा समातेर कारबाही गर्छ र जरिवाना तिराउँछ । 

अमेरिकाको फ्लोरिडामा पनि महामारी फैलिसक्दा समेत मानिसहरु समुन्द्रमा पार्टी गरिरहेका थिए । अहिले फ्लोरिडाका गर्भनरले समून्द्री किनारमा पार्टी गर्न रोक लगाएका छन् । आइतबार रातिदेखि सरकारले मानिसहरुलाई भेला हुन समेत रोक लगाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप