आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘लकडाउन’ ले फुर्सद : मेटा ह्युमनदेखि हकिंग्सको पुस्तक पढ्ने योजनामा शीर्ष नेता

बुधबार, १२ चैत २०७६, ११ : २६
बुधबार, १२ चैत २०७६

काठमाडौं । अघिपछि दिनमा १० वटा सम्म कार्यक्रम भ्याउने र सयौँको संख्यामा नेता कार्यकर्ता भेटघाट गर्ने राजनीतिक दलका शीर्ष नेताहरु कोरोना सन्त्रास बढेसँगै केही दिनदेखि होम क्वारेन्टाइनमा समय कटाइरहेका छन् ।

सरकारले लक डाउन गर्नुअघिका केहीदिनसम्म फाट्टफुट्ट बाहिर निस्कने गरेका नेताहरु मंगलबारपछि भने ढुक्कले घरमै बसेका छन् । मंगलबारपछि उनीहरुको दैनिकीमा पुरै परिवर्तन आएको छ ।

भेटघाट र बाहिरी कार्यक्रम ठप्प भएपछि नेकपाका र काँग्रेसका शीर्ष नेताहरुले आफ्नो दैनिकीलाई अध्ययन, अध्यापनमा डाइभर्ट गरेका छन् । फुर्सदको समयमा समसामयीक विषयमा चिन्तन मनन गर्ने र रुचिका पुस्तक पढ्ने योजना बनाएको उनीहरुको भनाइ छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबारबाटै खुमलटारस्थित आफ्नै निवासमा बसेर  राजनीतिक दर्शन, साहित्य अर्थशास्त्र र इतिहास विषयका पुस्तक अध्ययन गर्न थालेका छन् ।

‘धेरै पुस्तकहरुपढ्ने योजनामा हुनुहुन्छ । त्यसमा विशेषगगरी राजनीतिशास्त्र नै पर्छ । बाँकी अर्थशास्त्र र साहित्यका पुस्तकहरु पनि पढ्ने योजाना बनाउनु भएको छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘बिहान सामान्य शारिरिक व्ययमपछि उहाँको सेड्युल अध्ययनमै केन्द्रीत बनेको छ । त्यसबाहेक महत्त्वपूर्ण विषयमा टेलिफोन सम्बादमार्फत कुराकानी पनि हुन्छ ।’

त्यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको पनि लकडाउनपछि दैनिकीमा पुरै परिवर्तन आएको छ । नेता खनाल हराबीले लेखेको होमोसेपेन्स नामक पुस्तक अध्ययन गरिरहेका छन् । ‘मान्छे कसरी उत्पति भए ? विकसित कसरी भए भन्ने यो पुस्तकमा रोचक ढङ्गले खुलाइएको रहेछ । अहिले मौका मिल्यो पढ्दैछ’ु, नेता खनालले रातोपाटीसँग भने, ‘अरु पनि धेरै किताव छन् भ्याएजति पढ्ने योजनामा छु ।’

अर्का नेता नेपाल पनि अध्ययनमै व्यस्त छन्, उनका सहयोगी नितेश पौडेलका अनुसार लकडाउनपछि पत्रपत्रिकाको अध्ययनदेखि केही रुचिका पुस्तकहरु अध्ययनमा नेता नेपाल जुटेका हुन् ।

‘कहिलेकाही थोरै समय कम्प्युटरमा पनि बस्नुहुन्छ तर धेरैजसो समय पुस्तक अध्ययनमै समय बितेको छ । पौडेल भन्छन् ‘उहाँ समय भयो भने १२ घण्टा सम्म अध्ययन गर्दा पनि थाक्नुहुन्न।’ मङ्गलबारको लकडाउनपछि नेता नेपालले पढ्न थालेको पुस्तक हो, नेपालका कम्युनिस्ट प्रधानमन्त्रीहरु । जुन पुस्तकका लेखक हुन् ढाकाराम सापकोटा ।

त्यस्तै नेकपाका उपाध्यक्षसमेत रहेका अर्का नेता वामदेव गौतम पनि अध्ययनमै जुटेका छन् । गौतमका स्वकीय सचिव दीपक टमाटाका अनुसार राष्टिय तथा अन्तराष्टि विभिन्न पुस्तकहरु पढ्ने योजना बनाएका छन् ।

अर्का नेता नारायणकाजी श्रेष्ठले पनि लकडाउनको समयलाई अध्ययनमा खर्चिने योजना बनाएका छन् । ‘अरु बेला खासै फुर्सद हुन्न । अव अहिले पढ्नलाई मौका मिल्दा केही कितावहरु पढ्ने योजना बनाएर थालेको छु’, नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले भने, ‘मैले दुईवटा पुस्तक सक्ने योजना बनाएको छु । लेखक दीपक चोपडाको ‘मेटा ह्युमन’ र सदगुरुको ‘डेथ’ पुस्तक अध्ययनमा लागेको छु ।’

नेकपाका नेता मात्रै होइन काँग्रेसका शीर्ष नेता पनि अध्ययनमै बढि केन्द्रित छन् । काँग्रेस सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेल लगायतका नेता अध्ययनमा लागेको उनीहरुका सहयोगीले बताएका छन् । सभापति देउवाका सहयोगी भानु देउवाले सभापति देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुस्तकहरु पढिरहेको बताए । त्यस्तै अर्का नेता पौडेल भने योगप्रसाद उपाध्ययाको वायोेग्राफीदेखि उपनिषद र हकिङ्ग्सको पुस्तक पढ्न थालेका छन् । नेता पौडेल भन्छन्, ‘अहिले योगप्रसाद उपाध्यायको बायोग्राफी पढ्दैछु । त्यसपछि उपनिषद र स्टेफन हकिङ्ग्सको पुस्तक पढ्ने योजनामा छु ।’

त्यसको अवलवा पौडेल अवको अर्थव्यवस्था कस्तो हुने हो भन्ने चिन्तनमा लागेको बताउँछन् । कोरोनाको महामारीले अवको विश्व अर्थतन्त्र के हुने हो भन्ने चिन्ता बढेको भन्दै त्यसबाट कसरी उम्कने भन्नेमा आफुले चिन्तन गरिरहेको उनको भनाई छ ।

शीर्ष नेताहरु मात्रै होइन, युवा पुस्ता र अन्य नेताहरु पनि यसवेला घरमै थन्किन बाध्य छन् । उनीहरु पनि विभिन्न किसिमका पाठ्यपुस्तक पढिरहेको बताउँछन् ।

फुर्सदमा पढेर मात्रै पुग्दैन

नेकपाका नेता तथा राष्ट्रिय सभा सांसद डा. वेदुराम भुषाल नेताहरुले फुर्सदमा मात्रै पढेर नपुग्ने बताउँछन् । पछिल्लो समय राजनीतिकर्मीहरुमा पठन शैली घट्दै गएको भन्दै उनले समाजको नेतृत्व गर्ने मानिसले समय, विज्ञान, प्रविधि र समाज बुझ्न अध्ययन जरुरी भएको बताए । ‘लकडाउनको बेलामा नेताहरु पढ्न थाल्नुभयो राम्रो हो । तर फुर्सदमा मात्रै पढेर हुँदैन । नियमित लेखपढ गर्नुपर्छ भनेर हाम्रो पार्टीमा त निर्णय नै भइसकेको छ । तर कार्यान्वयन हुन सकिरहेको छैन । त्यसैले राम्रो समाज बनाउन राजनीति गर्ने अनि राजनीति गर्ने मानिस नै पढ्दैन भने त्यसले समाजलाई कसरी अभिप्रेरित गर्न सक्छ ?,’ भुषालको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप