मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लकडाउनमा मधेसी नेताहरुको यस्तो छ दैनिकी

बुधबार, १२ चैत २०७६, १४ : १७
बुधबार, १२ चैत २०७६

काठमाडौं । कोरोनाभाइरसका कारण पुरै देश ‘लकडाउन’ छ । सबै मान्छे आ–आफ्नो घरमा छन् । यो खाली समयको सदुपयोग सबैले आ–आफ्नै तरिकाले गरिरहेका छन् । 

कोही परिवारसँग रमाइलो गरिरहेका छन् भने कोही पुस्तकहरु अध्ययन गर्दैछन् । कोही किताब लेख्दैछन् भने कसैले भविष्यका योजनाहरु बनाउँदैछन् ।

खासगरि हरेक दिन अधिकांश समय राजनीतिक भेटघाट, सभा–सम्मेलन तथा बैठकमा व्यस्त रहने नेताहरु भने ‘लकडाउन’ मा परिवार केन्द्रित भएका छन् । अरु बेला घर परिवारलाई समय र साथ दिन नपाएका उनीहरु यतिबेला भने घरमै बसेर परिवारलाई पुरा सयम दिइरहेका छन् । कोही भने घरमै केही अध्ययन तथा अतिरिक्त क्रियाकलाप गरेर समय बिताइरहेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर यतिबेला अध्ययनमा पुरा समय दिइरहेका छन् । उनले बिहान–बेलुका योगा र व्यायाम गर्नुको साथै खाली समयमा किताब तथा पत्रपत्रिका पढ्ने गरेका छन् । 

रातोपाटीसँग उनले भने, ‘घरमा सजग र सचेत छु, खाली समयमा व्यायाम र योगा गर्छु अनि पत्रपत्रिका र किताबहरु पढेर समय पास गर्ने गरेको छु ।’

नेता तथा कार्यकर्ताहरुको बीचमा कुनै छलफल गर्नुपरेमा फोनमार्फत नै गर्ने गरेको उनले बताए ।

ठाकुरले पार्टीका नेता एवं कार्यकर्तालाई फोनबाट कोरानाभाइरसबाट बच्नका लागि घरमै बस्न सुझाव पनि दिने गरेका छन् । सरकारले गरेको ‘लकडाउन’ स्वागतयोग्य रहेको बताउँदै उनले सबैले कोरोना संक्रमण फैलिन नदिनका लागि योगदान गर्नुपर्ने उल्लेख गरे ।

प्रायः राजनीतिक गतिविधिमा व्यस्त रहने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खाली समयलाई नेता तथा कार्यकर्तासँग सम्पर्क मै बिताउने गरेका छन् । देश दुनियाँमा के भइरहेको छ, देशको स्थिति कस्तो भइरहेको छ, त्यसको बारेमा जानकारी लिने र दिने तथा त्यसमा सचेत र सजग रहन सुझावहरु दिने गरेको उनले बताए । विश्वमै फैलिएको यो महामारीबाट देशलाई जोगाउन जनता स्वयं सचेत हुनुपर्ने र सरकारले त्यसमा सहजकर्ताको भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारी पनि यतिबेला परिवारसँग समय बिताइरहेका छन् । सामान्य अवस्थामा पनि आफ्नो दैनिकीमा योगा र व्यायामलाई अनिवार्य गरेका उनले अहिलेको विशेष परिस्थितिमा त्यसलाई थप समय दिने गरेका छन् ।

उनले भने, म अघिपछि पनि व्यायाम, योगा गर्थेँ, बिहानको अधिकांश समय त्यसैमा बित्थ्यो, कहिले काहीँ हतार हुँदा राम्रोसँग समय दिन पाउँदैनथेँ तर अहिले पर्याप्त समय छ, त्यसमा म बढी समय दिन्छु ।’ 

दिनमा अरु बाँकी समय लेखपढ, परिवारसँग छलफल, साथीभाईसँग फोनमा कुराकानी गरेर समय बिताउने गरेको उनले बताए । देशको अवस्था बिग्रन नदिन सरकारले चालेको कदम सराहनीय रहेको भन्दै उनले यसमा जनताले पनि साथ दिइरहेको जनाए । उनले सरकारी निकायबाट आउने निर्देशनानुसार अहिले काम गर्नु बाहेक अरु कुनै विकल्प नरहेको र त्यो नै आफ्नो स्वास्थ्य र समाजका लागि राम्रो हुने बताए ।

राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले यो खाली समयलाई पुराना दस्तावेज तथा कागजातहरु अध्यावधिक गर्नमा प्रयोग गरिरहेका छन् । ‘व्यस्तताका कारण पुराना विधेयक, चिठीपत्र, पुराना केही दस्तावेजहरु अध्ययन गर्न पाइरहेको थिइनँ, ती अहिले खोजी खोजी अध्ययन गरिरहेको छु र काम नलाग्ने चिज मिल्काइरहेको छु,’ उनले भने, ‘यो समय भनेको देश र समाजलाई बुझ्ने समय हो, यसका लागि अध्ययन गर्ने कार्य गर्नुपर्छ ।’

कोरोना भाइरसबाट सचेत रहन नेता तथा कार्यकर्ता एवं आमजनता जो सम्पर्कमा आइरहेका छन्, सबैलाई फोनमार्फत घरमा सुरक्षित रुपमा बस्न आग्रह गरिरहेको बताउँदै उनले अहिले जनता जति सचेत र सजग रहन्छ, त्यति चाँडो यो समस्या समाधान हुने बताए । जनताले देशका लागि योगदान दिने यो नै महत्वपूर्ण समय रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप