जीवनको रङ्ग
बुधबार, १९ चैत २०७६, १९ : १८
अनिता लामा
जीवनको रङ्ग खैरो हुनुहुँदैन भन्नेहरूलाई
मेरो हरियो चेतावनी छ-
धुलो, मैलो, माटोमा
लडिबुडी खेलिरहेका
फुस्रा बच्चाहरूलाई हेर्नू र भन्नू
धुलोको रङ्ग कस्तो हो ?
छिँडीको चिसो लिपेको
उनीहरूको आङको रङ्ग कस्तो हो ?
मलखाद र स्याउला पतिङ्गरसँग
पसिना मुछिरहेका गोठका मालिकलाई सोध्नु
गोबरको रङ्ग कस्तो हुन्छ ?
सेतो तरलतालाई दूध मात्रै देख्नेले
कहिले देखेको हुन्छ र
वस्तुले खाने कुँडो, पराल ?
कहिले अनुभूत गरे होलान् र
दूध दुहुने हातको स्पर्श !
माटोको गरा-गरामा
जीवनको जरा गाडिएका किसानलाई हेर्नू
र सोच्नु :
जीवनको रङ्ग हरियो हुन्छ भन्ने स्वामित्व कहाँ रहेछ ?
१७ औं तलाको आलिशान रूफटपमा
हावा खाइरहेका पैसाका मालिकलाई सोध्नु
जीवनको रङ्ग हरियो कि पैसाको ?
हो, म खैरो जिन्दगीलाई असिम प्रेम गर्छु ।
(२०७६ चैत्र १९)