प्रवासी नेपालीहरुको देश खोइ ?
बसाइँ हिँड्नेको ताँतीले
बस्नेको मन रुवाउँछ,
लाखौंका लागि उजाड छ यो देश
मुट्ठीभरलाई त स्वर्ग छ
–जे.बी. टुहुरे
यस्तै क्रान्तिकारी गीत गाउनेहरु सत्तासीन भएपछि उनीहरुको मन मर्छ कि शासकीय मनमा फेरिन्छ ? अरुका दुःख र पीडामा उनीहरुको मन रुन्छ कि बसाइँ सरेर हाइसन्चो भएकाले मुठ्ठीभरको स्वर्ग निर्माणमै जुट्छ ?
धेरैलाई अचम्म लाग्न सक्छ, संकटको बेला सत्तासीनहरुको कठोर मन देखेर । उनीहरुको मन रोएको देखिँदैन, देश खोजेर आउने प्रवासीहरुको ताँती देखेर पनि । आफू जन्मिएको देशले बाँच्ने बन्दोबस्त गर्न नसके पनि कम्तीमा मर्ने ठाउँ त देला नि भन्दै आएका गरीखानेहरुको भीडले स्वदेशको ढोका ढकढक्याएको देखेर कम्युनिस्ट शासकहरुको मन पनि पग्लेको पाइएन ।
गरीखाने जनताले धेरै खोजेको नै होइनन्, राज्य र सरकारको त आस गरेका होइनन्, नागरिक हुनुको हक–अधिकार पनि मागेका होइनन् । जन्मिएको देशमा फर्केर मर्न पाउँ भन्दा पनि सीमा–नाका बन्द गर्ने र यथास्थान बस्ने उर्दी जारी गर्ने सरकार उनीहरुको अनुनय–विनय र रोदन सुन्न पनि तयार भएन ।
मन्त्रीहरुका प्रधानको मन–मस्तिष्कमा आफ्नो घर नभएकाहरु कहाँ ‘आइसोलेसन’मा बस्छन् भन्ने प्रश्न समेत छैन भने परदेश बसेकाहरु कसरी बाँच्छन्, कहाँ कुकुरसरी मर्छन्, कहाँ हेक्का हुनु ? सहरमा घरबार नभएका देशभित्रका जनता टाउकोले टेकेर रातारात कसरी घर जाँदैछन्, कुनै मतलब छैन । कुनै तयारी र संवेदनाबिना ‘लकडाउन’ घोषणा गर्ने राज्य–संचालकलाई आफ्नै जीर्ण शरीरको उपचार गर्दैमा फुर्सद छैन, कहाँ विदेशमा बस्ने लाखौंलाख घरबारविहीन मजदुरको चासो र चिन्ता लिन सकिन्छ र ?
सरकार–प्रमुखले बालुवाटारको बेडबाट आफ्ना जनतालाई आदेश दिएका छन्– ‘म त घरबाट सरकार चलाइरहेको छु, यहाँहरु पनि घर–घरमै बस्नुहोला ।’ घर भएका जनता त घरमै ‘नजरबन्द’मा बसे, घर नभएकाहरु कहाँ कैदी भएर बस्ने ? नजरबन्दमा बस्न घर चाहिएझैं कैदी हुन पनि त आफ्नो भन्ने ठाउँ चाहियो नि हैन र ? अझ आफ्नो गाउँ सहर र देशबाट टाढा टाढा खनिखोस्री खाइरहेका प्रवासीहरुको हकमा मर्नका लागि भए पनि त स्वदेशको माटो आवश्यक भयो कि भएन प्रधानमन्त्रीज्यू ?
मन्त्रीहरुका प्रधानको मन–मस्तिष्कमा आफ्नो घर नभएकाहरु कहाँ ‘आइसोलेसन’मा बस्छन् भन्ने प्रश्न समेत छैन भने परदेश बसेकाहरु कसरी बाँच्छन्, कहाँ कुकुरसरी मर्छन्, कहाँ हेक्का हुनु ? सहरमा घरबार नभएका देशभित्रका जनता टाउकोले टेकेर रातारात कसरी घर जाँदैछन्, कुनै मतलब छैन । कुनै तयारी र संवेदनाबिना ‘लकडाउन’ घोषणा गर्ने राज्य–संचालकलाई आफ्नै जीर्ण शरीरको उपचार गर्दैमा फुर्सद छैन, कहाँ विदेशमा बस्ने लाखौंलाख घरबारविहीन मजदुरको चासो र चिन्ता लिन सकिन्छ र ? नेपाल कम्युनिस्ट पार्टी डबलका प्रथम अध्यक्षको ‘जनता’को घेरामा छिमेकी मुलुकमा दश नङ्ग्रा खियाएर स्वदेशी शासकहरुलाई पाल्ने मनुवाहरु पर्दैनन् ।
कोरोनाको कहरसँगै बस्ने, खाने, काम गर्ने मात्रै होइन, बाँच्ने पनि ठेगाना नभएर, कोरोना, साहु र शासकहरुबाट लखेटिएर उनीहरु नेपालको सीमासम्म प्रत्येक क्षण मर्दै–मर्दै आइरहेका छन् । अब मर्नै परे पनि आफ्नै देशमा मरुँला भन्ने अठोटसाथ हिँड्दै आएका श्रमिकहरुका नेपालको सीमा–बन्द छ, दशगजा पार गर्न पनि लाठी खानुपर्ने अवस्था छ । र, ज्यानको माया मारीकन महाकाली नदीमा हाम्फाल्नेहरुलाई पनि देशद्रोहीलाई भन्दा बेसी बेइज्जत गर्दै, नाङ्गै बजार घुमाएर कैद गरिने स्थिति छ ।
पहिले ‘मुग्लान’ भनिने भारतमा लाहुरे भएका वा गरीखान भासिएका मानिसलाई ‘जहाँको तहीँ बस’ भन्नुको अर्थ ‘कुहिएर मर्’ भन्नु बाहेक के होला ? नेपाली प्रम ओलीले जस्तै भारतीय प्रम मोदीले पनि जनतालाई कुनै चेतावनी र समय नदिईकन लकडाउन गर्दा आज करोडौं श्रमिकको बेहाल भइरहेको छ । घरमा बसिखान सक्नेलाई मात्रै ध्यानमा राखेर लकडाउन गरिँदा कोरोनाले भन्दा भोकमरी, बिमारी र हजारौं किमीको पैदल यात्राले भारतीय श्रमिकको हत्या गर्न थालेको छ, जसबाट नेपाली प्रवासी झन् बेसी प्रताडित भएका छन् । अहिले भारतीय श्रमिकहरु सँगसँगै मारिँदैछन् एउटै नियति भोगेका निमुखा प्रवासी नेपालीहरु पनि, जोसँग खनीखोस्री खाने पाखुरा र नेपाली नागरिकता बाहेक केही छैन । उनीहरु जिउँदै मर्दैछन्– ‘जहाँ बसिरहेको हो, त्यहीँ सुरक्षित बस’ भन्ने नेपाल सरकारको बेवास्तापूर्ण आदेशबाट ।
कोरोनाको कहरसँगै बस्ने, खाने, काम गर्ने मात्रै होइन, बाँच्ने पनि ठेगाना नभएर, कोरोना, साहु र शासकहरुबाट लखेटिएर उनीहरु नेपालको सीमासम्म प्रत्येक क्षण मर्दै–मर्दै आइरहेका छन् । अब मर्नै परे पनि आफ्नै देशमा मरुँला भन्ने अठोटसाथ हिँड्दै आएका श्रमिकहरुका नेपालको सीमा–बन्द छ, दशगजा पार गर्न पनि लाठी खानुपर्ने अवस्था छ । र, ज्यानको माया मारीकन महाकाली नदीमा हाम्फाल्नेहरुलाई पनि देशद्रोहीलाई भन्दा बेसी बेइज्जत गर्दै, नाङ्गै बजार घुमाएर कैद गरिने स्थिति छ ।
साँच्चै भन्ने हो भने उनीहरुका परिभाषा र सिमानामा प्रवासीहरुका लागि कुनै ठाउँ नभएको हो ? के उनीहरुका लागि देश मरिसकेको हो ? देश मुठ्ठीभरका लागि, मुठ्ठीभरको मात्रै भएको हो ? के श्रमिकहरुको देश छैन, श्रम चुस्नेहरुको मात्रै देश छ ?
प्रवासी श्रमिकलाई बाँच्न पनि नदिने, मुन्ट्याउँदै पर–देश धकेल्ने, अब त मर्न पनि नदिने यो देशमा सरकारको अस्तित्व हुँदै नभएको होइन, तर उसलाई प्रवासी श्रमिकको रगत–पसिना–आँशुबाट बनेको रेमिट्यान्स बटुल्नबाट फुर्सद मिलेकै छैन । कोरोना आतंकको निहुँमा त्यही रेमिट्यान्सबाट नाफादायक सामान किन्न र लेनदेन गर्नमै सरकार बेफुर्सदी छ । उसलाई सीमामा रोइरहेका नेपालीका लागि ‘क्वारेन्टिन’ बनाउनमा भन्दा आसेपासे र व्यापारी पोस्नमा बेसी रुचि छ । उसलाई नेपाल छिर्न चाहने स्वदेशीहरुको व्यवस्थापन, सुरक्षा र आत्मसम्मानभन्दा आलोचकहरुको मुख थुन्न, भावनामा नबग्न भन्दै चेताउन, ‘गिद्ध’को रुपमा आरोपित गर्दै बस्नमा आनन्द छ ।
साँच्चै भन्ने हो भने उनीहरुका परिभाषा र सिमानामा प्रवासीहरुका लागि कुनै ठाउँ नभएको हो ? के उनीहरुका लागि देश मरिसकेको हो ? देश मुठ्ठीभरका लागि, मुठ्ठीभरको मात्रै भएको हो ? के श्रमिकहरुको देश छैन, श्रम चुस्नेहरुको मात्रै देश छ ?
उनीहरु आफ्नै देशका हुन् भने, उनीहरु देशका ‘नागरिक’ हुन् भने, उनीहरुका नागरिकताको कुनै अर्थ र मूल्य छ भने ससम्मान स्वदेशमा आउन दिने, बसाउने, क्वारेन्टाइनमा राखेर उपचार र खानाको बन्दोबस्त गर्ने काममा कुनै पनि देशको सरकार पछि पर्दैन । यति पनि गर्न सक्ने सरकार छैन भने उनीहरुले कवि दुर्गालाल श्रेष्ठले जस्तै सोध्न सक्छन्– ‘मलाई पनि अति माया लाग्छ मेरो देशको, तर मैले देखिन खै देश मेरो ?’