यसकारण हटाइयो कालीमाटीको खुद्रा तरकारी पसल
काठमाडौं । कालीमाटी तरकारी र फलफूलको थोक तथा खुद्रा बजारको प्रमुख केन्द्र हो । काठमाडौंका अधिकांश खुद्रा पसलहरुमा यही स्थानबाट तरकारी तथा फलफूलको निर्यात हुन्छ र त्यही तरकारी तथा फलफुल भान्सा–भान्सामा पुग्छ ।
कालीमाटी मुख्यतः थोक बजार भएपनि कालीमाटी बाहिर रहेका खुद्रा पसलहरुले थोरै मात्रामा तरकारी लैजानेहरुलाई पनि बिक्री वितरण गर्ने गरेको थियो ।
तर शुक्रबार मात्रै कालीमाटी बजार विकास समितिले लकडाउनको अवधिभर खुद्रा पसल हटाउने निर्णय लियो । किनभने खुद्रा बजारमा मानिसहरुको भीड जम्मा भएको र त्यसले लकडाउनको उल्लंघन भएको भन्दै समितिले खुद्रा पसल बन्द गराउने निर्णय लियो ।
खुद्रा पसल हटाउने प्रस्ताव सुरुमा महानगरीय प्रहरी वृत्त कालीमाटीले गरेको थियो । तरकारी किन्न आएको भन्दै बिहान र साँझ सर्वसाधरणको भीड जम्मा हुन थालेपछि त्यसले जोखिम निम्त्याएको भन्दै प्रहरीले करिब एक साता पहिले नै यो प्रस्ताव राखेको थियो । त्यसपछि शुक्रबार जनप्रतिनिधि, प्रहरी, सेना र बजार विकास समितिका पदाधिकारीहरुबीच भएको छलफलपछि मात्रै शनिवारबाट खुद्रा तरकारी पसल हटाउने निर्णय भएको थियो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रुगम कुँवरका अनुसार मानिसहरु तरकारी किन्ने बाहानाले बाहिर घुम्न निस्कने गरेको र त्यसले समस्या निम्त्याएको भन्दै लकडाउनको अवधिभर खुद्रा पसल हटाउन समितिलाई आग्रह गरिएको थियो । त्यसपछि भएको छलफलले लकडाउनको अवधिभर कालीमाटीको खुद्रा तरकारी पसल बन्द गर्ने निर्णय गरेको हो ।
कालीमाटी प्रहरीका अनुसार मानिसहरुलाई घरमा बस्दा बस्दा वाक्क लागेर हुनसक्छ मानिसहरु दुईवटा कागती, एउटा मुला, अलिकति धनियाँ, हरियो प्याज वा लसुन आदि किन्न पनि बजार आउने गरेका थिए ।
जसका कारण यदि कुनै व्यक्ति संक्रमित भएको अवस्थामा उनले धेरैलाई संक्रमित बनाउन सक्ने जोखिम भएको कारण कालीमाटीको खुद्रा तरकारी बजार बन्द गराउन आग्रह गरिएको थियो ।