नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्यो
काठमाडौं । नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएकोमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको छ। ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ । ती पुरुष दुबईबाट नेपाल आएका थिए ।
मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा पनि कोरोना भाइरस पुष्टि भएको छ ।
यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको छ ।
थप तीन जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । त्यसमा एक जना निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोनाको संक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आगामी चैत २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।