मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्पार्क कार – काठमाडौं उपत्यकाभित्र कारभाडा सेवा

शुक्रबार, १६ भदौ २०७४, १३ : १८
शुक्रबार, १६ भदौ २०७४

मध्यरातमा बिरामी परेकालाई अस्पतालसम्म कसरी पुर्याउने ? भन्नुहोला सम्बन्धित अस्पतालबाट एम्बुलेन्स मगाउने । एम्बुलेन्स अर्कै बिरामी लिन गएमा के गर्ने ? परेन आपत  ।

आफन्तको भोजमा काठमाडौंको बूढानीलकण्ठ पुगेकाले रातसाँझ घर (भक्तपुर) फर्कनैपर्ने बाध्यता भए कसको सहयोग लिने ? निजी सवारीसाधन नभएका लागि योजस्तो अप्ठ्यारो के होला ? 

निजी सवारीसाधन नभएका काठमाडौं उपत्यकावासीका लागि यो समस्या नयाँ होइन । उनीहरूले यस्ता समस्या वर्षौंदेखि झेल्दै आएका छन् । त्यही समस्या दृष्टिगत गर्दै ओखलढुंगाका रोशन घिमिरेले स्पार्क कारमार्फत काठमाडौं उपत्यकामा चौबीसै घन्टाका लागि कार सेवा सुरु गरेका छन् । 

काठमाडौं उपत्यकाको जुनसुकै ठाउँ गए पनि भाडा एक हजार रुपैयाँ तोकिएको छ । तीन महिनादेखि दिन थालेको सेवाले निजी सवारीसाधन नभएका, सवारीसाधन भए पनि चालक बिदामा बसेका वा सवारीसाधन चलाउन मन नलागेका सम्बन्धित सवारीधनीलाई हाइसन्चो भएको छ । त्यतिमात्रै होइन, निजी सवारीसाधन नहुनेले बिहे, भोज वा पार्टीमा राति अबेरसम्म अलमलिएर आनन्दले घर फर्कन पाउने भएका छन् ।

आधारातमा बिरामी अस्पताल पुर्याउन नसक्नेले त्यत्तिकै सुविधा पाएका छन् । नगरुँ भन्दाभन्दै मादक पदार्थ खानेले घर पुग्नैपर्ने बाध्यता भए यही सुविधा लिए सुरक्षित तरिकाले गन्तव्यमा पुग्न सक्छन् । 

५० चालक र ३० सवारीसाधन चौबीसै घन्टा उपलब्ध रहेकाले सेवा लिन चाहनेले स्पार्क कारको कल सेन्टरमा फोन गरेर सेवा लिन चाहने व्यक्ति रहेको र जान चाहेको ठाउँ भने पुग्छ । सेवाग्राहीले स्पार्क कारको फेसबुकमार्फत सेवा बुक गर्न सक्छन् । भाडा तोकिएकाले यात्रु ठगिन पाउँदैनन् । 

‘पब्लिक लोकल भेहिकलले दिन नसकेको, सुधारिएको, व्यवस्थित र सुविधासम्पन्न सेवा दिने काम थालेका हौं,’ स्पार्क कार प्रमुख कार्यकारी अधिकृत रोशन घिमिरेले भने, ‘कन्सेप्ट बेचेर खाने जमाना छ । हामीले प्रवाह गरेको सेवा संसारमै नौलोजस्तो लाग्छ ।’

‘सेवा लिनेले सोचेभन्दा राम्रो प्रतिक्रिया दिएका छन्,’ स्पार्क कार प्रमुख कार्यकारी अधिकृत घिमिरे भन्छन्, ‘सेवाग्राही अत्यन्तै खुसी छन् । यही सेवाबाट प्रभावित भएर गायक रामकृष्ण ढकालले स्पार्क कारले दिने सेवाबारे स्वस्फूर्त प्रचार÷प्रसार गर्दै आएका छन् ।’ गायिका कोमल वली, प्रहरी अधिकृत, कर्पोरेट हाउससम्बद्ध कर्मचारीदेखि काठमाडौं उपत्यकाका मध्यमस्तरका सेवाग्राहीले सेवा लिँदै आएका छन् । तर, निम्नवर्गका सेवाग्राहीलाई समेत लक्षित गरेर सेवा प्रवाह गरिएको उनले प्रस्ट्याए । 

सेवा नै धर्म हो भन्ने नेपाली उखान प्रचलित छ । उल्लिखित उखान आत्मसात् गर्दै कारले यो सेवा थालेको हो । ‘चाँडै कमाइहाल्ने सोचले सेवा सुरु गरेका होइनौं । सेवाभावले काम थालेका हौं,’ समाजशास्त्रमा स्नातकोत्तर उनले नढाँटी भने, ‘सेवासँगै कम्पनीको ब्रान्ड स्थापित गर्दै छौं । यो केवल सुविधामात्रै हो । अन्य सेवाबाट स्पार्क कारले खर्च मेन्टेन गर्छ ।’ 

स्पार्क कारले चालक र सवारीसाधनसमेत भाडामा उपलब्ध गराउँदै आएको छ । कारले सेवाग्राहीलाई चाहिए एक हजार रुपैयाँमा एक दिनका लागि चालक उपलब्ध गराउँछ । उपत्यकाबाहिरको तीर्थयात्रा, विवाह, पार्टी तथा भ्रमणका लागि समेत सवारीसाधन उपलब्ध  गराउँदै आएको उसले निजी, सरकारी, गैरसरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, कूटनीतिक नियोगसम्बद्धलाई समेत सेवा दिँदै आएको छ । 

चालक र सवारीसाधन भाडामा पाइयो भन्दै आँखा चिम्लेर सुविधा लिनु सेवाग्राहीका लागि घातक हुन्छ । ‘चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) छ कि छैन । ऊ त्यहाँसम्म जान योग्य हो कि होइन भन्ने थाहा पाउनुपर्छ,’ उनले सुझाए, ‘हामी चालकमात्रै होइन, सवारीसाधन अप टु डेट गरेर यात्रुको यात्रा सुरक्षित गराउँछांै ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप