बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गैर आवासीय नेपाली संघमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना  गर्नेबारे बहस शुरु

शुक्रबार, १६ भदौ २०७४, १३ : ३७
शुक्रबार, १६ भदौ २०७४

काठमाडौँ । गैर आवासीय नेपाली संघले आठौं विश्व सम्मेलनबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने सोच बनाएको छ । कार्यकारी अधिकार अध्यक्षमा मात्रै निहित रहेकोले अधिकारको बाडफाँडका लागि उक्त प्रावधान ल्याउन लागिएको बताइएको छ । 

वर्तमान विधान अनुसार अध्यक्षको अधिकार निश्चित गरिए पनि अन्य पदाधिकारीको काम, कर्तव्य र अधिकारमा किटान गरिएको छैन । आगामी अधिवेशनले नयाँ पद सिर्जना गर्नुका साथै अधिकार बाडफाँडको विधान ल्याउने विषयमा छलफल भइरहेको संघका महासचिव डा. बद्री केसीले जानकारी गराए ।

अध्यक्षले अन्य पदाधिकारीका निर्णय तथा कार्यमा बन्देज तथा हस्तक्षेप लगाउन सक्ने भएकोले सामूहिक निर्णय प्रक्रियामा बल पुर्याउन उपाध्यक्ष, महासचिव र सचिवको अधिकार सुनिश्चित गर्न विधान परिर्माजन गर्नुपर्ने प्रति केसीले औंल्याए । 

गैर आवासीय नेपाली संघले सिर्जना गर्ने वरिष्ठ उपाध्यक्षको प्रावधानलाई नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष सरह हुनेबारे संघमा बहस चलेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्न सक्ने विधान छ । संघका महासचिव केसीले बरिष्ठ उपाध्यक्ष अघिल्लो कार्यकालमा स्वतः अध्यक्ष हुनेबारे आठौँ विश्व सम्मेलनले निर्णय गर्न सक्ने संकेत गरे ।

पदाधिकारीसहित एक सय २३ जना सदस्यता रहेको संघका विश्वभरी ७६ देशमा संजाल रहेको छ भने आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा संघको विश्व सम्मेलन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप