सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोभिड–१९ बाट स्वास्थ्यकर्मीहरुको सुरक्षाको पक्षमा आवाज उठाउने बेलायती डाक्टरको निधन

शुक्रबार, २८ चैत २०७६, १९ : २५
शुक्रबार, २८ चैत २०७६

बेलायत, नामै सुन्दा पनि हाम्रो मानसपटलमा अत्यन्तै विकसित देशको तस्विर देखापरिहाल्छ । तर त्यही अत्यन्तै विकसित देश र कुनैबेला कहिल्यै सूर्य अस्त नहुने साम्राज्यको उपमा पाएको बेलायतमा पनि सुरक्षाका सामग्रीहरु नपाएकै कारण स्वास्थ्यकर्मीहरु अत्यन्तै जोखिमपूर्ण अवस्थामा उपचारमा जुट्नुपरेको करुण कथा छ्याप्छ्याप्ती प्रकाशमा आउन थालेका छन् ।

त्यसै करुणकथामा अर्को एउटा दुःखद अध्याय पनि थपिएको छ ः त्यो हो, डा. अब्दुल चौधरीको मृत्यु । डा. अब्दुल चौधरी तिनै डाक्टर हुन्, जसले कोरोनाभाइरसको डरलाग्दो संक्रमणसँग जुघ्नका लागि बेलायती प्रधानमन्त्रीसमक्ष स्वास्थ्यकर्मीहरुलाई सुरक्षित पोशाक तथा उपकरणहरु उपलब्ध गराउनका लागि सार्वजनिक अपील गरेका थिए । तर दुःखको कुरा, स्वास्थ्यकर्मीहरुको पक्षमा सार्वजनिक रुपमै आवाज बुलन्द गर्ने तिनै डाक्टरको मृत्यु कोरोनाभाइरसकै संक्रमणका कारण भएको छ ।

डा. चौधरीले अग्रमोर्चामा डटेर कोरोनाभाइरसका विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि उपलब्ध सुरक्षा पोशाक तथा उपकरणहरु पर्याप्त नरहेको र त्यसैकारण उनीहरु अत्यन्तै जोखिममा रहेको चेतावनी दिएका थिए ।

५३ वर्षीय चौधरी बेलायतको रोमफोर्डस्थित क्विन एलिजावेथ हस्पिटलमा युरोलोजी विभागमा कन्सल्ट्यान्टका रुपमा कार्यरत थिए । बंगलादेशबाट आप्रवासन गरी बेलायत पुगेका डा. चौधरीले त्यहाँ २० वर्ष काम गरेका थिए ।

करिब १५ दिन अस्पतालमा उपचारको क्रममा बिताएका डा. चौधरीको अस्ति बुधबार निधन भएको थियो ।

डा. चौधरीले गत मार्च १८ का दिन आफ्नो फेसबुक पोष्टमा बेलायती प्रधानमन्त्री जोन्सनलाई सिधै सम्बोधन गर्दै ‘बेलायतका सबै स्वास्थ्यकर्मीहलाई पीपीई उपलब्ध गराउन अपील गर्दै तत्कालै सबै मेडिकल स्टाफहरुको फास्ट ट्र्याक टेस्ट गर्न पनि आव्हान गरेका थिए ।

संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरुले सहयोग गर्न कोशिश गरिरहेको उल्लेख गर्दै उनले लेखेका थिए, ‘तर हामी पनि अरुहरु जस्तै मानवाधिकारसहितका मानिसहरु नै हौं र अरु जस्तै यो संसारमा आफ्ना परिवार र बालबच्चाहरुसँग बाँच्न चाहिरहेका छौं ।’

स्वास्थ्यकर्मीहरुलाई दिइएको नैतिक समर्थनको प्रशंसा गर्दै उनले भनेका थिए, ‘हामीले पनि उपयुक्त पीपीई र उपायहरुको प्रयोग गर्दै हामी आफैंलाई, आफ्ना परिवार र बालबच्चाहरुलाई यो विध्वंशक विश्व संकटबाट जोगाउनुपर्छ ।’

‘म आशा गर्छु, हामीले हाम्रो चिकित्सीय अभ्यासलाई जोगाउनका लागि पनि यो न्यूतनतम समर्थन पाउनको लागि योग्य छौं ।’ उनले लेखेका थिए ।

अलजजिरामा प्रकाशित सामग्रीकाे आधारमा रातोपाटी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप