आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोना भन्दा भोकको भाइरस चर्को : राजधानीदेखि पैदलै बर्दियासम्मको यात्रा (भिडियोसहित)

शनिबार, २९ चैत २०७६, ०९ : ५१
शनिबार, २९ चैत २०७६

न खाने ठेगान, न कुनै बस्ने बासको ठेगान । शुक्रबार बिहानदेखि भक्तपुरको राधे–राधेबाट ११ भाइले एउटा अनिश्चित यात्रा सुरु गरेका छन् । 

उनीहरुको अन्तिम गन्तव्य बर्दिया हो । कोही दैलेखसम्मका पनि छन् । 

उनीहरुको अनिश्चित यात्रा भक्तपुरको राधेरोधे, कोटेश्वर, बल्खु हुँदै अघि बढेको छ । झन्डै ५ सय ४५ किलोमिटर दुरी पैदलै पैदल पार गर्ने उनीहरुको अठोट छ । 

बर्दियाको बारबर्दिया नगरपालिकाका ८ जना र ३ जना दैलेखका मजदुरहरु अहिले खाने कुरा सकिएपछि घर बनाइरहेको ठाउँको बस्ने टहरो छोडेर लामो यात्रामा निस्किएका हुन् । 

लकडाउनको अठारौं दिनसम्म पनि कुनै राहत नपाएको उनीहरुको दुखेको थियो । खाने कुराको अभावमा भोकमरी सहनु भन्दा हिँडेरै बर्दिया पुग्ने उनीहरुले योजना बनाए । 

सरकारले लकडाउन प्रभावित श्रमजिवी मजदुर बर्गलाई स्थानीय तहबाट राहत उपलब्ध गराउने घोषणा त ग¥यो । तर त्यसमा पनि टाठाबाठाकै हालीमुहाली छ । मजदुर भएको प्रमाण खोज्ने पद्धतीले उनीहरुको हातमा एक गेडो चामल परेन । 

राहतका लागि नाम लेखाउन खोज्दा नागरिकताको प्रमाणपत्र खोजियो । साथै काम गरेको घरधनीले पनि सिफारिस गर्नुपर्ने भनेपछि राहत नपाएको उनीहरुले बताए । घरधनीको सिफारिस लिन घरधनीबारे उनीहरुलाई थाहा थिएन । 

बिहान ९ बजे जे भएको खानेकुरा खाएर भक्तपुरको राधे राधेबाट उनीहरु लाइन लागेर कोटेश्वर तर्फ अघि बढे । 

ललितपुरको सातदोबाटो आइपुग्दा बिहानको साढे ११ बजेको थियो । 

सातदोबाटोमा पोका पन्तुरा बोकेर हिँडिरहेका उनीहरुको समूहलाई एक सशस्त्र प्रहरी जवानले बाटोमा रोके । उनले भने–‘एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइदैन भन्ने थाहा छैन । तपाईंहरु यही बस्नुस् ।’ 
उनले झन्डै १५–२० मिनेट उनीहरुलाई घाममा उभ्याए । 

‘तपाईंहरुलाई जान दिन नहुने थियो तर अलि ग्याप राखेर मात्र हिँड्नुस्’ प्रहरीले यसो भनेपछि फेरि उनीहरुको पाइला अघि बढ्यो । 

ठाउँ ठाउँमा प्रहरीले एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाने भन्दै १५ मिनेट देखि आधा घण्टा उभ्याइदिने गरेको उनीहरुको दुखेको थियो । प्रहरीले यसरी रोकिदिँदा हिँडाइको गति कम भएको उनीहरुले बताए । 

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ३ साता लामो लकडाउन जारी गरेपछि शहरी क्षेत्रमा रहेका मजदुर त्यसको चपेटामा परेका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको एकातिर काम नपाउँदा कमाउने माध्यम हराएको छ भने अर्कोतिर खाने कुरा सकिँदा समस्यामा छन् । घर जाँउ भने सवारी ठप्प छ । 

अन्तिम विकल्पको रुपमा सयौँ किलोमिटरको यात्रामा हिड्न बाध्यताले डोहो-याएको छ ।

भक्तपुर देखि ललितपर र काठमाडौं हुँदै बर्दियासम्मको यात्रामा रहेका मजदुरहरु अधिकांश बर्दियाको बारबर्दिया गाउँपालिकाका छन् । 

यसरी यात्रामा निस्किएका मजदुरहरु मानबहादुर गुरुङ, दलबहादुर गुरुङ, नन्दु गुरुङ, नरबहादुर गुरुङ, सुशील जिसी, मदन बस्नेत, बलबहादुर बलामी, करण गुरुङ, मानबहादुर घर्तीमगर, रमेश गुरुङ  छन् । 

उनीहरु राधे राधेमा घर बनाइरहेका थिए । अचानक लकडाउन भएपछि उनीहरुको काम पनि रोकियो । ११ गतेदेखि १ साताका लागि लकडाउन भएपछि १८ गते सडक सञ्चालन होला र घर जाँउला भन्ने सोचाईमा रहेका उनीहरु लकडाउनको समय थप भएपछि अप्ठेरोमा परे । सरकारले फेरि अर्को साता पनि थप्दै बैशाख ३ गतेसम्म लकडाउन कायम गरेपछि उनीहरुमा अझै थपिने हो कि भन्ने त्रास बढ्यो । 

लकडाउनको १८ औं दिनसम्म घर बनाउने ठाउँको टहरोमा बसे । खर्च र खानेकुरा सकिन लागेपछि उनीहरुले अन्तिम विकल्पको रुपमा पैदलै घर जाने निर्णय लिए । 

सरकारले शुक्रबार र शनिवार घर जाने निर्णय गरेको सुनेपछि उनीहरु खुसी भएको तर बेलुका फेरि हैन भन्ने कुरा आएपछि निराश भएको सुशील जिसीले बताए । 

बैशाख ३ गते लकडाउन खुल्ने भनेपनि उनीहरुलाई पत्यार छैन । लकडाउन अझै लम्बियो र गाडी चलेन भने काठमाडौं भोकभोकै मर्नुभन्दा घरमा खोलेपानी खाएर भएपनि बाँचिने उनीहरुले सुनाए । 

कमाएको पैसा पनि खाएर सकिन लागेको र घरमा पनि आमाले चिन्ता लिएपछि हिँडेरै घर जानुको विकल्प नभएको नन्दु गुरुङले बताए । 

घर बनाउने मजदुर मानबहादुर जिसी खुट्टा खोच्याँउदै हिँडिरहेका थिए । उनको हातमा एउटा झोला थियो । झोलामा उनले एउटा ब्ल्याङ्केट बोकेका रहेछन् । उनले भने–‘जहाँ पुग्दा रात पर्छ त्यही ओडेर सुत्नुपर्छ ।’

उनीहरुले प्रतिनिधिसभा तथा स्थानीय तहको निर्वाचनमा गाउँ गएर भोट पनि हालेका थिए । अधिकाशंलाई कसले चुनाव जित्यो र आफ्नो जनप्रतिनिधि को हुन पनि थाहा छैन । 

संकटको बेलामा जनप्रतिनिधि गुहारे तपाईंहरुलाई केही सहयोग मिल्थ्यो कि भन्ने प्रश्नमा उनीहरु अकमकाई रहे ।  

बर्दिया हिँडेका टोलीका एक सदस्य मदन बस्नेतले आफ्नो स्थानीय तहमा दुर्गाप्रसाद चौधरी प्रमुख रहेको र उनलाई समस्या सुनाउन वडा कार्यालयमा नम्बर मागेको बताए ।  

उनले बर्दियाका जनप्रतिनिधि तथा नेताहरुलाई बीच बाटो कतैबाट घरसम्म पुग्ने व्यवस्था गरिदिए आभारी हुने बताए । 

सरकारले घरसम्म जानका लागि बाटो खोलिदिएको भए सहज हुने बताउँदै पैदल हिँड्दा पनि बाटोमा प्रहरीले नरोकिदिए छिटो हिँड्न पाइने सुनाए ।

यसअघि पनि ३०–३२ जना बर्दियाका मजदुर पैदलै घर हिँडेकोले आफूहरु पनि घर पुग्नेमा उनीहरुको भरोसा छ ।  

हेर्नुहोस् भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप