सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा तीन जना भारतीयमा कोरोनाभाइरसको संक्रमण

उनीहरुसँगै मस्जिदमा रहेका दुई दर्जन बढीलाई क्वारेन्टाइनमा राखियो
आइतबार, ३० चैत २०७६, १० : २०
आइतबार, ३० चैत २०७६

पर्साको वीरगञ्जस्ति नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन जना भारतीय नागरिकलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा उनीहरुको नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्ज महानगरपालिका-2 छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड-१९ को  संक्रमण देखिएको छ ।

उत्तर प्रदेशका वासिन्दा भनिएका उनीहरु वीरगञ्ज वार्ड नम्बर-२ स्थित छप्कैया मस्जिदमा बस्दै आएका थिए । उनीहरुमा कोरोनाभाइरसको लक्षण देखिएपछि वडा २ अध्यक्ष अब्बास मियाँले बिहीबार १ बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याएका थिए ।  

पहिलो रिपोर्ट पोजेटिभ आउने बित्तिकै प्रहरीले वीरगन्ज २ छपकैयास्थित श्रीराम हल अगाडी मेनरोडमा रहेको मस्जिदबाट दुई दर्जनभन्दा बढी मुस्लिम धर्मप्रचारकलाई नियन्त्रणमा लिई छप्कैया सिद्धार्थ माविको क्वारेन्टाइनमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले मस्जिदमा बसेका २६ जना मुस्लिम धर्मका प्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो । प्रहरीले नियन्त्रणमा लिएका अधिकांश भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका हुन् । मस्जिदमा विगत केहि दिनदेखि बस्दै आइरहेको अवस्थामा प्रहरीले शनिबार बेलुका नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो । 

कोरोना संक्रमण हुन सक्ने आंशकामा उनीहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पर्नेरुले बताए । बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिद गरी २१ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा ‘स्क्रीनिङ’ का लागि आएका थिए । चिकित्सकले उनीहरूको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौँडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पठाएको थियो ।

२१ जनामध्ये ३ जनाको रिपोर्ट शंकास्पद देखिएपछि प्रहरीले शनिबार बेलुका छपकैयाको मस्जिदमा पुगेका थिए । प्रहरी नियन्त्रणमा रहेको २६ जनालाई ई रिक्सामा बसाएर अगाडी पछाडी प्रहरीको संयुक्त निगरानीमा वीरगन्जको सिद्धार्थ माविमा संस्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको हो । उनीहरू मध्ये ३ जनाको रिपोर्टमा कोरोनाभाइरस (कोभिड १९) पोजेभिट देखेपछि शुक्रबार नै तीनजनालाई अस्पतालले मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिहीबार स्वाब संकलन गरेर पठाइएको २४ जनामध्येको तीनजना अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताए ।

‘हेटौँडाको ल्याबमा गरिएको परीक्षण शंकास्पद आएको भन्ने सुनिएपछि वडा अध्यक्षसँगको समन्वयमा ३ जनालाई यहाँ बोलाइएको हो,’ मेसु डा. उपाध्यायले भने, ‘शनिबार बेलुकासम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फाइनल रिर्पोट आएपछि कन्फर्म हुन्छ ।’ शनिबार टेकुको प्रयोगशालामा पनि उनीहरुको नतिजा पोजेटिभ नै आएको छ ।

स्थानीयका अनुसार विगत ९ र १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरू मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा भने उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए ।

नाम उल्लेख नगर्ने शर्तमा नारायणी अस्पतालका एक चिकित्सक भने, ‘उनीहरुले दिएको सूचना सहि नहुन पनि सक्छ, प्रहरीले अनुसन्धान गर्न जरुरी छ ।’ तीनजनालाई आइसोलेशनमा राखेदेखि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सर्तकता अपनाएका छन् ।

कोरोना पोजेटिभको आशंकामा नारायणी अस्पतालको आइसोलेशन वार्डमा रहेका तीनैजनाले मनोमानी गर्न थालेपछि प्रहरीले कडा निगरानी बढाएको छ ।

उनीहरूले मनोमानी गर्न थालेपछि अस्पतालका मेसु, डा. मदन उपाध्यायले स्वंय प्रहरी लगाएर आइसोलेशन वार्डको कोठामा थुनेर बाहिरबाट ताल्चासमेत लगाएका थिए ।

यसअघि भारत दिल्लीकै निजामुद्दिन मर्कजमा भएको तीनदिने आन्तर्राष्ट्रिय तबलीगी जमातमा सहभागि भई नेपाल फर्केका ४६ जनाभन्दा बढीलाई पर्सा र बाराबाट पक्राउ गरी सम्बन्धित जिल्लामा पठाइसकेको छ । विशेष सूचनाको आधारमा पर्साको पर्टेवा सुगौली र जगरनाथपुर गाउँपालिकाको विभिन्न मस्जिदमा बसेका २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप