बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

युवतीको धन्दा : फेसबुकबाट ३४ जनाको ४३ लाख ठगी

शुक्रबार, १६ भदौ २०७४, १५ : २७
शुक्रबार, १६ भदौ २०७४

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालबाट ठगी गर्ने कार्य बढेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ । 

फेसबुकमार्फत साथी बनाई बहुमुल्य गरगरहना तथा मोबाईलको प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा बृद्धि आएको व्युरोले जनाएको हो । 

व्युरोका अनुसार ठगी धन्दा गर्नेहरुले आफूसँग बहुमूल्य सामाग्री भएको झुठो प्रमाण देखाउँदै ठग्ने गरेका छन् । ठगी धन्दामा सक्रियहरुले आफूले इच्छाएको  रकम जम्मा भएको निश्चित गरेपछि फेसबुक खाता निश्क्रिय गराउने गरेको खुलेको छ । 

ठगी गर्नेहरुले फेसबुकलाई दुरुपयोग गर्दै आफू बिदेश रहेको बताउँदै बहुमूल्य सामाग्रीको फोटो देखाएर ठग्ने गरेको भेटिएको छ । फेसबुकबाट ठगी धन्दा गर्नेहरुले प्रोफाइल विवरणमा बिदेशी नम्बरहरु राख्ने गरेको भेटिएको केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख पुष्कर कार्कीले जानकारी  गराए । 

हिराको हार, आइफोन तथा बहुमूल्य पार्सल पठाउने प्रलोभन देखाएर त्यसबापत लाग्ने कर बैंकमा डिपोजिट गर्न लगाई ठगी गर्ने गरिएको छ । बैंक खातामा रकम जम्मा गर्न लगाउने तर पार्सल नपठाई ठग्ने गरिएको छ । 

यस्तै प्रकृतिको ठगी धन्दामा सक्रिय एक महिलालाई व्युरोले विहिवार पक्रेको छ । सोलुखुम्बु गुदेल –४ घर भई बौद्ध तीनचुली बस्ने आङलेमी शेर्पालाई पक्राउ गरिएको हो । ३३ वर्षिय शेर्पाले फेसबुकमार्फत झुक्याएर ३४ जनासँग ४३ लाख रुपयां ठगेको व्युरोले जानकारी गराएको छ । 

व्युरोले काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरी शेर्पाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीलाई शेर्पाले दिएको पछिल्लो बयान अनुसार आफू मध्यस्थकर्ता भएको दावी गरेकी छन् ।

शेर्पाले ५/६ महिना अघिदेखि प्रलोभनमा पारेर ठग्ने गरेको बताए पनि प्रहरीले विगत केहि दिन देखि ठगी धन्दा गरेको आशंका गरेको छ । अमेरिका बसेर फर्केको बताउने शेर्पाले एक सहकारीमा काम गर्दै आएकी थिइन् ।

पीडितहरुका अनुसार शेर्पाको समुहले सामान दिल्ली भन्सारमा रोकिएकोले तुरुन्त सामान छुटाउन भन्दै बैंकमा पैसा डिपोजिट गर्न ताकेता गर्ने गरेको व्युरोले बताएको छ । बहुमुल्य सामाग्रीको प्रलोभनमा परि रु. ५० हजार देखि रु.छ लाख ७५ हजारसम्म बैंक डिपोजिट गरिएको प्रहरी उपरिक्षक मिरा चौधरीले जानकारी गराइन् । 

ठगी धन्दामा संम्लग्नहरुको समुहबारे वृस्तित अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ठगी धन्दामा प्रयोग भएका बैंक खाताहरु सम्बन्धित बैंकहरुलाई रोक्न लगाएको छ । ठगिएको रकम तथा पीडितहरुको संख्या संकलन गरिरहेको व्युरोले जानकारी गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप