सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२०७६ सालका चर्चित १४ घटना : महरा प्रकरणदेखि चिनियाँ राष्ट्रपति सीको भ्रमण र कोरोनाको कहरसम्म

आइतबार, ३० चैत २०७६, १४ : १९
आइतबार, ३० चैत २०७६

काठमाडौँ । २०७६ साल त्रासदीका बीच नेपालीहरूको घर आँगनबाट बिदाइ भएको छ । वर्षको अन्त्यमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण लकडाउनमा सीमित रहेर नेपालीहरूले २०७७ सालको स्वागत गर्नुपरेको छ । अनेक उतारचढावका बीच आज मध्यरातिबाट २०७६ साल बिदा भएर नयाँ वर्ष २०७७ साल लाग्दैछ । गएको वर्षमा नेपालमा केही महत्त्वपूर्ण घटना हुन पुगे, जुन सम्झन लायक छन् । २०७६ को सुरुमा खासै चर्चायोग्य घटना नभए पनि मध्यदेखि केही सकारात्मक र नकारात्मक दुवै घटनाहरू हुन पुगे । असोज महिनामा सभामुख कृष्णबहादुर महरा यौनजन्य दुव्र्यवहारमा फस्न पुगे र १३३ दिनपछि पुनः सफाइ पाए । त्यस्तै असोज महिनामै छिमेकी राष्ट्र चीनका राष्ट्रपतिले नेपाल भ्रमण गरे भने सालको अन्तिम महिनातिर सरकारका एक मन्त्री भ्रष्टाचार प्रकरणमा मुछिँदै पदबाट राजीनामा दिन बाध्य भए । अरू केके भए त २०७६ सालमा ? 

कोरोनाको कहर 


२०७६ को अन्तिम अन्तिम समयमा छिमेकी राष्ट्र चीनको उहानबाट सुरु भएको महाव्याधी कोरोना भाइरस सङ्क्रमण विश्वका कैयौँ मुलुक हुँदै नेपालमा पनि प्रवेश गर्यो । वर्षको अन्तिम महिना कोरोनाविरुद्धको लडाइँमा अन्य देशहरू जस्तै सिङ्गो नेपाल पनि होमियो । राज्यका सम्पूर्ण स्रोतसाधन र शक्ति प्रयोग गरेर यसको रोकथाम र नियन्त्रणको प्रयास भइरहेको छ । यो भाइरसका कारण मुलुक लकडाउनकै अवस्थामा छ । भाइरसबाट नेपालमा हालसम्म १२ जनामा सङ्क्रमण देखिए पनि  यसबाट नेपालमा हालसम्म कसैको ज्यान गएको छैन । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले फागुन अन्तिम साता उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेर यो रोग फैलन नदिन काम गरिरहेको छ । 

२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपालमा 


२०७६ साल असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिने भ्रमण गरे । करिब २३ वर्षपछि शक्तिशाली उत्तरी छिमेकी राष्ट्र चीनका राष्ट्रपतिको नेपालमा भएको राजकीय भ्रमणले विश्वको ध्यान नेपालतर्फ सोझियो । राष्ट्रपति सी चिनफिङले असोज २५ र २६ (१२ र १३ अक्टोबर)मा गरेको नेपाल भ्रमणले नेपाल र चीनबीचको मित्रतामा नयाँ अध्याय सुरु भएको विश्लेषण गरियो । चिनियाँ राष्ट्रप्रमुखको भ्रमणले आर्थिक समृद्धि र द्विपक्षीय सम्बन्ध विस्तारमा दीर्घकालीन महत्त्व राख्ने अपेक्षा राखियो ।

७० करोेड प्रकरणले गुम्यो मन्त्री पद 


२०७६ साल नेकपा नेतृत्वको सरकारका लागि त्यति सुखद् रहेन । प्रधानमन्त्री केपी ओलीका अत्यन्त विश्वासपात्र मानिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा ७० करोड कमिसन प्रकरणमा जोडिए र अन्तत उनले मन्त्री पदबाट राजीनामा नै दिनुपर्यो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले स्विस कम्पनीका नेपालस्थित प्रतिनिधि विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले फागुन ८ गते प्रधानमन्त्री ओलीसमक्ष राजीनामा दिन बाध्य भए । 

कृष्णबहादुर महरा प्रकरण 


संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा बहालवाला सभामुख कृष्णबहादुर महरा २०७६ असोजमै पक्राउ परे र सोही साल जिल्ला अदालत काठमाडौँबाट सफाइ पनि पाए । पक्राउपछि ३० दिन प्रहरी हिरासत र १०३ दिन सदरखोरमा थुनिए । यो घटना महरा प्रकरणले निकै चर्चित बन्न पुग्यो । पछि अदालतको फैसलासँगै उनी फागुन ५ गते सफाइसहित रिहा भए । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयास पुष्टि हुने आधार नदेखिएको भन्दै अभियोग दाबीबाट महरालाई सफाइ दिने फैसला सुनायो । पीडित भनिएकी महिला कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास नभएको जिकिरसहित अदालतमा गरेको वकपत्र, महराले दिएको इन्कारी बयान र फरेन्सिक ल्याबको रिपोर्टलाई आधार मानेर इजलासले सफाइ दिएको हो । महरालाई बलात्कार आरोपमा असोज १९ गते सरकारी निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनी १ सय ३३ दिन हिरासतमा बसे । आफूमाथि आरोप लागेपछि सत्तारुढ दल नेकपाले महरालाई सभामुखबाट राजीनामा दिन लगायो र उनको ठाउँमा नेकपाकै सांसद अग्नि सापकोटा सभामुखमा निर्वाचित भए । 

विवादमा एमसीसी 


२०७६ मा अत्यधिक चर्चाको विषय बन्यो अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) । खासगरी सत्तारुढ दल नेकपामा एमसीसीबारे विवाद उत्पन्न भएपछि यसको किनारा लगाउन नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वको एक सुझाव कार्यदल नै गठन गर्यो । उक्त कार्यदलले एमसीसी सम्झौता परिमार्जन गर्न दिएको सुझाव नेकपाका शीर्ष नेताले अघि बढाउनै सकेका छैनन् । प्रधानमन्त्री केपी ओली एमसीसी अनुमोदन गर्न हतारिए पनि पार्टीभित्र यसको विरोध भएपछि अनुमोदन हुन नसकेको हो । एमसीसीबारे नेकपाको स्थायी समिति र केन्द्रीय समितिमा नेताहरू स्पष्ट रूपमा दुई भागमा विभाजित बनेका थिए । 

कौडीको भाउमा यतिलाई जग्गा 


सरकारी जमिन सरकारले गोकर्ण रिसोर्ट यती होल्डिङ कम्पनीलाई लिजमा दिएको विषयमा विवाद भएपछि यो विषमा निकै बहस भयो । संसददेखि सडकसम्मै यसको व्यापक विरोध भयो । तर जति विरोध भए पनि सरकारले यसको बचाउ गरिरह्यो । राजधानीको गोकर्णेश्वर नगरपालिकामा रहेको २७ सय ९२ रोपनी जग्गामा रहेको रिसोर्ट सरकारले ६ वर्षको लिज अवधि बाँकी छँदै सम्झौता अवधि बढाएर २५ वर्षका लागि लिज नवीकरण गरेको हो । यसपछि सरकारले कौडीको भाउमा जग्गा दिएको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेस लगायत सर्वसाधारणबाटै सरकारको चर्को विरोध भयो । अन्ततः सरकारले यसबारे श्वेतपत्र नै जारी गर्यो । 

प्रधानमन्त्रीको दोस्रो मिर्गौला प्रत्यारोपण


प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ सालमा धैरै समय अस्पतालमा विताए । मिर्गौलाको डायलाइसिसदेखि प्रत्यारोपणसम्म गर्नुपरेकाले ओली स्वदेश तथा विदेशका अस्पताल धाउनु उनको बाध्यता बन्यो । साउन महिनामा सिङ्गापुर गएर स्वास्थ्य उपचार गराएका उनको त्यहाँबाट फर्केको सात महिनापछि मिर्गौला प्रत्यारोपण भयो । त्यो पनि नेपालकै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा । सो अस्पतालका प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीलाई भान्जी समीक्षा सङ्ग्रौलाले आफ्नो एउटा मिर्गौला दिइन् । त्यसअघि उनले काठमाडौँको ग्रान्डी अस्पतालमा नियमित डाइलाइसिस गर्दै आएका थिए । मिर्गौला प्रत्यारोपणअघि प्रम ओलीको एपेन्डिसाइटिसको समेत अप्रेसन गरेका थिए । 
ओलीको यो पटक दोस्रो मिर्गौला प्रत्यारोपण गरिएको हो । उनको पहिलो पटक २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि ओलीले दोस्रो पटक मिर्गौला फेरेका हुन् ।

५२ स्थानमा उपनिर्वाचन


विभिन्न कारणले खाली भएका एक प्रतिनिधिसभा र तीन प्रदेशसभा सदस्यसहित ५२ स्थानमा उपनिर्वाचन भयो । मङ्सिर १४ मा भएको निर्वाचनको मतदानमा ६५.४३ प्रतिशत मत खस्यो । उपनिर्वाचनमा पाँच सय ३७ केन्द्रबाट दुई लाख ९७ हजार १ सय ३७ जनाले मतदान गरेका थिए । ३७ जिल्लाका दुई सय ४७ मतदानस्थलमा कुल ४ लाख ५४ हजार १ सय १४ मतदाता थिए । उपनिर्वाचमा सर्वाधिक चासोको विषय बनेको कास्की दुईमा हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई विजयी बनिन् ।
त्यस्तै तीन प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाले एक एक स्थानमा जित हात पारे । 
उपनिर्वाचनमा नेकपाले सबैभन्दा बढी ३० स्थानमा जित हात पार्योे जसमा उसले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन स्थानीय तहको अध्यक्ष पदमा जित हात पार्न सफल भयो । त्यस्तै दोस्रोमा नेपाली काँग्रेसले १३ स्थानमा जित हात लगायो । काँग्रेसले एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको मेयर पदमा जित हात लगायो । 

राष्ट्रिय सभा निर्वाचन 


राष्ट्रिय सभाका एक तिहाइ सदस्यको निर्वाचन पनि २०६ मै भयो । माघ १० मा भएको 
निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त रहेका १९ मध्ये सातवटै प्रदेशबाट १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । एक जना भने राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था भए पनि एक रिक्त पदमा अझै मनोनित गरिएको छैन । उपनिर्वाचनमा २ हजार ५६ मतदाता सहभागी बने । १८ सिटका लागि भएको यो उपनिर्वाचनमा विभिन्न दलका गरी ४५ उम्मेदवार चुनावी मैदानमा उत्रे । जसमा अधिकांश राष्ट्रिय सभासदस्य पदमा नेकपाका उम्मेदवार विजयी बने । 

राप्रपाको एकता 


पूर्व पञ्चहरू सम्मिलित दुई समूहमा विभाजित राप्रपा एक भयो । लामो समयको प्रयास, छलफल र वार्तापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच फगुन २८ गते एकता भएको हो । एकतापछि सो पार्टीमा तीन जना अध्यक्ष छन् । जसमा कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी छन् । 

उपेन्द्र बाबुरामबीच पार्टी एकता


उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता घोषणा भयो । दुई पार्टी एकतापछि ‘समाजवादी पार्टी नेपाल’ बनेको छ । नयाँ पार्टी एकीकरणको वैशाख २३ गते घोषणा गरियो । नवगठित पार्टीको सङ्घीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई छन् भने केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव छन् । ओली नेतृत्वको सरकारमा सहभागी यो पार्टी यसै वर्ष सरकारबाट पनि बाहिरियो ।
 
भव्य रूपमा सम्पन्न साग 


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपालमा भव्य रूपमा सम्पन्न भयो । जसमा ५१ स्वर्णसहित नेपालले दोस्रो स्थान हासिल गर्न सफल भयो ।
मङ्सिरमा सम्पन्न साग प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर १५ गते उद्घाटन  गरेको प्रतियोगिताको २६ खेल विधामा ३२० स्वर्ण, त्यतिकै सङ्ख्यामा रजत र ४८१ काश्य पदकका लागि काठमाडौँ, पोखरा र जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो । सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको थियो । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुईवटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो । सन् १९८४ मा पहिलो पटक नेपालबाट सुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो ।

भ्रमण वर्ष २०२० घोषणा र स्थगित 


बहुचर्चित र महत्त्वाकाङ्क्षी योजनाका रूपमा अघिसारेकोे नेपाल भ्रमण वर्ष २०२० स्थागित हुन पुगेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरुमा अप्रिलसम्म स्थागित गरिएको भ्रमण वर्षपछि एक वर्षका लागि स्थगित गरिएको हो । भ्रमण वर्ष २०२० स्थागित सँगै यसको प्रचार प्रसार र अन्य व्यवस्थापनका लागि गठित सचिवालय पनि यही वैशाखबाट विघटन हुनेछ । सरकारले २०२० मा २० पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको सुरुवात गरेको थियो । 

प्रदेश प्रमुख परिवर्तन 
सरकारले यसै वर्ष सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख परिवर्तन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । प्रदेश १ मा सोमनाथ प्यासी (अधिकारी), २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा शर्मिला पन्त नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् । तर प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णयमा प्रमुख प्रतिपक्षी दल काँग्रेसले आपत्ति जनायो । प्रदेश प्रमुख नियुक्त गर्दा तत्कालीन एमाले र माओवादीबाट ६० र ४५ का आधारमा भागबन्डा गरेर नियुक्त गरेको भन्दै आलोचनासमेत भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप