आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लकडाउनकै बीच राष्ट्रियसभा सदस्यहरु छलफलमा, बागलुङ कोरोनाको इपिसेन्टर बन्ने खतरा !

सोमबार, ०१ वैशाख २०७७, १४ : ५२
सोमबार, ०१ वैशाख २०७७

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण गरिएको लकडाउनकै बीच सोमबार राष्ट्रियसभा सदस्यहरु बीच अनौपचारिक छलफल भएको छ । संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिडियो कन्फ्रेन्समार्फत छलफल भएको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोनाभाइरसको महामारी नियन्त्रणको अभियानमा राष्ट्रियसभाको योगदान के हुन सक्छ र कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे दलका नेताहरुसहित सदस्यहरुसँग छलफल गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको छलफलमा अधिकांश सदस्यहरुले वर्तमान अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए । लकडाउन गरेर सरकारले राम्रो काम गरेको भन्दै सदस्यहरुले कोरोनाभाइरसको महामारी फैलिन नदिन विशेष सतर्कता अपनाउन जरुरी रहेको औंल्याए । 

कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने चिकित्सक, नर्स, कर्मचारी साथै सुरक्षाकर्मीको सुरक्षाको विषयमा सरकार गम्भिर भएर तत्काल व्यक्तिगत सुरक्षा उपकरक पीपीई लगायत खरिद गर्नुपर्नेमा पनि सदस्यहरुले जोड दिएका थिए । त्यसैगरी नेपाल लकडाउन भएसँगै दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरुको अवस्थालाई विशेष ध्यान दिन आग्रह पनि उनीहरुको थियो । 

छलफलमा बोल्दै राष्ट्रियसभा सत्ता पक्ष दलका नेता दीनानाथ शर्माले बागलुङ जिल्ला कोरोनाभाइरसको इपिसेन्टर बन्ने खतरा रहेको बताए । उनले बाग्लुङमा अहिलेसम्म तीनजनामा कोरोना पुष्टि भइसकेको र कोरोनाको जस्तै लक्षण देखिएकी एक महिलालाई अहिले क्वारेन्टाइनमा राखि टेष्टको लागि स्वाव काठमाडौं पठाइएको बताए । बागलुङलगायत अन्य क्षेत्रमा र्यापिड टेष्टलाई प्राथमिकतामा राखी तत्काल चिकित्सकसहितको टोली उक्त क्षेत्रहरुमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए । 

उनले स्थानीय निकायले आफ्ना क्षेत्रमा रहेका स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई सतर्कताका साथ परिचालन गर्नुपर्ने र कसैलाई कोरोनाजस्तो लक्षण देखिएको अवस्थामा तत्काल कोरोना परिक्षण गर्न र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि आग्रह गरे । 

राष्ट्रियसभाका अर्का सदस्य राधेश्याम अधिकारीले कोरोनाभाइरसविरुद्ध संयुक्त रुपमा लडेर सफलता प्राप्त गर्न सकिने बताए । सीमामा रहेका नेपालीहरुको तत्काल व्यवस्थापन गर्नुपर्नेमा  जोड िदए । उनले कोरोनाविरुद्धको लडाइमा कमाण्ड कसको हो ? गृह, स्वास्थ्य, रक्षा कि प्रधानमन्त्री ? भनी प्रश्न राखेका थिए । उनले यसमा सरकार स्पष्ट हुनुपर्ने बताए । 

भिडियो कन्फ्रेन्समा बोल्दै अर्का सदस्य रामनारायण विडारीले राहत एकद्वार प्रणालीबाट वडा अध्यक्षमार्फत वितरण गर्नुपर्ने बताए । जसले पनि राहतको नाममा भिड सृजना गरेको भन्दै उनले वितरण गर्ने तरिका राम्रो नभएको बताए । त्यसैगरी, लकडाउनबारे विज्ञहरुसँग छलफल गरी अगाडी बढ्नुपर्नेमा पनि जोड दिए ।

भिडियो कन्फ्रेन्समा आफ्नो धारणा राख्दै राष्ट्रिय सभाकै अर्का सदस्य पार्वती रावलले कोरोनाको महामारीबाट बच्न तत्काल स्वास्थ्य सामाग्री उपलब्ध गराई स्थानिय तहमा पुर्यानुपर्ने बताइन् । अहिलेको अवस्थामा मजदुरको समस्या मुख्य रुपमा देखिएकाले यसको समाधानमा सरकारले पहल गर्नुपर्ने बताइन् । उनले चिकित्सकको सुरक्षा, सीमामा रहेका नेपालीहरुको सुरक्षा, किसानको उत्पादन बजारमा पुर्याउने, मल विउको व्यवस्था गर्न पनि आग्रह गरिन् ।

२०७७ सालको पहिलो दिन आज राष्ट्रियसभा सदस्यहरु बीच अनौपचारिक छलफल भएको हो । भिडियो कन्फ्रेन्समा सदस्यहरुले नयाँ वर्ष २०७७ सालको शुभकामना आदानप्रदान गरेका थिए । मलुक लकडाउन भएपछि आज पहिलोपटक भिडियो कन्फ्रेन्सबाट छलफल भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप