सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः चीनको यो प्रान्त बन्यो नयाँ टाउको दुखाई

मङ्गलबार, ०२ वैशाख २०७७, ०८ : ३१
मङ्गलबार, ०२ वैशाख २०७७

चीनमा कोरोनाभाइरसलाई नियन्त्रणमा लिइएको दाबीबीच त्यहाँको हेलोनजियांग प्रान्त नयाँ टाउको दुखाई बनेको छ ।

चीनको प्रमुख पत्रिका ग्लोबल टाइम्सका अनुसार कोरोनाभाइरसको संक्रमितको संख्या हेलोनजियांग प्रान्तमा बढेर २५७ पुगेको छ ।

यो संख्या यतिबेला चीनको हुबेई प्रान्तभन्दा पनि धेरै हो ।

आखिर नयाँ संक्रमित किन बढिरहेको त छ ?

चीन यतिबेला दुई किसिमको समस्या झेलिरहेको छ । एउटा इम्पोर्टेड केस अर्थात अन्य मुलुकबाट चीन आइरहेका व्यक्तिमा देखिएको संक्रमण र दोस्रो भनेको लक्षण नदेखिएका संक्रमित । यस्ता व्यक्तिमध्ये कतिमा थोरै पनि लक्षण देखिँदै भने कतिमा हल्का लक्षण देखिन्छन् तर उनीहरुको परीक्षण भने पेजेटिभ आइरहेको छ ।

समस्याः

चीनको हेलोनजियांग प्रान्त पूर्व तिर छ र त्यो रुसको सीमासँग जोडिएको छ । चीनमा आइतबार १०८ नयाँ संक्रमित भेटिए जुन करिब एक हप्तामा सबैभन्दा धेरै संख्या हो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार यीमध्ये ९८ संक्रमित विदेशबाट आएका हुन् । जबकी हेलोनजियांगमा ४९ संक्रमित भेटिएका छन् । यी सबै चिनियाँ नागरिक हुन् जो रुसबाट त्यहाँ पुगेका थिए ।

यो प्रान्तको स्थानीय नागरिकका अनुसार चीनका धेरै नागरिक रुसबाट फर्किन चाहन्छन् तर यतिबेला यो निर्णय ठिक होइन । वास्तवमा विशेषज्ञले पनि यतिबेला जो जहाँ छ, त्यहिँ बस्न र सावधानी अपनाउन सल्लाह दिएका छन् ।

रुसले संक्रमणको खतरा देखेर सबै उडान रद्द गरेको छ तर स्थलमार्ग खुल्ला छन् ।

यसै पत्रिकाका अनुसार हेलोनजियांगमा गैर कानूनी रुपमा आउने मानिसहरुबारे जानकारी दिँदा र उनीहरुलाई नियन्त्रणमा राख्नेहरुका लागि सरकारी अधिकारीले इनामको घोषणासमेत गरेको छ ।

नयाँ कदमः

चीनमा स्थिती राम्रो भएको खबरले उत्साहित थुप्रै चीनियाँ नागरिक स्थलमार्ग हुँदै स्वदेश फर्किरहेका छन् र चीनका लागि यो गलाको पासो बन्दै गएको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि चीनले सीमामा कडा निगरानी गरेको छ र बाहिरबाट आउनेहरुलाई क्वारेन्टाइनको पालना गर्न भनिएको छ । फिर्ता भइरहेका मानिसहरुको परीक्षण गरिँदै छ र मानिसहरुलाई २८ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ ।

अब हेलोनजियांग प्रान्तमा मानिसहरुको आवतजावत र सामाजिक दूरीका लागि ऊहानजस्तो प्रतिबन्ध लगाइँदैछ ।

हेलोनजियांग प्रान्तको राजधानी हार्बिन र सुइफिन दुई सबैभन्दा धेरै प्रभावित शहर हुन् । यी दुई शहरमा अब शून्यता छाएको छ र रिपोर्टका अनुसार थुप्रै प्रतिबन्धबाहेक मानिसहरु यहाँबाट पलायन भएका छन् ।

तर यहाँ स्थानीय संक्रमणको सम्भावना खासै नरहेको स्थानीय बताउँछन् ।

सुयफिनका एक निवासी जाओ वेईले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘चिन्ताको कुनै कुरा छैन । यदि यहाँ कोरोनाको स्थानीय संक्रमण भएको भए हामीमध्ये कोही पनि यहाँ बस्दैनथ्यौं । रुसबाट फर्किएका व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिएको हो र उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।’

सुइफिन चीनको राजधानी बेइजिङबाट हजार मिल टाढा छ । तर यसको सीमा रुससँग जोडिएको छ । रुसको व्लादिवोस्तोकसँग  यो सडक र रेलमार्ग जोडिएको छ ।

अर्कोतर्फ १० अप्रिलमा रुसबाट सांघाई पुगेका ६० जना कोरोनाभाइरसद्वारा संक्रमित पाइएका छन् ।

रातोपाटीले अनुवाद गरेको बीबीसी हिन्दीमा प्रकाशित लेख 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप