सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अस्पतालहरुप्रति सांसदको आक्रोस: लकडाउनमा यसरी बस्यो स्वास्थ्य समितिको पहिलो ‘भर्चुअल’ बैठक (भिडियो)

मङ्गलबार, ०२ वैशाख २०७७, १९ : १२
मङ्गलबार, ०२ वैशाख २०७७

काठमाडौं ।  मंगलबार शिक्षा तथा स्वास्थ्य समितिको बैठक कक्षको दृश्य अनौठो थियो । अघिपछि सांसदहरु, मन्त्रालयका कर्मचारीहरु भेला भएर चर्का–चर्की बहस छलफल हुने हलमा सांसद कर्मचारी गरेर जम्मा ५ जना मात्र थिए । तर पनि बैठक चलिरहेको थियो ।  बैठक कक्षमाा सांसदहरु उपस्थित नभएपनि उनीहरु डिजिटल प्लेटफर्ममा एकठाँउमा थिए । बैठकमा समितिकी सभापति जयपुरी घर्तिको अगाडि ल्यापटप थियो । ल्यापटपको स्क्रिनमा अन्य सांसदहरु थिए । 

उनी स्वास्थ्यसँग सम्बन्धित विषयमा छलफलका लागि सांसदहरुलाई पालो दिन्थिन । सांसदहरुले घरबाटै मोबाइलको भिडियो कलमार्फत एक अर्काको आमुने सामुने भएर आफ्ना विचारहरु राखिरहेका थिए । बैठकमा प्रत्यक्ष सहभागी सांसद जीवनराम श्रेष्ठ र सचिवालयका कर्मचारी मोबाइलमा अन्य सांसदका कुरा हेरिहेका थिए । सांसद गगन थापा र खगराज अधिकारी आफ्नो भनाई राखेपछि निस्किएका थिए । सभापति घर्ती र एक कर्मचारी भने सांसदहरुले बोलेका कुरालाई डायरीमा पनि टिपिरहेका थिए । 

नेपालमा पनि कोरोना भाइरसको संक्रमण फेला परेपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गरेको थियो । त्यसपछि संसदीय समितिहरुको बैठक बस्न नसकेका बेला शिक्षा तथा स्वास्थ्य समितिले डिजिटल मिडियाको प्रयोग गरी अहिलेको स्वास्थ्य क्षेत्रको बारेमा अनौपचारिक बैठक राखी छलफल गरेको हो । 

अस्पतालको व्यवहारप्रति सांसदको आक्रोस
भिडियो कन्फरेन्स बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद एकवाल मियाँले अस्पतालहरुले बिरामीको उपचार नगर्दा ज्यान गएको भन्दै आक्रोस पोखे । उनले लकडाउनपछि बारामा उपचार नपाएर दुई बिरामीको मृत्यु भएको बताए । एकजना बिरामीको खुट्टामा चोट लागेपछि ज्वरो आएपछि नारायणी अस्पताल तथा वीरगञ्जको नेश्नल अस्पतालले पनि उपचार नगरको उनले बताए । त्यहाँका अन्य अस्पतालले पनि उपचार गर्न नमानेपछि काठमाडौंको वीर अस्पतालमा जाँदा जाँदै बिरामीको मृत्यु भएको जानकारी गराए । 

उनले सामान्य विरामीको पनि अस्पतालहरुले उपचार नगरी लापरवाही गरेको बताए । उनले भने– ‘बिरामीको भर्ना समेत नलिने, उपचारमा लापरवाही गर्ने यस्ता अस्पताललाई कहाँ के गरेर हुन्छ कारवाही नगरी हुँदैन । बाराको यो घटना छानविन गर्नका लागि निर्देशन पनि दिनुपर्छ । बारामा अरु दुईवटा यस्तै केश भएको छ । पूरानो दमको रोगी बृद्धाको पनि पर्साको नारायणी अस्पताल र नेश्नल मेडिकल कलेजले उपचार नगरेपछि काठमाडौं लैजादै गर्दा मृत्यु भएको छ । यसबारेमा गम्भीर हुन म सभापति ज्यूलाई ध्यानाकषर्ण गराउँछु ।’

नारायणी अस्पतालमा ओपीडि सेवा बन्द भएपछि विरामीहरु दयनिय अवस्थामा पुगेको बताउँदै निजी अस्पतालमा सरकारी डाक्टर पठाएर उपचार गराउन माग गरे । यस्तै बीरगञ्जमा २८ जनाको समूहमा बसेका ३ जनामा कोरोना संक्रमण भेटिनु र अन्यमा नभेटिनुमा परीक्षण पद्धति भरपर्दो नभएको त हैन भन्दै आशंका व्यक्त गरे । 

यस्तै नेकपा कास्कीका सांसद विद्या भट्टराईले पोखराका अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुलाई मास्क,पञ्जाको अभाव रहेको,अस्पतालमा बिरामीलाई भेन्टिलेटरको अभाव भएको बताउँदै यस्ता सामग्रीहरु छिटो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिन् । 

यस्तै, स्वास्थ्य समितिले अहिलेको बेला महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै जनताका समस्या समाधान गर्न सरकारसमक्ष पु¥याउन सांसदहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् । यस्तै, अन्य सांसदहरुले अस्पतालहरुले अन्य बिरामीको उपचारमा लापरवाही गरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । उनीहरुले छिट्टै स्वास्थ्य सामग्री उपलब्ध गराई स्वास्थ्य परीक्षण र उपचारमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । 
डिजिटल पद्धतिबाट बैठकमा सहभागी भएकोमा सभापति जयपुरी घर्तीले सांसदहरुलाई धन्यवाद दिँदै स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बोलाएर नै छलफल गर्न खोजेपनि अहिलेको अवस्थामा मन्त्रीले सहभागी हुन नसक्ने भनेपछि बैठक डाक्न नसकेको बताइन् । 

उनले अहिलेको जटिल स्वास्थ्य अवस्थाका बारेमा मन्त्री ढकाललाई ध्यानाकर्षण गराउँदै समयमै स्वास्थ्य सामग्रीको अभाव पूर्ति गर्न ध्यानाकर्षण गराएको उनले बताइन् ।  उनले आजको बैठकमा प्राप्त भएको सुझाव संकलन गरेर सरकारलाई सोही अनुसार काम गर्न ध्यानाकर्षण गर्ने बताइन् । उनले यसरी नै डिजिटल प्रविधिबाट निरन्तर सम्पर्कमा रहेर पनि जनताका पक्षमा काम गर्न सकिने उल्लेख गरिन् । 

जीवनराम श्रेष्ठ, गगन थापा, खगराज अधिकारी भने बैठकमा प्रत्यक्ष उपस्थित थिए भने सांसदहरु नमिता चौधरी, अन्जना विशंखे, रेखाकुमारी, उमेश श्रेष्ठ, एकवाल मियाँ, सुरेशकुमार राई, हीतबहादुर तामाङ, नारायण प्रसाद मरासिनी लगायत १६ जना सांसदले बैठकमा सहभागिता जनाएका थिए । 

बैठकले कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य सामग्री भेन्टिलेटर, पिपिई, मास्क, किट लगायतका सामानहरु यथासक्य छिटो खरिद गरी छिटोभन्दा छिटो वितरण गर्न, ल्याव टेष्टको कामलाई तीब्रतापूर्वक अघि बढाउन, क्वारेन्टाइन र आइसोलेशनमा बस्नेहरुको खाने, बस्ने र उपचारको उचित व्यवस्था गर्न, लक डाउनका कारण समस्यामा परेका गरिब विपन्नहरुको उचित खानपानको व्यवस्था गर्न, कोरोना भाइरस बाहेकका बिरामीहरुको सहज उपचारको वातावरण बनाउन, राहत वितरणमा भएको अनियमितता रोक्न सरकारलाई सुझाव दिन सहमति जनाएको छ । 
 हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप