सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युएईमा एक हजारभन्दा बढी पीडितहरुले पाए राहत

शुक्रबार, ०५ वैशाख २०७७, १९ : ००
शुक्रबार, ०५ वैशाख २०७७

युएई । दुवई लकडाउनमा छ। आवश्यकताअनुसार नेपाली क्युआरफुको चारओटा सवारी साधन २४ सै घन्टा कुदिरहेको छ। हेल्पलाईन नम्बर लिएर कुदिरहेका उनीहरुलाई पीडितहरुको फोन उठाउन भ्याईनभ्याइ छ। कोरोना भाइरस (कोभिड–१९) का कारण युएईमा खान बस्न समस्यामा परेका नेपालीहरुलाई उद्दार गर्न उनीहरु जिरो ग्राउण्डमा खटिरहेका छन्।

संक्रमितहरुलाई क्वारेन्टाइनमा पठाउन एम्बुलेन्सको व्यवस्था समेत टिमले गरिरहेको छ । हालसम्म एम्बुलेन्सको पर्खाइमा रहेका ७ जना संक्रमित नेपालीहरुलाई क्वारेन्टाइनमा पठाइसकिएको छ ।दुवईको सुरक्षा निकायको समन्वयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईसहित अन्य नेपाली समुदायका प्रतिनिधिहरुको सयुक्त प्रयासमा यो काम भैरहेको छ। पीडितहरुले हेल्पलाईनमार्फत समस्या भएको जानकारी गराउनासाथ टोली त्यसतर्फ लाग्छ। समस्या के हो ? बुझेर राहत वितरण गर्छ। 

विशेषगरी सप्लाई कम्पनीमा काम गर्न आएका, भिजिट भिषामा रहेका  र भिषा क्यान्सिल गरि नेपाल जाने तयारीमा रहेका नेपालीहरु कोरोनाको शिकार बनेका छन्। उनीहरुलाई खान मात्र नभई बस्न समेत मुस्किल छ। 

राहत वितरणको आठौं दिन आज। खान र बस्न समस्या भएका इमिरेट्स क्यावमा ३८ जनालाई बस्ने कोठा भाडा १५०० दिराम अर्थात् (पैतालिस हजार रुपैया) र १५ दिनको लागि आवश्यक खाद्यान्न वितरण गरियो । टोलीले अहिले सम्म सबैभन्दा बढि खाद्यान्न वितरण गरेका छन् । 

विदेशी मुलुकको नागरिकहरुको विशेष सहयोग साथै युएईमा रहेका नेपाली समुदाय र एनआरएनए युएईको सहयोगमा राहत वितरण भैरहेको छ। उनीहरुले कोरोना भाइरसबाट पीडित नेपाली कामदारहरुको क्याम्प क्याम्पमा पुगि दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, नुन, तेल जस्ता अत्यावश्यक समाग्रीहरु वितरण गरिरहेका छन् । साथै उनीहरुले नेपालीहरुसँग भेटघाट गरि हुनसक्ने सम्भावित खतराबाट सुरक्षित रहन सबैमा आग्रह समेत गरेका छन्।

यो समाचार तयार पार्दासम्म उक्त टोलीले कोरोना भाइरसका कारण खान, बस्न समस्या भएका एक हजार ७० जना नेपालीहरुलाई करिब ६ लाख नेपाली रुपैयाँ बराबरको खाद्यान तथा अन्य सामग्रीहरु वितरण गरिसकेका छन्। हामीसँग ४ वटा सवारी साधनहरु आवश्यकताअनुसार कुँदिरहेका छौं। जहाँ समस्या छ, त्यहाँ  छिटो एक्सन लिएका छौं’ क्युआरएफु टिमका संयोजक पासाङ शेर्पाले रातोपाटीलाई भने। 

नेपाली क्युआरफुले कोरोना भाइरस (कोभिड–१९) का कारण युएईमा नेपाली समुदायमा परेको असरको तथ्याँक उठाउने र सम्भावित खतराबाट जोगाउने उद्देश्यले युएईमा रहेका नेपालीहरुको विवरण लिन अनलाइन फारम वितरण पनि वितरण गरेको छ।

गत दुई हप्तादेखि दुवईको स्थानीय सुरक्षा निकायले नेपाली क्युआरएफ टिमलाई सवारी चलाउन र बिभिन्न स्थानमा आवतजावत गर्न पासको समेत व्यवस्था गरेको हो। उनीहरुलाई युएईमा रहेका नेपालीहरुलाई समस्या परेमा सम्पर्क गर्न दुबइ पुलिसले हेल्पलाईन नम्बर ०५२३८२४८३५ समेत दिएको छ।जसको व्यवस्थापन टिमका सदस्य सुजन सापकोटाले गरिरहेका छन् ।

क्युआरएफुको टिममा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली, एनआरएनए युएईका युवा संयोजक मदन अधिकारी, केन्द्रीय सदस्य सुजन सापकोटा, नेफिन युएईका संरक्षक समिति सदस्य टंक थापामगर, नेपाल मगर संघ शाखा युएई प्रतिनिधि सुनिता थापामगर, शेर्पा किदुग युएई प्रतिनिधि निमा ल्हमु शेर्पा र  समाजसेवी  रमेश गौतम र अमन थापा गरि ९ जना रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप