सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनमाथि कारबाही

शनिबार, ०६ वैशाख २०७७, ११ : ५१
शनिबार, ०६ वैशाख २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । ;स्पष्टीकरण मागसहितकाे सो पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको छ । 

टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले ‘पत्र प्रशासनमा आइपुगेको भएपनि आफूले शुक्रबार खोलेर हेर्न नभ्याएकाले के व्यहोरा उल्लेख छ भन्ने जानकारी नभएको’ दावी गरे । 

‘पत्र हिजो आएको भन्ने कुरा मेरो स्टाफले मलाई फोन गरेर जानकारी गराउनु भएको थियो । तर, म विशेष कारणबस बाहिर हुँदा पत्र खोलेर हेरेको छैन’, शनिबार बिहान रातोपाटीसँग उनले भने । 
‘गोप्य’ पत्र आइतबार खोलेर हेरेपछि थप कुरा आउने उनले बताए । 

स्रोतका अनुसार टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक समेत रहेका डा पुनले हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा ‘अनावश्यक रुपमा बोलेको’ भन्दै मन्त्री ढकाल उनीसँग असन्तुष्ट थिए । तर, डाक्टर पुनले भने ‘आफूले कोरोनाभाइरसबारे सत्यतथ्य कुराहरु प्रकाशमा ल्याएर जनचेतना फैलाएको’ बताएका छन् । 

‘आफूले कोरोनाभाइरसको विषयमा सत्यतथ्य मिडियामा बताएको भन्दै पुनले कसैलाई यसमा चित्त बुझ्दैन भने आफूले भन्नु केही नरहेको’ बताए । ‘मैले आफूलाई जानकारी भएको विषय सञ्चारमाध्यममार्फत र अन्य  माध्यममार्फत लगातार प्रकाशमा ल्याएर जनचेतना फैलाउँदै आएको साँचो हो । मेरो नाममा पत्र आएको सुनेको छु । तर त्यसमा के छ मैले हेरेको छैन’, उनले रातोपाटीसँग भने । 

स्रोतका अनुसार उनलाई मिडियामा अनावश्यक रुपमा नबोल्न भन्दै मन्त्रालयका केही अधिकारीले दवाव दिँदै आएका थिए । उनी कार्यरत अस्पतालमा नै पनि उनकाे सक्रियता र मिडियामा उनको बढ्दो ‘कभरेज’का कारण असन्तोष गर्नेहरुको जमात् नै खडा हुँदै गएको थियो । तिनीहरुकै समेत खुट्टा तनाइको उनी शिकार बनेको स्रोतको दावी छ ।

स्रोतका अनुसार आफूविरुद्ध विकसित हुँदै गएको यो माहोलका बारेमा डा. पुन जानकार थिए तर उनले त्यसलाई खासै महत्व दिएका थिएनन् । त्यसको वेवास्ता गर्दै जनचेतना  फैलाउने काममा निरन्तर लागेपछि अहिले उनीविरुद्ध कारबाही भएको हो ।

स्रोतका अनुसार मन्त्रालयमा तानिएको भनिए पनि करारका डाक्टर मन्त्रालय तान्नुको औचित्य छैन । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले पत्र र कारवाहीबारे अनभिज्ञता प्रकट गरे ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप