सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

त्रिभुवन पार्कमा मजदुर : सांसद भन्छन्–‘यहीँ व्यवस्था गरेर राख्छौँ’, मेयर भन्छन्–‘यहाँ मान्छे थुपार्न पाइँदैन’

शनिबार, ०६ वैशाख २०७७, १८ : १०
शनिबार, ०६ वैशाख २०७७

काठमाडौं । काठमाडौंबाट पैदलै घर फर्किएका मजदुर थानकोटमा रोकिन थालेका  छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि घर हिँडेका मजदुरलाई जहाँ पुग्यो त्यही रोक्न थालिएको हो । काठमाडौं क्षेत्र नम्बर १० का सांसद तथा स्थानीय नेताहरुको सक्रियतामा उनीहरुलाई थानकोटस्थित त्रिभूवन पार्कमा खान बस्नको व्यवस्था गरिएको छ । 

प्रतिनिधिसभा सांसद अञ्जना विशंखे, प्रदेश सांसद रमा आलेमगरसहित नेकपाका स्थानीय नेताहरुको सक्रियतामा उनीहरुलाई खाने बस्ने व्यवस्था गरिएको हो । अहिलेसम्म २ सय ६० जना मजदुरलाई पार्कमा राखिएको सांसद अञ्जना विशंखेले रातोपाटीलाई जानकारी दिइन् । जहाँ बाँके, बर्दिया दाङ, सर्लाही, गोरखा हिँडेका मजदुरहरु राखिएको छ । 

नेकपाका सांसद, स्थानीय कार्यकर्ताहरुको पहलमा खानेकुराको व्यवस्थापन गरिएको छ । चन्द्रागिरी नगरपालिकाले हेल्थ डेस्क सहयोग गरेको बिशंखेले जानकारी दिइन् ।  उनले भनिन्–‘हिँडिरहेका नागरिकलाई कम्तिामा खाने बस्ने व्यवस्था गरिदिउँ भनेर यो काम गरेका हौँ । उहाँहरुको जिल्लाबाट, स्थानीय तहबाट लिन आउनुहुन्छ भने सुरक्षित विधिबाट पठाउन पनि तयार छौँ ।’ 

पार्कको पिकनिक स्पटमा १० वटा टहरा टेन्टले बारेर भुँइमा म्याट ओछ्याएर उनीहरुलाई राखिएको छ । पानी, ट्वाइलेटको समस्या नरहेको उनले बताइन् ।  डिएसपी घनश्याम श्रेष्ठको टोलीले सुरक्षा सहयोग गरेको बताउँदै सांसद विशंखेले चन्द्रागिरी नगरपालिकामा उत्पादन भएको तरकारीहरु स्थानीयले सहयोग गरेको जानकारी दिइन् । 

उनीहरुलाई खानपानको व्यवस्थापनका लागि पार्टीको तर्फबाट ४० जनाको टोली खटिएको उनले बताइन् ।  शिव महर्जनको नेतृत्वमा यूवा परिचालन, धुर्ब कठायतको नेतृत्वमा स्वयंसेवक परिचालन गरेको उनले बताइन् । 

मेयर भन्छन्–‘भोली समस्या आएमा नगरपालिकाले जिम्मा लिँदैन 

सांसदहरुको पहलमा थानकोट पार्कमा मजदुरहरुलाई राखिएपनि चन्द्रागिरी नगरपालिकाले भने विरोध गरेको छ । उनीहरुलाई त्यहाँ राख्न नगरपालिकाको सहमति नरहेको र भोली केही भएमा नगरपालिका जिम्मेवार नहुने मेयर घनश्याम गिरीले बताए । 

उनले स्थानीयहरुले उनीहरुलाई त्यहाँबाट हटाउन आफूलाई ब्यापक दवाव दिएको बताउँदै अरु नगरपालिका पार गरेर आएर आफ्नो नगरपालिकामा मान्छे थुपारेर समस्या पार्न खोजेको दावी गरे ।  उनले भने–‘भोली यहाँ समस्या भयो भने म सम्हाल्न सक्दिन, सबै नगरपालिका पार गरेर आएर हाम्रो नगरपालिकामा थुपारेर समस्या पार्ने काम गर्न पाइँदैन । भोली समस्या आयो भने नगरपालिकाले जिम्मेवारी लिँदैन भनेर प्रष्ट भनेको छु । उनीहरुको स्वाव टेष्ट पनि गरेको छैन, भोली यहाँ संक्रमण देखियो भने के गर्ने हो, उनीहरु पनि बाहिर हिँडिरहेका छन्, स्थानीय पनि हिँड्न के गर्ने हो भन्ने जस्ता समस्या आएको छ ।’

नगरपालिकाको स्वीकृतिबिना पार्कमा मजदुर राखेको भन्दै स्थानीयहरुले विरोध गर्दै आफूलाई दवाव आएको उनले बताए । पार्कमा राख्नुको सट्टा उनीहरुलाई घरसम्म जान आफूले गाडीको व्यवस्था गरिदिने उनले बताए ।

मेयर गिरीले भने–‘उनीहरुलाई हटाउन मलाई व्यापक दवाव आइसक्यो । मानवीयताको नाताले मान्छेलाई बस्न नदिने भन्ने कुरा त भएन, बरु मैले उहाँहरुको घरसम्म पु¥याइदिन गाडीको व्यवस्था गर्छु भनेको थिए । अहिले दुई तीन सय पुग्यो भन्ने सुनेको छु, यो क्रम अझै बढ्नसक्छ, यसको जिम्मेवारी नगरपालिकाले लिँदैन ।’

सांसद विशंखे भन्छिन्– ‘मेयरले फोहोरी राजनीतिक खेल खेल्नु हुँदैन 
यता सांसद विशंखेले मेयरको भनाई गैरराजनीतिक र मानवीय संवेदनाहीन रहेको बताएकी छिन् । उनले थानकोटका स्थानीयले विरोध गरेको नभई सहयोग गरेको बताइन् । नैकापदेखि थानकोटसम्मका यूवाहरुले सहयोग गरेको, स्थानीयले तरकारी गाडीमै ल्याइदिएर सहयोग गरेको बताइन् । 

उनले भनिन्– ‘मेयरको कुरा सुन्दा म छाँगाबाट खसेजस्तो भएँ । उहाँहरुले यस्तो राजनीतिक गन्धको खेल खेल्नु हुँदैन । मजदुरहरुलाई जताबाट पनि असहयोग गर्ने तल्लो स्तरको राजनीति गर्नुभएन् । पार्कबाट कोही पनि बाहिर निस्किएका छैनन् । हाम्रो उद्धेश्य भनेको लकडाउन कार्यान्वयन गर्न हिँड्ने क्रम रोकियोस् भन्ने हो ।’

मजदुर भन्छन्– ‘घर जान पाइयोस्’

थानकोट पार्कभरी अहिले विभिन्न जिल्लामा पुग्न पैदल हिँडेका मजदुर अस्थाई रुपमा बसेका छन् । उनीहरु यसरी बस्न भन्दा पनि घर जान खोजिरहेका छन् । शुक्रबार भक्तपुर सल्लाघारीबाट बर्दिया हिँडेको १३ जनाको टोली पनि अहिले थानकोट पार्कमा बसेका छन् । टोलीका एक सदस्य जंगबहादुर रानाले खानाको व्यवस्था राम्रो भएपनि घर जान चाहेको बताए । उनले पार्कमा त्यसरी लामो समय बस्न नसकिने बरु हिँडेरै घर जान चाहेको बताए । 

लकडाउन जारी भएको २५ औं दिनसम्म राजधानीबाट थानकोट तथा धुुलिखेल नाकाबाट हजारौँ मजदुरहरु पैदलै विभिन्न जिल्लातर्फ लागेका छन् । सरकारले कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घरभित्रै बस्न र सामाजिक दुरी कायम गर्न जारी गरेको लकडाउनले शहरी क्षेत्रमा कार्यरत श्रमिक, मजदुर वर्ग सबैभन्दा धेरै प्रभावित बनेका छन् । उनीहरुले सुरक्षा विधि अप्नाएर आफ्नो घरसम्म पुग्ने वातावरण मिलाउन आग्रह गरेका छन् । 
 

हेर्नुहोस् भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप