घर जान हिँडेका नागरिक त्रिभुवन पार्कको क्याम्पमा, तस्विरमा हेर्नुहोस्
काठमाडौँ । थानकोट नाका हुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ । लकडाउनका कारण हिँडेर आफ्नो घर जान लागेका नागरिकहरुलाई चन्द्रगिरी नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो ।
विभिन्न जिल्लामा मजदुरी गर्दै आएका तर लकडाउनका कारण हिँडेर घर जान लागेका उनीहरुलाई खाने र बस्ने व्यवस्थासहित क्याम्पमा राखिएको छ ।
कुनै पनि नागरिकले कष्ट झेल्न नपरोस भनेर खाने, बस्ने व्यवस्थासहित स्वास्थ्य जाँच गरी क्याम्पमा राखिएको सांसद अञ्जना विशंखेले बताइन् । थानकोटमा रहेको त्रिभुवन पार्कमा निर्माण गरिएको क्याम्पमा अहिले ३ सय जना रहेको उनले जानकारी दिइन् ।
त्रिभुवन पार्क बस्तीभन्दा टाढा छ । पिकनिक स्पट भएकाले लक डाउनको समयमा अन्य कुनै पनि व्यक्तिको सम्पर्कमा उनीहरु पुग्न नसक्ने उनले बताइन् । विभिन्न १५ वटा स्टल बनाएर उनीहरुको खाने बस्ने व्यवस्थापन गरिएको छ । नेपाली सेनाले डिसइन्फेक्सनको काम गरिरहेको छ । स्वास्थ्य जाँच कक्ष निर्माण गरी उनीहरुको स्वास्थ्य पनि जाँच भइरहेको छ ।
तराईका विभिन्न जिल्ला जाँदै गरेका श्रमिकहरुले क्याम्पका कारण खान बस्न सजिलो भएपनि कुनै व्यवस्था गरी घरसम्म जानपाए हुन्थ्यो भन्ने धारणा व्यक्त गरेका छन् ।
सामाजिक दुरी कायम राख्न विभिन्न समूह बनाएर आफ्नो समूहमा भएका समस्या समूह नेतामार्फत भन्ने व्यवस्था गरिएको छ । छुट्टै हात धुने व्यवस्था गरिएको छ । यसैगरी स्यानिटाइजर र मास्क पनि उनीहरुलाई दिइएको छ । क्याम्पबाट कोही बाहिर जान नपाओस् भनेर प्रहरीले चोकचोकमा गस्ती गरिरहेको छ ।