सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लकडाउनका बेला पनि झ्याप्प–झ्याप्प किन जान्छ बत्ती ? यसो भन्छन् कुलमान

सोमबार, ०८ वैशाख २०७७, १५ : २८
सोमबार, ०८ वैशाख २०७७

हिजोआज देशका विभिन्न स्थानमा विद्युत् जाने आउने समस्या भइरहेको छ । देशमा जारी लकडाउनका कारण विद्युत खपत पनि धेरै भएको छैन । देशमा विद्युतको अभाव नभएको समयमा पनि किन बत्ती गइरहेको छ त ? 
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्– ‘अहिले हावा, हुरी चल्ने, पानीका साथै चट्याङ् पर्ने समय हो । कतिपय स्थानका ट्रान्समिटरमा चट्याङ पर्ने गरेको छ । तराईका क्षेत्रहरूमा हावाहुरीले बिजुलीका पोलसमेत ढाल्ने गरेको छ । चैत, वैशाख, जेठमा हावाहुरी लाग्छ । तराईमा बिजुलीको पोल नै ढालिदिन्छ, रुख ढालिदिन्छ । यो चाहिँ हावा, हुरी र चट्याङ्ले गर्दा हो ।’

उनले अहिले विद्युत वितरणमा समस्या नभएको बताउँदै प्राकृतिक कारणले बिजुली जाने गरेको बताए । ती स्थानमा मर्मत गर्न केही समय लाग्ने भएकाले त्यो बेला उपभोक्ताले समस्या भोग्नुपरेको उनको भनाइ छ । 

हरेक दिन डेढ करोड युनिट खपत
लकडाउनपछि उद्योग कलकारखाना बन्द भएपछि विद्युत खपतमा गिरावट आएको छ । अहिले दैनिक ढेड करोड युनिट विद्युत खपत हुने गरेको छ । लकडाउन अघि दैनिक २ करोड २० लाख युनिट विद्युत खपत हुने गरेको छ । 

तर दिनमा हरेक घण्टा विद्युत खपत फरक फरक रहने गरेको छ । बिहान ७ सयदेखि साढे ७ सय मेगावाट विद्युत् खपत हुनेमा दिउँसो भने ६ सय देखि ६ सय ६० मेगावाट खपत हुने गरेको छ । शनिबार दिउँसो ५ सय मेगावाट मात्र विद्युत खपत भएको कार्यकारी निर्देशक घिसिङले रातोपाटीलाई जानकारी दिए । 

बेलुकाको समयमा भने सबैभन्दा धेरै ९ सय मेगावाटसम्म विद्युत खपत हुने गरेको छ । पानी परेको समयमा तराईमा विद्युत खपत कम हुने गरेको छ । रातको समयमा विद्युत खपतको मात्रा ५ सय मेगावाटमा झर्ने गरेको छ । 

स्वदेशी उत्पादनले धानेकै छ 
अहिलेको समयमा स्वदेशमै उत्पादन भएको विद्युतले माग धानिरहेको छ । बेलुकाको पिक समयमा माग धानेन भने केही मात्र आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए । तर बेलुका बाहेक अरू बेला स्वदेशकै विद्युत पनि बढी हुने गरेको छ । अहिले ७ सय मेगावाट हाराहारी विद्युत उत्पादन भइरहेको छ । 

उनले भने– ‘हाम्रो उत्पादन २४सै घण्टा एउटै हुन्छ तर उपभोग भने समय अनुसार फरक फरक हुन्छ । बिहान र बेलुका धेरै विद्युत खपत हुन्छ भने दिउँसो र राति हाम्रो विद्युत नै बढी हुन्छ । पिक आवरमा थोरै आयात गर्नुपर्ने हुन्छ । अरू बेला आफ्नै बिजुली धेरै भएर फाल्नुपर्ने हुन्छ । जस्तो राति पानी परेर खोला बढ्यो भने वितरण पनि बढ्ने हुन्छ, फेरि पानी पर्नासाथ माग भने घट्ने गर्छ । किनभने तराईमा एसी, फ्यान केही पनि चल्दैन ।’

लकडाउन प्रभाव : आयोजनामा निर्माण सामग्रीको अभाव 
मध्य भोटेकोसी जलविद्युत आयोजनामा निर्माणाधीन अवस्थामा रहेको छ । सिमेन्ट, रड लगायतका निर्माण सामग्री ढुवानी गर्न नसक्दा बन्द भएको उनले बताए । यस्तै ट्रान्समिटर प्रसारण लाइन निर्माणको काम पनि रोकिएको छ । 

उनले भने– ‘यस्ता समस्या भए पनि हामीले भ्याएसम्म काम गरिरहेका छौँ । तामाकोसी जलविद्युत आयोजनाको काम पनि भइ नै रहेको छ । रसुवागढी, सान्जेनको काम पनि रोकिएको छैन । धेरै ठाउँमा निर्माण सामग्री ढुवानी र स्थानीयको विरोधका कारणले काम रोकिएको छ । निर्माण सामग्री नभएपछि काम गर्न सकिएन, कतिपय आयोजनामा मजदुरले पनि काम छाड्ने भइहाले । तर हाम्रा अधिकांश आयोजनामा काम भइरहेको पनि छ ।’

अहिले समस्यामा पनि काम गर्नुपर्ने भएकाले सरकारलाई, सीडीओ कार्यालयलाई, स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर सकेसम्म काम भइरहेको उनले बताए । उनले आयोजनाको काम रोक्दा मजदुर घर जाने र उनीहरू गएपछि नयाँ मान्छे काममा लान स्थानीयले नदिने भएका कारण पनि कामलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको उनले बताए । 

अहिले कोरोना भाइरसको त्रासका कारण आयोजनास्थलमा स्थानीयले नयाँ मान्छे छिर्न नदिएको उनले बताए । उनले भने– ‘एक पटक कुनै आयोजनाको काम रोकियो भने ६ महिनाअघि काम सुरु हुने स्थिति नै छैन । त्यसकारण भएका मजदुरहरूलाई राखेर कामलाई निरन्तरता नै दिइरहेका छौँ । तर निर्माण सामग्री र स्थानीयको विरोधका कारणले ठाउँ ठाउँमा अवरोध पनि छ, केही ठाउँमा काम बन्द पनि भएको छ । सकेसम्म हामीले काम गरिरहेका छौँ ।’

नाफामा गिरावट, विद्युत महशुल उठ्न ठप्प 
गत वर्ष साढे १० अर्ब नाफा हासिल गरेको विद्युत प्राधिकरणले यो वर्ष भने नाफामा गिरावट आउने अनुमान गरेको छ । लकडाउनपछि उद्योग कलकारखाना ठप्प हुँदा विद्युत खपत घट्दा यस वर्षको नाफामा कमी आउने कार्यकारी निर्देशक घिसिङले बताए । उनले भने– ‘हामी घाटामै चाहिँ जाँदैनौँ तर हाम्रो जति आय हुनुपर्ने हो त्यसमा भने कमी हुन सक्छ ।’

अहिले लकडाउनका बेला विद्युत महशुलमा छुट दिएको प्राधिकरणले यो अवधिभर विद्युत महशुल भुक्तानी नगरे पनि जरिवाना छुट गरेको छ । सडक यातायात बन्द भएपछि नागरिक घरबाहिर आउने कुरा पनि भएन भने प्राधिकरणका महशुल सङ्कलन काउन्टर पनि बन्द भएका छन् । यो बेलामा अनलाइन भुक्तानीलाई जोड दिनेबारे प्राधिकरणले सोचाइ बनाएको छ । 

कार्यकारी निर्देशक घिसिङले भने– ‘अनलाइनबाट महशुल भुक्तानी  गरेमा हामीलाई धेरै सहयोग हुने थियो । काउन्टर पनि हामीले धेरै खोल्न सक्दैनौँ । लकडाउन खोलेपछि पनि काउन्टर खोल्न हामीलाई गाह्रो छ ।’
प्राधिकरणको मासिक ६ अर्ब महशुल सङ्कलन गर्ने गरेकामा अहिले ठप्प जस्तै भएको छ । अहिले १० प्रतिशत हाराहारी मात्र भुक्तानी सङ्कलन भइरहेको छ । 

एक दुई महिना रकम नउठ्दा फरक नपर्ने भए पनि यो क्रम लामो समय रहने हो भने प्राधिकरणमा आर्थिक समस्या आउने कार्यकारी निर्देशक घिसिङले बताए । अहिले ८ वटा अनलाइन सेवा प्रदायकबाट प्राधिकरणलाई भुक्तानी गर्न आग्रह गरिरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप