आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोकतन्त्रका १४ वर्ष : कहाँ चुक्यौँ हामी ?

बिहीबार, ११ वैशाख २०७७, १४ : ४५
बिहीबार, ११ वैशाख २०७७

आज १४ औँ लोकतन्त्र दिवस । २०६३ वैशाख ११ गते मुलुक नयाँ राजनीतिक अध्यायमा प्रवेश गरेको थियो । अर्थात् २०६३÷०६३ को जनआन्दोलनसामु निरंकुश राजतन्त्रले घुँडा टेकेको दिन । सोही दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउने गरिन्छ ।

यही उपलब्धिमा टेकेर तत्कालीन नेकपा माओवादी सशस्त्र जनयुद्धबाट शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा सामेल भएको थियो । दोस्रो जनआन्दोलनको सफलतासँगै मुलुक विस्तृत शान्ति प्रक्रिया हुँदै संविधानसभाको एजेण्डामा प्रवेश गर्न सफल भएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भका रुपमा इतिहासमा अंकित यो राजनीतिक उपलब्धिमा टेकेर नै अढाई शताब्दी लामो राजतन्त्र अन्त्य भएको थियो ।

मुलुकमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रसहितको संविधान जारी भइसकेको छ । निरंकुश राजतन्त्र अन्त्य गरी जनताको हातमा सर्वाधिकार आएको यो १४ वर्षमा राजनीतिक उपलब्धिहरु नभएका होइनन् । यद्यपि जनता अझै सशंकित छन् । शासन सत्तामा पुगेकाहरुले जनताको अभिमत, विगतमा जनता सामु गरिएका प्रतिबद्धतालाई इमानदारीपूर्वक पालना नगरेका कारण ‘राजतन्त्रका अवशेषहरु’ देखा परिरहेका टिप्पणी पनि भइरहेको छ ।

राजनीतिक विश्लेषकहरु भने जनताको बलमा राजनीतिक परिवर्तन भए पनि त्यस अनुरुप आर्थिक, सांस्कृतिक परिवर्तन हुन नसक्दा लोकतन्त्रका यी १४ वर्ष परिणाममुखी हुन नसकेको बताउँछन् । शासनसत्तामा पुगेका नेताहरुले लोकतन्त्रका मूल्य, मान्यतालाई समान रुपमा जनतामा अनुभूति गराउन नसकेको उनीहरुको भनाइ छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य लोकतन्त्र दिवसका अवसरमा हामीले राजनीतिक आयाममा चित्त दुखाउन पर्ने अवस्था नरहेको बताउँछन् । यद्यपि आर्थिक आयाममा त्यसअनुसारको ‘डेलिभरी’ हुन नसकेको उनी स्वीकार गर्छन् ।

‘राजनीतिक रुपमा हामीले धेरै ठूलो उपलब्धि हासिल गरेका छौँ, पिछडिएका वर्ग, समुदायका लागि समानुपातिक व्यवस्था गरिएका कारण महिला, दलित, जनजाति लगायत वर्षौंदेखि पिछडिएका धेरैले राष्ट्रिय राजनीतिको मूल धारमा ठाउँ पाए,’ उनले भने, ‘संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रसहित मुलुकमा तीन तहका सरकार छन् । यो ठूलो राजनीतिक उपलब्धि हो ।’

स्थानीय तहमा जनप्रतिनिधिले अपवादबाहेक राम्रै काम गरेका आचार्यको भनाइ छ । प्रदेशहरुको अभ्यास नेपालमा नयाँ भएका कारण पनि केही अलमल देखिनु स्वाभाविक भएको उनी बताउँछन् । ‘तर केन्द्रमा एकात्मक राजनीतिक प्रणालीबाट आएका नेताहरु नै छन्, उनीहरु नेपालमात्र होइन, संसार नै बदल्ने कुरा गर्छन्,’ उनले भने, ‘तर यो १४ वर्षमा उनीहरु नै परिवर्तन भएको जनताले महसुस गरेका छन् ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि लोकतन्त्र स्थापनासँगै मुलुकले राजनीतिक रुपमा ठूलो उपलब्धि हासिल गरेको बताउँछन् । तर राजनीतिक प्रणालीअनुसारको आर्थिक प्रणाली बनाउन चुकेका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ ।

‘१४ वर्ष यता मुलुकमा राजनीतिक रुपमा असाधारण परिवर्तन भएको छ, राजतन्त्र ढालेर गणतन्त्र ल्यायौँ, अंशुवर्माको पालादेखिको धार्मिक राज्य समाप्त पारेर धार्मिक समानतासहितको राज्य बनायौँ, पृथ्वीनारायण शाहको पालादेखिको एकात्मक राज्य समाप्त पारेर संघीयता ल्यायौँ,’ उनले भने, ‘यो सामान्य उपलब्धि होइन ।’

तर राजनीतिक व्यवस्था बदलिए पनि त्यसलाई हाँक्ने ड्राइभर नबदलिएका कारण राजनीतिक उपलब्धिका प्रतिफल जनताले पाउन नसकेको उनले बताए । ‘परिवर्तनलाई सहरबजार, सदरमुकाम र सम्भ्रान्त वर्गको वरिपरिबाट हामीले गाउँघर, गरिब र गरिखाने वर्गसम्म पु¥याउन सकेनौँ,’ उनले भने, ‘आफ्नो जीवनस्तरमा परिवर्तन नआएसम्म जनताले जस्तोसूकै राजनीतिक परिवर्तन भए पनि त्यसमा अपनत्व महसुस गर्न सक्दैन ।’

विश्लेषक आचार्य जनताकै बलमा लोकतन्त्र आए पनि अहिले जनता नै उपेक्षित भएको बताउँछन् । उनले भने, ‘शक्तिसँग पहुँच भएको र नभएको गरी समाजमा दुई वर्ग छन् ।’ लोकतन्त्रमा यस्ता विकृति र विभेदले स्थान पाउन नहुने उनले बताए ।

‘लोकतन्त्र प्रत्येक नागरिकका लागि बराबर हुनुपर्छ,’ उनले भने, ‘अहिलेकै अवस्था हेर्नुस् त, लकडाउनमा त्यत्रा मजदूर सयौँ किलोमिटर हिँडेर घर गए, राज्य फेल भएको होइन यो ?’

उनी भन्छन्– राज्यले उनीहरुलाई सबै कुराको व्यवस्था गरेर या त रोक्न सक्नु पथ्र्यो, या उनीहरुलाई सहजरुपमा घर लगिदिनु पथ्र्यो ।

भ्रष्टाचार पनि अनियन्त्रित हुँदै गएको उनको भनाइ छ । स्थानीय तहमा भएका भ्रष्टचारका आकार र प्रकार स्थानीय तहमै सीमित भए पनि केन्द्रमा ठूल्ठूला काण्ड देखिएको उनले बताए ।

विश्लेषक श्रेष्ठ पनि भ्रष्टाचार बढेको बताउँछन् । ‘भ्रष्टाचार बढेको छ, पहिला टेबुलमुनीबाट घुस लिन्थे भने अहिले टेबुलमाथि नै लेनदेन हुन थालेको छ,’ उनले भने, ‘राजनीतिक परिवर्तन भए पनि हामी आर्थिक र सांस्कृतिक परिवर्तनमा चुक्यौँ, सिंहदरवार बदल्न भन्दै नेताहरु गए तर सिंहदरवार जस्ताको तस्तै छ, नेताहरु स्यवं बदलिएर आए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप