सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भोजपुरका कोरोना संक्रमित मामाघर, ससुराली हुँदै पुगेका थिए घर

शुक्रबार, १२ वैशाख २०७७, १३ : ४९
शुक्रबार, १२ वैशाख २०७७

भोजपुर । विदेशबाट आएका एक २६ युवकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै भोजपुरमा सन्त्रास फैलिएको छ । हतुवागढी गाउँपालिका–६ होम्ताङका ती युवामा कोरानाको संक्रमण पुष्टि हुनुअघि उनी विभिन्न व्यक्तिको सम्पर्कमा पुगेको खुलेको छ । 

साउदीबाट फागुन ३० गते हिमालयन एयरलाइन्सको जहाजमार्फत काठमाडौं ओर्लिएका उनी  मामाघर र  ससुराली घर हुँदै घर पुगेको खुलेको हो । 

साथीसँगै काठमाडौंबाट रात्री बसमा सुनसरीको झुम्का पुगेका उनी त्यहाँबाट डेरागरी बसेकी श्रीमतीलाई भेट्न सुनसरीकै चतरामा पुगेका थिए । यस्तै चतराबाट बसमा चढेर परिवारसहित उनी मामाधर धरान गएर बसेको देखिएको छ । सो क्रममा धरान बजारमा समेत सामान किनमेल गरेको युवकका आफन्तले बताएका छन् । 

धरान, चतरास्थित डेरा र इटहरीका साथीहसँग गरी उनी ८ दिनसम्म सुनसरीमा रहेका थिए । सुनसरीपछि उनी उदयपुरको बेलका नगरपालिकास्थित मैनामैनीमा चैत ९ गते पुगेको पाइएको छ । जहाँ उनको ससुराली घर रहेको छ । 


ससुराली २ दिन बसेका उनि ११ गते विहान स्थानीयको मोटरसाइकलमा भोजपुर र उदयपुरको सिमाना दुधकोशीकोे चुहारसम्म गए । चुहारबाट अर्कै व्यक्तिको सहयोगमा हतुवागढी गाउँपालिका–९ हसनपुरको बार्ताङ्गसम्म आएका थिए । त्यहाँ पनि एक पसलमा खाजा खाएर २ घन्टा बसेपछि अर्काे मोटरसाइकलमा घर होम्ताङ्ग पुगेको खुलेको छ । 

उनी भोजपुर तरेपछि स्थानीयवासीले गाउँपालिकाको हटलाइन नम्बरमा खवर गरेको थिए । घर पुगेपछि उनी एकान्तबासमा नबसी साथीहरुसँग हिँड्डुल गरेको पाइएको छ । सामान्य लक्षण समेत नआएको कारण उनी गाउँमा भलिवल खेल्न र सिकार खेल्न गएका थिए । उनको सम्पर्कमा आएकाहरु धेरै भएको हुन सक्ने स्थानीय नारायण निरौलाले बताए ।  गाउँको भलिवल खेल्ने सबै ठाउँमा गएको पाइएको छ । गाउँमा एक शिक्षकको मृत्यु भएपछि मलामी समेत गएको स्थानीयले बताएका छन् ।

गाउँमा त्रास  
वैदेशिक रोजगारीबाट फर्किएका एक युवामा कोरोना संक्रमण देखिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ । संक्रमित युवा घरमा बस्नुभन्दा बढी गाउँमा हिडेको पाइएपछि त्रसित बनेका हुन् । गाउँलाई सिल गरेर कोरोना परीक्षण गर्न स्थानीयले माग गरेका छन् । 

गाउँमा उनीसँग सम्पर्कमा अन्य व्यक्तिहरुको पीसीआर नै परीक्षण गरिनुपर्ने माग स्थानीयहरुको रहेको छ । हतुवागढी गाउँपालिकाले संयम र सतर्क रहन स्थानीयलाई अनुरोध गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।  गाउँपालिकाले उनको उपचार र उनीसँग नजिक भएका परिवार लगायत अन्यमा यथाशीघ्र स्वास्थ्य परीक्षण गर्ने व्यवस्था भैरहेको अध्यक्ष राईले बताए । 

हतुवागढी–१ को घोरेटारस्थित आइसोलेशनमा रहेका उनलाई आजै मोरङको विराटनगरस्थित कोशी अस्पतालमा पठाउने तयारी भइरहेको छ । 

गत मंगलबार विदेशबाट आएका ११ जनमा र्‍यापिड टेस्ट गर्दा ती युवकमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि धरानमा स्वाब परीक्षण गर्दा  पनि बिहीबार पोजेटिभ नै आएको थियो । 

जिल्ला प्रशासनले के गर्दैछ ?
जिल्लामै पहिलो पटक कोरान संक्रमित भेटिएपछि सुरक्षामा थप कडा गर्ने स्थानीय प्रशासनले निर्णय गरेको छ ।  शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले कोरोना संक्रमित गाउँपालिकाका सबै सीमा क्षेत्रमा मानिस आवतजावतमा पूर्ण रुपमा निषेध गरेको छ ।  साथै उक्त युवाको परिवार र नजिक रहेकाहरुको आरडिटीका साथै स्वाब परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । 

जिल्लामा कोरोन संक्रमित देखिएपछि केन्द्र तथा प्रदेश सरकारसँग स्वाव परीक्षणको किट, सर्जिकल मास्क, पीपीई लगायतको सामाग्री समेत माग गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप