सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिकिलो खसीको मासु कति ? यस्तो छ अचेल खसी बजारको अवस्था (भिडियो)

शुक्रबार, १२ वैशाख २०७७, १५ : ०९
शुक्रबार, १२ वैशाख २०७७

काठमाडौं । लकडाउन सूरु भएपछि राजधानीका मासुका पारखीहरुले प्रतिकेजी खसीको मासुलाई २ हजार रुपैयाँसम्म तिरेर किने । सामान्य अवस्थामा बढीमा प्रतिकिलो १२ सय रुपैयाँसम्म पर्ने मासुको भाउ एक किलोमा ८ सय सम्म बढाइयो । 

यसरी चर्को मूल्यमा मासु बिक्री गर्ने बानेश्वरको एक मासु पसललाई वाणिज्य विभागले २ लाख रुपैयाँसम्म जरिवाना तिरायो ।  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन १ महिना पुग्न लागेको छ । यो बीचमा राजधानीमा रहेका खसी चौपाया बिक्री केन्द्रमा चहलपल पनि ह्वात्तै घट्यो । 

लकडाउन सुरु भएसँगै राजधानीमा रहेका खसीबोका बिक्री केन्द्रहरु पनि बन्द छए । बजारमा मासुको मूल्य ह्वात्तै बढेपछि बाणिज्य विभागले खसीको खरिदबिक्री गर्न निर्देशन नै दियो ।  खसीबोका ओसारपसारमा सवारी पास पनि नचाहिने भनेपछि बन्द भएको १० दिनपछि कलंकीमा रहेको खसीबजार पुनः सुरु गरेको काठमाडौं चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष गणेशकुमार खड्काले जानकारी दिए । 

उनले भने–‘मासु पसलेहरुले आफैंले खसी खरिद गरेर मासु बिक्री गर्दा महँगो भएको भन्ने गुनासो आयो । वाणिज्य तथा आपूर्ति विभागले पनि खसीको कारोबार गर्न आग्रह गरेपछि हामीले खरिद बिक्री सुरु ग¥यौँ ।’

खसी चौपाया संख्या घट्यो भाउ उकालो लाग्यो

कलंकी खसी बजारमा पहिलेको सामान्य अवस्थामा दैनिक २५ सयसम्म खसीबोका बिक्री हुने गरेकोमा अहिले २ सय हाराहारीसम्म हुने गरेको छ । उपत्यका बाहिर टाढाबाट खसी ल्याउन नसकिने भएपछि अहिले काठमाडौं उपत्यका नजिकका जिल्लाहरु नुवाकोट, धादिङ, काभ्रे लगायतका क्षेत्रबाट ल्याउने गरिएको छ । 

अहिले जिउँदो खसीको मूल्यमा प्रतिकिलो १ सय सम्म बढेको छ । व्यापारीले भन्दा पनि किसानले नै भाउ बढाउन थालेको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष गणेशकुमार खड्काले बताए ।  यसअघि जिउँदो खसीको ६ सय ५० रुपैयाँ पर्नेमा अहिले ७ सय २० रुपैयाँ हाराहारीसम्म पुगेको उनले बताए । 

जिउँदो खसीको मूल्य प्रतिकिलो ७ सय २० रुपैयाँ पर्दा तयारी मासुको १४ सय ५० रुपैयाँ प्रतिकिलो पर्न जाने उनको भनाई छ ।  बजारमा अहिले खसीको माग भने घटेको छैन । मासु पसलहरु, सुरक्षा निकायका कार्यालयहरुबाट दैनिकजसो खसी बोकाको अर्डर आउने गरेको छ । 
हेर्नुहोस्  भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप